आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षमान पुन भन्छन्–‘भू–राजनीतिक जटिलता नहेरी विदेश सम्बन्ध सञ्चालन गरे नेपाल अप्ठ्यारोमा पर्छ

मङ्गलबार, ०५ असार २०८०, १३ : ०६
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व मन्त्री वर्षमान पुन अनन्तले नेपालले भू–राजनीतिक जटिलताको संवेदनशीलतालाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउन नसके नेपालले अहिलेको भन्दा असहज परिस्थितिको सामना गर्नुपर्ने स्थिति आउन उनको भनाइ थियो । कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्षबीच समान सोच र धारणा हुनुपर्नेमा उनले जोड दिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा दलगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने पुनले बताए । ‘हामी भूराजनीतिक जटिलताको सामना गरिरहेका छौँ’, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मंगलबार पुनले भने, ‘कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्र हितलाई प्राथमिकतामा राख्नुपर्छ, राष्ट्रिय स्वार्थलाई गौण बनाएर दलगत स्वार्थमा चल्दा हामी अप्ठेरोमा पर्ने स्थिति छ ।’ 

पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ‘प्रथम महिला’ बारे जवाफ दिने दायित्व परराष्ट्र मन्त्रालयको भएको उल्लेख गरे । 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उनकी स्वकीय सचिवसमेत रहेकी पुत्री गङ्गा दाहालको सक्रियता र कतिपय भेटहरूमा उनको उपस्थितिलाई लिएर एमालेसहित प्रतिपक्षी दलले प्रश्न उठाएका थिए । पुनले राष्ट्रप्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने र कसलाई नमान्ने भन्नेबारे स्पष्ट नीति हुनुपर्ने र परराष्ट्र मन्त्रालयले त्यसमा अग्रसरता देखाउनुपर्ने उल्लेख गरे । 

विगतमा गिरिजाप्रसाद कोइरालादेखि प्रथम राष्ट्रपति डा। रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विदेश भ्रमणमा छोरीलाई प्रथम महिलाका रूपमा लगेको स्मरण पुनले गरे । ‘श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रूपमा लाने प्रचलन पहिल्यै देखिको हो’, उनले भने, ‘यसो गर्न मिल्ने कि नमिल्ने भन्नेबारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने नै थिएन ।’ राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण को पदमा हुँदा भयो भन्ने आधारमा धारणा बनाउन नमिल्ने तर्क उनले गरे । फरक प्रसङ्गमा पूर्वऊर्जामन्त्री समेत रहेका पुनले  प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता र समुन्द्रसम्मको पहुँच विस्तार गर्ने विषयमा भएका सहमति महत्त्वपूर्ण भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप