आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपेन्द्रले लिए अमेरिकाको पाँचौं विकेट

मङ्गलबार, ०५ असार २०८०, १४ : ३३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्धको आफ्नो दोस्रो खेलमा नेपालले पाँचौं विकेट लिएको छ । अमेरिकाले ६५ रनको कूल स्कोरमा पाँच विकेट गुमाएको हो । अमेरिकाको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । 

दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान गजानन्द सिंहलाई २६ रनमा आउट गरे । उनले गजानन्दलाई आरिफ शेखमार्फत क्याच गराएका हुन् । अमेरिकाविरुद्धको जारी खेलमा आरिफले लिएको यो तेस्रो क्याच हो । 

यसअघि करण केसीले चार विकेट लिएका थिए । करणले चौथो विकेटका रुपमा अमेरिकाका नस्थुस केन्जिगलाई आउट गराएका थिए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किएका थिए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका थिए । 

करणले यसअघि अमेरिकाका कप्तान एरोन जोन्सलाई पनि दुई रनमा पेभेलियन फर्काएका थिए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । जोन्स तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । खेलको सुरुदेखि नै अमेरिकी ब्याट्सम्यानहरु नेपाली बलरको दबाबमा परेका थिए । 

त्यसअघिको दुबै विकेट पनि करणले नै लिएका हुन् । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पेभेलियन फर्काए । करणले तेस्रो नम्बरमा क्रिज समाल्न आएका सैतेजलाई आरिफ शेखद्वारा क्याच गराएका थिए । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा विकेट लिएका थिए ।

नेपालले टस जितेर अमेरिकालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । एकदिवसीय विश्वकपको छनोट खेल जिम्बाबेमा भइरहेको छ । अमेरिकाविरुद्धको खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी भने सहभागी थिएनन् । औंलामा लागेको चोटका कारण उनी टोलीबाट बाहिरिएका हुन् । उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले खेल्ने अवसर पाएका थिए । 

नेपाल र अमेरिका दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेले आठ विकेटले हराएको थियो । अमेरिकालाई भने पहिलो खेलमा वेस्ट इन्डिजले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप