आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थीले जापानमा इन्टर्नसीप गर्न पाउने

बिहीबार, ०७ असार २०८०, १८ : ३४
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीहरूले जापानमा इन्टर्नसीप गर्न पाउने भएका छन् । 

काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीलाई जापानका कम्पनीमा इन्टर्नसीपको अवसर दिलाउने सम्बन्धमा कलेज र आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडका बीच सम्झौता भएकमो छ । आइम्याक इन्जिनियरिङ जापानको टोकियोमा रहेको कम्पनी हो । 

क्याम्पस प्र्र्रमुख डा दीपेन्द्र भण्डारी र आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडका निर्देशक मासाकी ओसास्कीले इन्टर्नसीपसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीको दक्षता अभिवृद्धिमा योगदान पुगोस् भन्ने उद्देश्यले जापानमा इन्टर्नसीपको अवसर मिलाइएको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए । 

त्यसैगरी, जापानमा रहेको युवा जनशक्तिको अभाव परिपूर्ति गर्नमा सहयोगी हुने भएकाले नेपाली विद्यार्थीहरुलाई इन्टर्नसीपको अवसर दिन लागिएको जापानी कम्पनी आइम्याक इन्जिनियरिङका निर्देशक मासाकी ओसास्कीले बताए ।

जापानका कम्पनीहरुलाई विदेशी जनशक्ति नियुक्त गर्न जापनिज भाषा मुख्य बाधक रहेको र नेपालबाट इन्टर्नसीपमा लैजाने विद्यार्थीलाई कम्पनीले नै अनलाइन माध्यमबाट जापनिज भाषासहित अन्य क्षमता अभिवृद्धिमा सहयोग गर्ने ओसास्कीले बताए । 

जापानका कम्पनीमा इन्टर्नसीप सकेर नेपाल फर्कने विद्यार्थीले नेपालको सूचना प्रविधि, इन्जिनियरिङ र कर्पोरेट सेक्टरमा राम्रो योगदान गर्न सक्ने उनले बताए । मोर्गन कलेजसँगको सम्झौताले जापानमा युवाजन शक्तिको अभाव परिपूर्तिमा समेत सहयोग मिल्ने ओसास्कीको भनाई छ ।

पछिल्ला दिनमा जापानका कम्पनीहरुले युवा जनशक्ति अभावको समस्या झेलिरहेको र यो नेपाली विद्यार्थीका लागि रोजगारीको राम्रो अवसर समेत भएको उनले बताए ।  

सम्झौता अनुसार, मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन सकेर इन्टर्नसीपका लागि जापान गएका विद्यार्थीहरुलाई आइम्याक इन्जिनियरिङ कम्पनीले इन द जब टे«निङ (ओजेटी) को व्यवस्था मिलाउने छ । ओजेटीको अधिकतम समय ३ वर्षको हुने सम्झौतामा उल्लेख छ । 

नेपाली विद्यार्थीले ओजेटीको क्रममा पहिलो वर्षमा प्रतिघण्टा १३ सय जापानिज यन पाउनेछन् भने दोस्रो वर्षमा १३ सय ५० र तेस्रो वर्षमा १४ सय जापानी यन पाउने सम्झौतामा उल्लेख छ । विद्यार्थीहरूले एक महिनामा १६० घण्टासम्म काम गर्न पाउनेछन् । सम्झौताअनुसार, इन्टर्नसीपमा गएका नेपाली विद्यार्थीलाई पहिलो वर्षमै मासिक दुई लाख जापानी यन भन्दा बढी आम्दानीको सुविधा हुने क्याम्पस प्रमुख भण्डारीले बताए ।

मोर्गन इन्टरनेशन कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडमा इन्टर्नसीपको आवेदन गरेपछि विद्यार्थीले पेस गरेको दस्तावेजको आधारमा विद्यार्र्थीको छनौट गरिने सम्झौतामा उल्लेख छ । 

त्यसरी छनौट गरिएका विद्यार्थीहरुलाई एक वर्षभित्रमा जापानमा काम गर्न लागि योग्य बनाइ प्रमाणपत्र दिएर इन्टर्नसीपमा लैजाने सम्झौतामा उल्लेख रहेको मोर्गन इन्टरनेसनल कलेजले बताएको छ ।

मोर्गन इन्टरनेसनल कलेजमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचर अफ इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ सिभिल इञ्जिनियरिङ, ब्याचलर इन इलेक्ट्रिकल, एमएससी कस्ट्रक्सन म्याजेनमेन्ट, ब्याचलर इनहोटल म्यानेजमेन्ट (बीएचएम) विषयको अध्यापन भइरहेको छ । 

त्यसैगरी, ब्याचलर अफविजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफविजेनेश एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस) र एमबीए लगायतका विषय मोर्गन इन्टरनेसनल कलेजमा अध्यापन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप