आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार सत्ता टिकाउने काममा लागि परेको छ : रवि लामिछाने

शुक्रबार, ०८ असार २०८०, १६ : ०६
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् । सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनुपरेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको बुझाई थियो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।

उनले भने, ‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अल्मलिएको हो कि ? भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु’  सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाए । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए । कारण के थियो भने–जुन ढंगले यसको इन्भेष्टिगेशन भइरहेको थियो । त्यहाँ इन्भेष्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए । अनेक कुराहरु आए । तर, त्यस विषयमा छानबिन अगाडि बढन सकेन । र, अहिले जुन ढंगले छानबिन सकिएको त छैन । तर, जुन परिणामहरु आइरहेको छ । त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन’ उनले भने, ‘त्यसैले यो अगाडि बढने वातावरण देखिएन । सरकार अल्मलियो । सरकार गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो । सरकारमै सहभागी भएका दलहरुले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं ।’ 

सभापति लामिछानेले राष्ट्रको महत्वपूर्ण मुद्दाहरुलाई छाडेर सरकार किन अल्मलिएको छ ? भनि प्रश्न समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप