आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जसपा विधान अधिवेशन

विधान अधिवेशनको पूर्वसन्ध्या जसपामा लफडा

समाजवादी मोर्चामा पार्टी सहभागी भएकोमा विरोध
शनिबार, ०९ असार २०८०, २१ : १६
शनिबार, ०९ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो विधान अधिवेशनको पूर्वसन्ध्या बोलाइएको केन्द्रीय समिति बैठकमा विवाद भएको छ । शनिबारको बैठकमा विवाद भएपछि विधानको मस्यौदामाथि छलफल नै नगरी त्यसलाई अनुमोदन गरिएको घोषणा गरिएको हो ।

पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बैठकका निर्णयहरू भन्दै जारी गरिएको प्रेस नोटमा बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको बताए पनि आजको बैठकमा विधानको मस्यौदामाथि छलफल नै हुन नसकेको पार्टीका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।

आजको बैठकले आम निर्वाचनमा अन्तर्घात गरेको भन्दै पाँच जना केन्द्रीय सदस्यहरूलाई कारबाही गर्दै पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । कारबाहीमा पर्ने केन्द्रीय सदस्यहरूमा दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैता रहेका छन् ।

बैठकमा कारबाहीको निर्णय सुनाउने बित्तिकै होहल्ला भएको थियो । कारबाहीमा पर्ने नेताहरूले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई एकाएक कारबाही गरेकोमा असन्तुष्टि पोखेका थिए । उनीहरूले स्पष्टीकरणको मौकासमेत नदिनु पार्टीको विधान विपरीत भएको भन्दै चर्को स्वरमा विरोध जनाएका थिए । 

पार्टीको विधान मस्यौदामा चुनावमा अन्तर्घात गरे पार्टीको सदस्यता जाने उल्लेख छ । विवाद बढ्दै गएपछि नेतृ रेनु यादवले बोल्न खोज्दा उनलाई बोल्ने अवसर दिइएन । अध्यक्ष यादवको पक्षमा लालबाबु राउत बोल्दा होहल्ला भएपछि बोल्दाबोल्दै उनलाई रोक्नुपरेको थियो । नेताहरूको विरोधपछि अध्यक्ष उपेन्द्र यादवले कारबाही प्रति असन्तुष्टि भए स्पष्टीकरणका लागि १५ दिनको समय दिन बाध्य भएका थिए ।

विधानको मस्यौदालाई कार्यकारिणी समितिको बैठकले पारित गरी केन्द्रीय समितिमा छलफलका लागि पठाएको थियो ।  अधिवेशनमा मस्यौदा प्रस्तुत गर्नुभन्दा पहिले केन्द्रीय समितिबाट पारित गराउनु पर्थ्यो । तर आज बसेको केन्द्रीय समितिको बैठकमा विधानको मस्यौदाबारे एजेन्डा नै बनेन । आजको बैठक विधानमा रहेको कारबाहीको व्यवस्थामा केन्द्रित हुने आशङ्कामा अध्यक्ष यादवले यसलाई एजेन्डा बनाउन नै नचाहेको एक केन्द्रीय सदस्यको आरोप छ । 

‘विधान अधिवेशन हुन लागेको छ । तर हालसम्म विधान हेर्न पाइएको छैन । आज छलफल हुन्छ भनेर भनिएको थियो । तर सिधै अधिवेशनमै लगियो,’ बैठकमा केन्द्रीय सदस्यहरूले प्रश्न गरेका थिए । जवाफमा पार्टी अध्यक्ष यादवले विधानमाथि छलफलका लागि नै विधान अधिवेशन डाकिएको र अब विधानबारे त्यहीँ नै छलफल हुने भन्दै बैठकको अन्त्य भएको घोषणा गरेका थिए ।

त्यस्तै, पार्टी समाजवादी मोर्चामा सहभागी भएकोमा पनि पार्टीभित्र विरोध भएको छ । बैठकमा धारणा राख्ने १३–१४ जना केन्द्रीय सदस्यमध्ये अधिकांशले मोर्चामा सहभागी भएकोमा आपत्ति जनाएको बैठकमा सहभागी नेताहरूको भनाई छ । समाजवादी मोर्चामा सामेल गराएर  पार्टीलाई कम्युनिस्टकरण गरेको उनीहरूको आरोप थियो । त्यस्तै, विभिन्न मोर्चामा सहभागी हुँदा पार्टीलाई घाटा मात्र भएको र अबको निर्वाचनमा एक्लै लड्नुपर्ने सुझाव उनीहरूले दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप