आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

२० अर्बले घट्यो खनिज इन्धनको आयात

आइतबार, १० असार २०८०, ०७ : ५०
आइतबार, १० असार २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट आयात हुने सम्पूर्ण खनिज इन्धनको आयात २० अर्बले खुम्चिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्मको अवधिमा २० अर्बले सम्पूर्ण प्रकारको खनिज इन्धनको आयात घटेको हो ।

गत आर्थिक वर्ष २०७८-७९ को ११ महिनामा विदेशबाट ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँको खनिज इन्धन आयात भएको थियो । जबकि, चालू वर्षको ११ महिनाको अवधिमा ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँको मात्रै खनिज इन्धन आयात भएको हो ।

गत वर्षको तुलनामा चालू वर्षमा विश्वभर खनिज इन्धनको मूल्य बढेको छ । यसकारण पनि बढेको मूल्यमा आयात हुँदा समेत खनिज इन्धनको आयात घटेको देखिन्छ । नेपालले विदेशबाट ठुलो मात्रामा पेट्रोल, डिजेल, हवाई इन्धन, एलपी ग्याँस र कोइला लगायतका वस्तुको आयात गर्दै आइरहेको छ ।

तथ्यांकअनुसार चालू वर्षमा डिजेल, पेट्रोल, एलपीजी लगायतका वस्तुको आयात घटेको छ । उता हवाई इन्धनको आयात भने बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा १ खर्ब ४५ अर्ब रुपैयाँको डिजेल आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ३७ अर्बको डिजेल आयात भएको छ । यो ८ अर्बले कम हो ।

यस्तै, गत आर्थिक वर्षमा ६२ अर्ब ९१ करोड रुपैयाँको पेट्रोल भित्रिएको थियो । जबकि, चालू वर्षमा ६१ अर्ब ३८ करोडको पेट्रोल भित्रिएको छ । यो १ अर्ब ५३ करोड कम हो । यसैगरी, गत वर्ष ५९ अर्ब १६ करोडको एलपीजी भित्रिएकोमा यो वर्ष ५४ अर्ब ३२ करोडको एलपीजी भित्रिएको छ । यो ४ अर्ब ८४ करोडले कम हो ।

यस अवधिमा विदेशबाट हवाई इन्धनको आयात भने बढेको छ । गत वर्ष ११ अर्ब ८८ करोडको हवाई इन्धन भित्रिएकोमा यो वर्ष १८ अर्बको हवाई इन्धन भित्रिएको छ । यो ६ अर्बभन्दा धेरैले बढी हो । यसबाहेक, गत वर्षको तुलनामा यो वर्ष मट्टितेलको आयात समेत ११ करोडले घटेको छ । गत वर्ष १ अर्ब ४३ करोडको आयात भएकोमा यो वर्ष जम्मा १ अर्ब ३२ करोडको मट्टितेल भित्रिएको छ ।

pp

यसबाहेक, यस अवधिमा मूल्यसहित परिणाममा समेत पेट्रोलियम पदार्थको आयात घटेको छ । तथ्यांकअनुसार गत वर्षको ११ महिनाको तुलनामा ५७ हजार किलो लिटरले पेट्रोलको आयात घटेको छ । गत वर्ष ६ लाख ७८ हजार किलो लिटर पेट्रोल भित्रिएको थियो । जबकि, चालू वर्षमा ६ लाख २१ हजार किलो लिटर मात्रै पेट्रोल भित्रिएको छ ।

यसैगरी, गत वर्ष १६ लाख किलो लिटर डिजेल भित्रिएकामा यो वर्षको ११ महिनामा १२ लाख २६ हजार किलो लिटर मात्रै डिजेल भित्रिएको छ । यो ३ लाख ७४ हजार किलो लिटरले कम हो भने यस अवधिमा एलपी ग्यासको आयात १५ हजार किलोग्रामले घटेको छ ।

गत वर्षको ११ महिनामा ४ करोड ८९ लाख किलोग्राम एलपी ग्यास आयात भएकामा यो वर्ष ४ करोड ७४ लाख किलोग्राम मात्रै आयात भएको छ । यसबाहेक, यस अवधिमा हवाई इन्धनको आयात १ लाख १७ हजार किलो लिटरले घटेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढ्दा गत वर्षकोभन्दा ६ अर्ब बढी रकम बिदेसिएको छ ।

खासगरी, रुस–युक्रेन युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा परिणाम घटे पनि मूल्यमा हुने आयात भने बढेको छ । सोही कारण, गत वर्षको तुलनामा सबैजसो पेट्रोलियम पदार्थको आयात घटे पनि रकम भने बढेको छ । कोभिड महामारी र रुस–युक्रेन युद्धका कारणले विश्वभर आर्थिक मन्दी छाएको छ । जसको प्रभाव नेपाली बजारमा समेत परेको छ र इन्धनको आयात तथा खपत नै घटेको छ ।

यस्तै, पछिल्लो समय नेपालमा बिजुलीको उत्पादन बढेसँगै सरकारले यसको खपतमा समेत जोड दिइरहेको छ । खाना पकाउन एलपी ग्यासको सट्टा विद्युतीय चुलोको प्रयोग बढ्नु र विद्युतीय सवारीको प्रयोग बढ्नुले समेत इन्धनको आयात र खपत प्रभावित बनाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप