आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरको नीति तथा कार्यक्रम : ‘एक घर दुई रुख’ कार्यक्रमदेखि ‘पढ्दै कमाउँदै’ सम्म

आइतबार, १० असार २०८०, १४ : ०६
आइतबार, १० असार २०८०

चितवन । भरतपुर महानगरपालिकाले  एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे तथा ढल निर्माण गर्ने नीति लिएको हो । महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली युक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

संघीय सरकारको लगानीमा भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने महानगर प्रमुख दाहालले बताइन् । संघ र प्रदेश सरकारको सहयोग र सहकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क रोड निर्माण अगाडि बढाइने र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरभित्र आवश्यक स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्नुका साथै संघीय सरकारको सहयोगमा नारायणगढ पुलचोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमै निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख दाहालले भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं २४ को ध्रुवघाटस्थित राप्ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिने जनाइन् ।

मुख्य सहरी क्षेत्रको पार्किङ व्यवस्थित बनाउन निजी क्षेत्रसँगको सहकार्यमा सशुल्क स्मार्ट पार्किङ व्यवस्थापनलाई अगाडि बढाइने, सडकमा अनुचित ढङ्गबाट राखिएका निर्माण सामग्रीका कारण आवागमनमा अवरोध गर्ने र दुर्घटना हुने, महानगरपालिकाबाट निर्माण भएका सडक, फुटपाथ बिग्रने भएको हुँदा त्यस्तो गर्ने व्यक्ति तथा निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर प्रमुख दाहालले देशकै गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला संघ र प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने जनाइन् । संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नं १५ मा संघीय शिक्षक अस्पताल र वडा नं १४ मा प्रादेशिक आयुर्वेद अस्पताल आर्थिक वर्ष २०८०/८१ मा निर्माण कार्य प्रारम्भ गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

एक घर दुई रुख अनिवार्य

भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । तेह्रौं नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने जनाइएको छ । यस्तै एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने पनि उनले जनाइन् । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकको रुपमा विकास गर्ने, गोन्द्राङ–पुलचोक सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न ठुला हुर्किएका रुख रोपण र संरक्षण गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने

भरतपुर महानगरपालिकाले माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । महनगरपालिका प्रमुख दाहाल शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न ‘श्रमको सम्मान, राष्ट्रको स्वाभिमान’ भन्ने नाराका साथ पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने जनाइन् ।
सबै विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइको वातावरण निर्माण गर्न  व्यवस्थापन गरिएका इन्टरनेट, कम्प्युटर र विषयगत शैक्षिक सामग्री लगायत उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोगमा जोड दिइने र समयसापेक्ष सूचना प्रविधिमा आधारित सिकाइका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई ‘आईसीटी’ तालिम प्रदान गरी क्षमता विकास गरिने जनाइएको छ ।

‘भरतपुर भ्रमण वर्ष, २०२४’ मा २ लाख पर्यटक भित्र्याइने

भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ मा २ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । महानगर प्रमुख दाहालले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनाइएको छ ।

महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन तथा विकास गरिने, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप