आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मांसपेशी कमजोर बनाउने मायेस्थिनिया ग्रेविस के हो ? लक्षण र उपचार विधि कस्ता ?

आइतबार, १० असार २०८०, १५ : ५५
आइतबार, १० असार २०८०

मायेस्थिनिया ग्रेविस (एमजी) एक स्वतः प्रतिरक्षा विकार हो, जसले न्युरोमस्कुलर जङ्कसनलाई असर गर्छ । न्युरोमस्कुलर जङ्कसन त्यो बिन्दु हो, जहाँ तन्त्रिका मांसपेशीहरूसँग जोडिन्छ । यसले मांसपेशी कमजोर बनाउँछ, जसले गम्भीर उतारचढाव ल्याउन सक्छ ।

मायेस्थिनिया ग्रेविस के कारणले हुन्छ ?

एमजीको सही कारण अज्ञात छ, तर यो एक स्वतः प्रतिरक्षा विकार हो भन्ने मानिन्छ । यसको मतलव शरीरको प्रतिरक्षा प्रणालीले स्वस्थ कोशिकाहरूलाई आक्रमण गर्दा एमजीको अवस्था सिर्जना हुन्छ । 

एमजी हुँदा प्रतिरक्षा प्रणालीले मांसपेशी कोशिकाहरूको सतहमा एसिटाइलकोलिन रिसेप्टर्स (AChRs) लाई आक्रमण गर्दछ । AChRs एक प्रकारका प्रोटिन हुन्, जसले तन्त्रिका सङ्केतलाई मांसपेशीसम्म पु-याउन मद्दत गर्छ । जब AChRs क्षतिग्रस्त वा नष्ट हुन्छ तब मांसपेशीले ठीकसँग सङ्कुचन गर्न आवश्यक सङ्केत पाउन सक्दैनन् ।

मायेस्थिनिया ग्रेविसका लक्षण

एमजीका लक्षणहरू व्यक्तिपिच्छे फरक हुन सक्छन् । केही अवस्थामा, लक्षणहरू हल्का हुन्छन् । यतिबेला आँखालाई मात्र असर गर्छ । अन्य अवस्थामा लक्षणहरू बढी गम्भीर हुन सक्छन् र अनुहार, घाँटी, हात, खुट्टा, र श्वासप्रश्वास प्रणालीको मांसपेशीसमेत प्रभावित हुन सक्छन् ।

एमजी भएका मानिसमा दोहोरो दृष्टि (डिप्लोपिया) र आँखाको ढकनी झर्ने (ptosis) लगायतका सामान्य लक्षण देखा पर्छन् । यस्तै, बोल्न र खानेकुरा निल्न, हातखुट्टामा कमजोरी र अत्यधिक थकान पनि यसका लक्षण हुन् । केही अवस्थामा एमजीले श्वासप्रश्वासको मांसपेशीहरूलाई पनि असर गर्न सक्छ र सास फेर्न गाह्रो हुन सक्छ । यसले ज्यानै जाने जोखिम पनि हुन्छ ।

मायेस्थिनिया ग्रेविसको पहिचान

एमजीको पहिचान गर्न कुनै एक्लो परीक्षण छैन । यद्यपि, अन्य अवस्था पत्ता लगाई एमजी पुष्टि गर्न अन्य धेरै परीक्षण गर्ने गरिन्छ जस्तै AChRs विरुद्धको एन्टिडी परीक्षण गर्न रक्त परीक्षण गर्ने गरिन्छ । यस्तै मांसपेशीमा विद्युतीय गतिविधिको मापन गर्न इलेक्ट्रोमायोग्राफी गर्ने गरिन्छ । व्यक्तिगत मांसपेशी फाइबरको कार्य मूल्याङ्कन गर्न सिङ्गल–फाइबर इएमजी र अस्थायी रूपमा मांसपेशीको बल सुधार गर्न दिइएको औषधीले कस्तो प्रतिक्रिया दिन्छ भनेर परीक्षण गर्न टेन्सिलन परीक्षण गर्ने गरिन्छ । 

मायेस्थिनिया ग्रेविसको उपचार

एमजीको निदान गर्ने कुनै उपचार छैन, तर लक्षणको व्यवस्थापन गर्न विभिन्न उपाय भने छन् । उपचारको लक्ष्य मांसपेशीको बल सुधार गर्नु हो । एमजीको लागि गरिने सामान्य उपचार यस प्रकारका छन् ।

औषधी

एमजी भएका मानिसहरूको मांसपेशीमा शक्ति बढाउन थुप्रै औषधी उपलब्ध छन् । तीमध्ये कोर्टिकोस्टेरोइड्स, इम्युनोसप्रेसेन्ट र एन्टिकोलिनेस्टेरेज नामका औषधी व्यापक प्रयोगमा छन् ।

प्लाज्माफेरेसिस 

यो एउटा यस्तो प्रक्रिया हो जसले AChRs लाई आक्रमण गर्ने एन्टिबडी  हटाउँछ । प्लाज्माफेरेसिस एमजीको गम्भीर एपिसोडको उपचार गर्न वा शल्यक्रियाको लागि तयारी गर्न प्रयोग गर्ने गरिन्छ ।

थाइमेक्टोमी 

यो थाइमस ग्रन्थि हटाउने शल्यक्रिया हो । थाइमस ग्रन्थि छातीमा रहेको सानो ग्रन्थि हो जसले एमजीको विकासमा मद्दत गर्ने मान्यता राखिन्छ । थाइमेक्टोमी सामान्यतया गम्भीर एमजी भएका व्यक्तिहरू वा अन्य औषधि उपचार पछि रिल्याप्स भएका व्यक्तिको लागि मात्र सिफारिस गरिन्छ ।

जीवनशैली परिवर्तन

हामीले आफ्नो जीवनशैली परिवर्तन गरेर एमजीका लक्षणहरू व्यवस्थापन गर्न र जीवनको गुणस्तर सुधार्न सक्छौँ । यी परिवर्तनमा नियमित आराम लिनु, लक्षणहरू खराब बनाउने गतिविधिहरू नगर्नु, स्वस्थ आहार र तनाव व्यवस्थापन समावेश छ ।

रोगको पूर्वानुमान

यदि तपाईंलाई आफ्नो स्वास्थ्यबारे कुनै चिन्ता छ भने डाक्टरसँग परामर्श गर्नुहोस् । लक्षणको आधारमा एमजी छ कि छैन भनेर डाक्टरले विभिन्न परीक्षण गर्न सुझाउँछन् । यस्तै, तपाईंलाई व्यक्तिगत रूपमा कस्तो खालको उपचार विधि उत्तम हो भनेर पनि सल्लाह दिन्छन् । 

जुन महिना –  मायेस्थिनिया ग्रेविस जागरूकता महिना 

जुन महिना माइस्थेनिया ग्रेभिस जागरूकता महिना हो l यसो भनौं, यो महिना एमजीका बारेमा सचेतना जगाउने र यसबाट प्रभावितहरूलाई सहयोग गर्ने समय हो । यसमा सहभागी हुने धेरै तरिकाहरू छन् – जस्तै एमजीबारे थप जानकारी लिने, एमजीबारे आफ्नो डाक्टरसँग कुरा गर्ने, अनुसन्धान र बिरामीको हेरचाह गर्ने संस्थाहरूलाई दान गर्ने र सामाजिक सञ्जालमा एमजीबारे जानकारी फैलाउन मद्दत गर्ने ।

एमजीको बारेमा सचेतना बढाएर, हामी यस अवस्थाबाट प्रभावितहरूको जीवन सुधार्न मद्दत गर्न सक्छौँ ।

Myasthenia Gravis Nepal नेपालमा मायेस्थिनिया ग्रेविसको बारेमा चेतना जगाउन समर्पित फेसबुक पेज हो । हामी यसका अवस्था, लक्षण र उपचार विकल्पबारे जानकारी प्रदान गर्दछौँ । हामीले नेपालमा मायेस्थिनिया ग्रेविस भएका मानिसलाई एक–अर्कासँग जोड्ने काम गर्छौँ यसमार्फत उनीहरूले आफ्ना अनुभवहरू साझा गर्न र एक अर्कालाई सहयोग गर्न सक्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशंसा सिम्खडा
प्रशंसा सिम्खडा
लेखकबाट थप