आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चोरी धन्दा

अस्ट्रेलिया जान चोरी, अपार्टमेन्टमा बास !

लिभिङ टुगेदरमा थिइन् १९ वर्षीया किशोरी
आइतबार, १० असार २०८०, १८ : ५५
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ र ललितपुरका आईटी पसल र अफिसमा दिनभर रेकी गरेर रातभर चोरी गरेको आरोपमा ३९ वर्षीय सुबोध श्रेष्ठ अहिले प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा सुबोध मात्रै छैनन्, उनीसँगै छिन् १९ वर्षीया रोशनी महर्जन ।

सुबोध र रोशनी रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टको आठौँ तलामा बस्छन् । उनीहरू बस्ने अपार्टमेन्ट नम्बर हो–‘८०३ ।’ प्लस टु सम्म अध्ययन गरेका सुबोधको अरू पेसा छैन ।

चोरी गरेरै अस्ट्रेलिया जाने सपना अँगालेका उनी डेढ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका थिए । पछिल्लो एक वर्षदेखि उनीसँगै रोशनी ‘लिभिङ टुगेदर’मा छिन् । योजनाबद्ध चोरी गर्ने सुबोधले पक्राउ परेपछि प्रहरी अधिकारीलाई सोधे–‘कसरी पत्ता लगाउनुभयो ?’

२०७८ जेठ २८ मा राति ललितपुर महानगरपालिका–९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजीमा चोरी भएको थियो । सो चोरी अनुसन्धान गर्दै जाँदा सुबोध र रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । एसएसपी शाहले भने–‘आरोपितहरू विरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’

सुबोधले ग्लोबल लिङ्क टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीईओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धानबाट रोशनी पनि चोरीमा संलग्न रहेको भेटिएको एसएसपी शाहले जानकारी दिए । सुबोधले ज्ञानेश्वरबाट ३२ वटा ल्यापटप र पुतलीसडक स्थित ‘आई टिम प्रालि’मा पनि चोरी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । प्रारम्भिक अनुसन्धानबाट सुबोधले कम्तीमा १० ठाउँमा चोरी गरेको आशङ्का गरिएको छ ।

पक्राउ गरेपछि अनुसन्धान अधिकृतले उनलाई प्रश्न गरे–‘किन चोरेको ?’ सुबोधले सहज रूपमा जवाफ दिए–‘अस्ट्रेलिया जान पैसा जम्मा गर्दै छु ।’

खाना रेष्टुरेन्टबाट 

सुबोध र रोशनी अपार्टमेन्टमा खाना बनाउँदैनन् । अपार्टमेन्ट खानतलासी गर्दा खाना पकाउने सामाग्री नभेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । ति अधिकृत भन्छन्–‘रेष्टुरेण्टबाट खाना मगाएर खाने रहेछन् ।’ अपार्टमेन्टको भाडा मासिक ६० हजार तिर्छन् । भाडा रकम उनीहरूले चोरेरै जम्मा गर्ने गरेका छन् ।  

सुबोधले चोर्नका लागी १० वाट मोबाइल प्रयोग गरेको भेटिएको छ । उनी, अधिकांश समय पठाओ चढेर चोरी गर्थे । प्रहरीको अनुसन्धानबाट बच्नका लागी चोरीको सामान अपार्टमेन्टमा लैजान र बेच्न जाँदा पठाओ पटक पटक परिवर्तन गरेर चढ्ने गरेको भेटिएको छ ।

पुतलीसडकस्थित ‘आइ टिम प्रालि’ मा चोरी गर्नका लागि उनी राति ११ बजे छिरेका थिए । झ्यालको ग्रिल उप्काएर कार्यालयमा छिरेका उनी बिहान ५ बजे निस्केको अनुसन्धानबाट थाहा भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई यसअघि एक पटक पक्राउ गरेर मुद्दा चलाएको थियो । ९ महिना कारागार बसेर निस्केका सुबोधले फेरि चोरी सुरु गरेका हुन् ।

चोरेको सामान उनले ‘हाम्रो बजार डटकम’ राखेर बेच्ने गरेका थिए । सुबोधले पहिले महाबौद्धमा पसल राखेर ल्यापटप बनाउने काम गरेका थिए । २०७२–०७३ देखि ल्यापटप बनाउने काम छाडेर चोर्न थालेको अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप