आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

उसको विचार फेरिएछ

सोमबार, ११ असार २०८०, १२ : ०१
सोमबार, ११ असार २०८०

दैनिकी प्रारम्भ 
आजको अखबारमा 
खबर आयो,
उसका बारेमा धेरै लेखिएको छ 
संज्ञा फेरिएछ, वर्ण फेरिएछ
बालापनको सखा फेरिएछ ।
आफ्नै कथन फेरिएछ
वतन फेरिएछ
थातथलो फेरिएछ
समयको गतिशीलता सँगै
भोग्दै आएको ‘स्तर’ फेरिएछ
उन्मोचनको नारा फेरिएछ
अद्भूत अपनत्वभित्रको
सादगी अनि अदम्भ फेरिएछ ।


जेका लागि निरन्तरता थियो
सङ्घर्ष थियो 
सबै सबैको रूप फेरिएछ, 
विडम्बना
शिखरमा पु¥याउनेहरूको,
मुहार फेरिएनछ, नियति फेरिएनछ
उसको विचार फेरिएछ 
अन्तर्य फेरिएछ
मन, भावना र समवेदना फेरिएछ ।
अनि
फेरिएछ जीवन जिउने दृष्टिकोण ।
रूपान्तरित आँधीले
सु–विचारद्वारा सिर्जेको,
सगर चुम्ने शिखर ढलेछ ।                                                             

फुटेका कुर्कुच्चा
अनि झुत्रोले जोगाएको     
इमानको महल
नामेट हुने गरी
गल्र्याम्म गुर्लुम्म ढलेछ । 
स्वनिर्मित अभिजात वर्ग
अनि
अहङ्कार ढलेन छ ।
 
हिमाल पारिको गाउँ
एक झल्कोमा सुन्दर
भूगोलको सुन्दरता
घरको चुलोसम्म नआउँदो रहेछ
भूगोलभित्रका असीमित समस्या
दुई छाक टार्ने समस्या
महिलाका कुण्ठित पीडाहरू
युवाका अभावहरू
बालबालिकाका खोसिएका बालापन 
वृद्धवृद्धाका रोगका कथा
शोकका कथाहरू
अनि सिङ्गो गाउँको भाग्यका कथाहरू
केही पनि फेरिएन छ ।
कथाभित्र
थरीथरी पात्रका नियतिहरू
काल्पनिक कथा होइन
वास्तविक कथाका पात्र
सुख मृगमरीचिकाझैँ लेखिएका
संवाद अनि पटकथा
नभेटिने क्षितिज जस्तै
दुई छाक टार्ने दृश्यको
फगत अभिनयमा अभ्यस्त
सत्य कथाभित्रका 
निरीह पात्र
कसैको जीवन फेरिएनछ ।

जन जनको
विश्वासमा घात
भावनामा घात
आशंसा, उमेदमा घात,
उन्नति र अभ्युदयमा घात,
घातै घातको चाङभित्र
आचार भ्रष्ट आवरणले छोपिएपछि
ऊ स्वयंमा फेरिएछ
उसको विचार फेरिएछ ।
                        
चिथरोले छोपिएको लाज
कथित वैभवले छोप्न नसकेपछि,
उन्मादको तुवाँलोभित्र
विवेकको अवसानसँगै
निर्वस्त्र, नाङ्गो ।
प्रत्येकको नजरमा नाङ्गो
हरेकको मनमा नाङ्गो, सोचमा नाङ्गो
सर्वाङ्ग नाङ्गो
नाङ्गिएकोमा सामथ्र्य देख्ने
नयाँ मत जन्मिएपछि
उसको विचार फेरिएछ ।
आचार भ्रष्ट आवरणले छोपिएपछि
उसको विचार फेरिएछ ।

काठमाडौँ महानगरपालिका–१४, कलङ्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द ‘शृङ्खाला’
गोविन्द ‘शृङ्खाला’
लेखकबाट थप