आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा ‘प्लस टु’ मा आफूखुसी शुल्क लिन नपाउने

सोमबार, ११ असार २०८०, १५ : ४१
सोमबार, ११ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्कमाथि नियमन गर्दै २०८०/०८१ का लागि कक्षा ११ मा के कति शुल्क लिने हो ? त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले २०८० मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? त्यस्तो प्रस्ताव पेश गर्न भनिएको बताए ।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव पेश गर्नुपर्नेछ । असार मसान्तभित्र शिक्षा विभागमा प्रस्ताव पेश गर्नुपर्ने शिक्षा अधिकारी कोइरालाले बताए ।

अहिलेसम्म विद्यालयहरूले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिँदै आएका थिए । प्लस टु मा शुल्क निकै महँगो भएको गुनासो आएपछि नियमन गर्न लागिएको शिक्षा अधिकारी कोइरालाको भनाई छ ।

हरेक विद्यालयले प्रत्येक वर्ष शुल्क विवरण महानगरमा पेश गर्नुपर्ने हुन्छ । तर, कतिपय विद्यालयहरूले शुल्क विवरण पेश नगरेको पाइएपछि महानगरले समयसीमा तोकेर प्रस्ताव माग गरेको हो । उनीहरूले पेश गरेको प्रस्तावको आधारमा शुल्क निर्धारण गरिने उनको भनाई छ ।

यसअघि संस्थागत विद्यालयहरूको हकमा माध्यमिक विद्यालय तहका लागि शुल्क प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । तर, यो वर्ष शुल्क समायोजन गर्नुपर्ने आधार नदेखिएको भन्दै महानगरले कुनै पनि विद्यालयको शुल्क समायोजन गरेको थिएन । गत वर्ष निधारण गरिएकै शुल्कको आधारमा विद्यालयहरूको शुल्क यथावत् राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप