आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचारको छाया

कोषको सदस्य सचिव बनेको दुई वर्षमै चपलीमा तीन करोड ३८ लाखको घर

२०७४ सालमा खातामा ११ हजार, सदस्य सचिवबाट अवकाश पाउँदा ७ करोड ८४ लाखको सम्पत्ति
सोमबार, ११ असार २०८०, २० : ४२
सोमबार, ११ असार २०८०

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषकै पदाधिकारीको मिलेमतोमा मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अहिले छानबिन गरिरहेको छ । यो प्रकरणको छानबिन चल्दै गर्दा सोमबार आयोगले कोषकै पूर्व सदस्य–सचिव डा. प्रदीप ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

जलहरी प्रकरणमा आयोगले कोषका बहालवाला सदस्य–सचिव डा. मिलन कुमार थापालगायतसँग बयान लिइसकेको छ । संसदीय समितिले समेत यसबारे चासो देखाउँदै थापासँग सोधपुछ गर्योल । थापा त संसदीय समितिमा जवाफ दिँदा रोए  नै । जलहरी प्रकरणमा उनको संलग्नता छ वा छैन त्यो आयोगको थप छानबिनले देखाउला नै । 

सोमबार आयोगले मुद्दा दर्ता गरेका ढकालको सम्पत्ति विवरण आश्चर्यचकित पार्ने खालको देखिन्छ । २०७४ साउन ३२ गते कोषको सदस्य– सचिवमा नियुक्ति भएका ढकाल र उनको परिवारको नाममा विभिन्न बैंक खातामा जम्मा ११ हजार ५ सय १९ रुपैयाँ ७६ पैसा मात्रै देखिन्छ । २०७८ साउन ३१ मा कोषको सदस्य–सचिवबाट अवकाश पाउँदासम्म ढकालको सम्पत्ति ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ १२ पैसा देखिएको छ । 

आयोगले सूक्ष्म अनुसन्धान गर्दा उनी र उनको परिवारको नाममा रहेको बैंक खातामा रहेको मौज्दात रकम, पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, शेयर बिक्रीबाट प्राप्त रकम र विभिन्न व्यक्तिहरूसँग लिएको व्यक्तिगत सापटीसमेत गरी आयतर्फ स्रोत खुलेको रकम ६ करोड ३९ लाख ९३ हजार तीन सय १२ रुपैयाँ ४१ पैसा हुन आउँछ । आयको अनुपातमा व्यय तुलना गर्दा ढकालले एक करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसाको स्रोत नखुल्ने आयोगको अनुसन्धानबाट देखिन्छ । 

चपली हाइटमा तीन करोडको बंगला

कोषको सदस्य–सचिव हुनअघि ढकालको नाममा कास्की शुशुवामा ४ आना तीन पैसा दुई दाम जग्गा तथा भक्तपुर सिपाडोलमा एक रोपनी जग्गा र बैंकमा ११ हजार ५ सय १९ रुपैयाँ ७६ पैसा मात्रै थियो । तर चार वर्षको अवधिमा ढकालले बूढानीलकण्ठस्थित चपलीहाइटमा आठ आना जग्गामा तीन करोड ३८ लाख २६ हजार ८ सय ७८ रुपैयाँ २४ पैसा लगानी गरेर भव्य बंगला बनाए । २०७६ जेठमा जग्गा खरिद गरी बनाएको बगैँचा कोलोनीमा महँगो फर्निचरसँगै घरमा ६ वटा एयरकन्डिस्नर (ए.सी) जडान गरेका छन् । उच्चस्तरको अस्वाभाविक जीवनस्तर बिताइरहेका ढकालले सम्पत्तिको स्रोत देखाउन सकेनन् । 

बैंकहरुमा अस्वाभाविक कर्जा

२०७४ जेठमा सदस्य–सचिवको नियुक्ति लिएका ढकालले घरजग्गाको मूल्य दुई करोड ८३ लाख १९ हजार ५ सय रहे पनि त्यसमा ७९ लाख ७९ हजार ५ सय ८२ रुपैयाँ ६२ पैसाको स्रोत नपुग्ने अयोगको छानबिनबाट देखिन्छ । उनले अयोगमा पेस गर्दा घरमा राख्ने फर्निचर र डेकेरेशनबापत ५५ लाख ७ हजार तीन सय ७८ रुपैयाँ २४ पैसा लगानी गरेको देखिन्छ । तर, ८७ हजार ४ सय ७९ रुपैयाँ ९२ पैसाको स्रोत पुष्टि हुँदैन । नेपाल एसबीआई बैंकमा बचत खाताको स्टेटमेन्ट अनुसार घर कर्जाको प्रयोग गरेबापत साँवाब्याजको १० लाख ८० हजार, दिव्य सहकारी बचत तथा ऋण सहकारीबाट २०७९ साउन १३ मा व्यापारिक कर्जाबापत एक लाख ५२ हजार, कामना सेवा विकास बैंकबाट २०७९ साउन ३१ मा कर्जाबापत बुझाएको दुई लाख ६ हजार ८ सय ८५ रुपैयाँ ४४ पैसा, सम्पत्ति विवरणसँगै औषधोपचार र काजक्रिया खर्च बापत चार लाख लगायत विभिन्न शीर्षकमा देखाएको कूल एक करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानले देखाएको छ । 

चार वर्षमा २२ लाख तलब

सदस्य–सचिव ढकालले चार वर्षमा मात्रै तलबबापत २२ लाख ८ हजार नौ सय ९९ रुपैयाँ पाएका थिए । तलब, दसैँभत्ता र महँगी भत्तासमेत गरी उनले यो परिमाणको रकम बुझेका थिए । नागरिक लगानी कोष कट्टीबाहेक उनले जीवन निर्वाह खर्च कट्टागरि ७० प्रतिशतले हुने जम्मा १५ लाख ४६ हजार दुई सय ८५ रुपैयाँ ३० पैसा आम्दानी गरेका थिए । उनले प्रोत्साहन भत्ताबापत मात्रै चार वर्षमा एक लाख ६८ हजार एक सय १३ रुपैयाँ, बैठक भत्ताबापत ४३ हजार ५० रुपैयाँ, भ्रमणभत्ताबापत पाँच लाख ७ हजार दुई सय १५ रुपैयाँ १० पैसा, अतिरिक्त सुविधाबापत नागरिक लगानी कोषबाट ९ लाख ४९ हजार ८६ रुपैयाँ ५१ पैसा, शेयर बिक्रीमार्फत ३५ लाख रुपैयाँ प्राप्त गरेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप