आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विधान अधिवेशन

सकियो जसपाको विधान अधिवेशन : विधान प्रमाणीकरण गर्न ६ सदस्यीय समिति गठन

मङ्गलबार, १२ असार २०८०, १९ : ३४
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन सम्पन्न भएको छ । 

असार १० देखि सुरु भएको ३ दिने विधान अधिवेशन आज विधान मस्यौदामाथि छलफल गरेर सकिएको छ । अधिवेशनमा पार्टीका अध्यक्ष एवं मस्यौदा तयारी समितिका संयोजक उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।

सो मस्यौदामाथि छलफलका लागि विभिन्न १० वटा समूह बनाइएको थियो । सो समूहले सोमवार दिनभर विधानमाथि छलफल गरेको थियो । छलफलपछि आज ती समूहमध्येका एक–एक जना गरी १० जनाले आआफ्नो समूहमा उठेको बुँदामा ब्रिफिङ गरेका थिए ।

पहिचानसहितको राष्ट्रिय समिति, संघीय परिषद्, उमेर हदलगायतको विषयमा नेताहरुले आआफ्नो कुरा राखेका थिए । अधिकांशले राष्ट्रिय समिति खारेज हुनुपर्छ भनेका थिए भने कतिपयले संघीय परिषद्को आवश्यकता नरहेको धारणा पनि राखेका थिए ।

विधानमा ७० वर्षे उमेर हदको बारेमा पनि कतिपयलाई चित्त बुझेन भने कतिपयले त्यसलाई स्वागत गरेका छन् । यी सब विषयवस्तुलाई सुझावको रुपमा लिइएको छ ।

अधिवेशनमा उठेका विषयवस्तुलाई विधानमा समावेश गर्ने, नगर्ने विषयमा छलफलका लागि ६ सदस्यीय समिति बनेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन भएको सो समितिमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र नेता दीपेन्द्र झा रहेका छन् ।

समितिले विधानलाई अन्तिम रुप दिई प्रमाणीकरण गरेपछि मात्र कार्यान्वयनमा आउने प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए । समितिले प्रमाणीकरण नगरेसम्म विधान कार्यान्वयनमा आउने छैन । 

सो समितिले बुधवारदेखि अधिवेशनमा उठेका विषयवस्तुलाई समेटेर अध्ययन गर्नेछ । अनिमात्र विधानमा समावेश गर्ने नगर्ने विषयमा छलफल गरी अन्तिम रुप दिइ प्रमाणीकरण गरिनेछ ।

अधिवेशनलाई समापन गर्दै अध्यक्ष यादवले पहिचानको मुद्दालाई यो विधानले बोक्ने भएकाले राष्ट्रिय समितिलाई अझै शक्तिशाली बनाउने धारणा राखे । पहिचानका लडाई अझै बाँकी रहेकाले जसपाले त्यसको नेतृत्व गर्ने र त्यसका लागि राष्ट्रिय समिति र प्रदेश समितिलाई अझ सशक्त बनाएर अगाडि बढ्ने धारणा राखे ।

यो अधिवेशनले पार्टीमा झन् ऊर्जा थपेको बताउँदै उनले विधान कार्यान्वयनमा आएपछि पार्टीको राजनीतिक गतिविधि सोहीअनुसार अगाडि बढाउन निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप