आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुखलाई अँगालो हाल्दै हिँड्ने युवती भाइरल

बुधबार, १३ असार २०८०, १७ : १२
बुधबार, १३ असार २०८०

रुखलाई अँगालो हाल्दै हिँड्ने युवती भाइरल भएकी छिन् । चीनको साङ्घाइकी एक युवती रुखलाई अँगालो हाल्दा मिल्ने शारीरिक र मानसिक लाभबारे जानकारी दिँदै हिँड्ने भएकोले भाइरल भएकी हुन् ।

किशिशिकीले गत अप्रिलमा श्रीमानसँग बाहिर घुम्न गएका बेला रुखलाई अँगालो हालेकी थिइन् । मदिराले थोरै लट्ठिएकी उनले साङ्घाइको खुला सडकमा एउटा रुखलाई यत्तिकै अँगालो हालिन् तर उनले तत्काल सकारात्मक महसुस गरिन् । कामको अत्यधिक चापका कारण उनको कान लगातार बजिरहेको जस्तो हुन्थ्यो, मोटो रुखलाई अँगालो हाल्दा त्यो जादुई रूपमा गायब भयो । यही कुराले उनलाई अन्य रुखलाई अँगालो हाल्न मात्रै प्रेरित गरेन यसको सकारात्मक पक्षबारे जानकारी दिँदै हिँड्ने पनि बनायो ।

चीनको इन्स्टाग्राम भनिने जियोसाम्ग्सुमा किशिशिकीले साङ्घाई नजिकैको एक पार्कमा रहेको हजार वर्ष पुरानो रुखलाई अँगालो हाल्दा आफूले निकै आनन्दित र पीडाबाट मुक्त भएको जस्तो महसुस गरेको बताइन् । उनले भनिन्, ‘रुखले पनि मलाई अँगालो हालिरहेको जस्तो महसुस गरेको थिएँ । मैले बोकेको सबै भारी बिसाएको जस्तो भान भइरहेको थियो ।’

ती चिनियाँ महिलाले थपिन्, ‘अरू मानिसलाई अँगालो हाल्न मलाई सधैँ डर लाग्छ । उनीहरुले मभित्रको नकारात्मक ऊर्जा सहन सक्दैनन् जस्तो लाग्थ्यो तर रुख निकै भिन्न छन् किनभने यिनीहरूले तिमीलाई निकै शान्त भएर तिम्रो कुरा सुन्नेछन् ।’

यद्यपि, किशिशिकीले वास्तविक मेडिकल थेरेपीको विकल्पको रूपमा प्रयोग नगर्न सुझाएकी छिन्  । तर चीनको परम्परागत चिकित्साका समर्थकहरूले रुखलाई अँगालो हाल्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक रहेको दाबी गर्छन् । 

‘द हग डाक्टर’ भनेर चिनिने क्लिनिकल मनोवैज्ञानिक डा. स्टोन क्राउसरले एक अर्कालाई कम्तीमा २१ सेकेन्डसम्म अँगालो हाल्ने व्यक्तिमा अक्सिटोसिन रिलिज हुने दाबी गर्छन् । तर रुखलाई अँगालो हाल्दा पनि यस्तै हुन्छ भन्ने निश्चित छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप