आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी एकदिवसीय विश्वकप : रंगशाला टाढा हुँदा खेलाडीलाई सास्ती

लिग चरणको खेल सक्न आठ हजार किलोमिटरभन्दा बढी यात्रा
बिहीबार, १४ असार २०८०, ११ : २७
बिहीबार, १४ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३ औं संस्करण आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । प्रतियोगितामा १० टोली सहभागी हुँदैछन् । विश्वकपमा सहभागी हुने आठ टोलीको टुंगो लागिसकेको छ भने दुई टोलीको छनोट हुन बाँकी छ । हाल जिम्बाबेमा जारी विश्वकप छनोट प्रतियोगिताबाट विश्वकप खेल्ने थप दुई टोलीको टुंगो लाग्नेछ । आगामी विश्वकपमा खेलहरु भारतका विभिन्न १० वटा सहरका रंगशालामा खेलाइने भएको छ । एउटा रंगशालादेखि अर्को रंगशालाको दूरी एक हजार नौ सय किलोमिटरभन्दा बढी रहेको छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघको रंगशालादेखि धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट संघको रंगशालासम्मको दूरी एक हजार नौ सय ३६ किलोमिटर रहेको छ । त्यसैले विश्वकप खेल्ने टोलीहरुले प्रारम्भिक चरणको खेलमा आठ हजार किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भएको छ । प्रतियोगितामा आयोजक राष्ट्र भारतले लिग चरणको खेल विभिन्न नौवटा रंगशालामा खेल्ने भएको छ । यसक्रममा भारतले लिग चरणको खेल समाप्त हुँदासम्म आठ हजार चार सय किलोमिटर दूरी तय गर्नुपर्ने भएको छ ।

घरेलु टोलीको खेल देशभित्रका बढीभन्दा बढी समर्थकले प्रत्यक्ष रुपमा हेर्न सकुन् भन्ने उद्देश्यले भारतको खेल नौवटा रंगशालामा राखिएको हो । प्रतियोगिताको लिग चरणका प्रत्येक टोलीले नौवटा खेल खेल्नु पर्नेछ ।  खेलका क्रममा थोरै समयमा लामो दूरीको यात्रा गर्नुपर्ने भएकाले सहभागी टोलीका खेलाडीहरु शारीरिक रुपमा थकित हुने आशंका गरिएको छ । कतिपय टोलीले भने एउटै रंगशालामा दुईवटा खेल खेल्ने अवसर पनि पाएका छन् ।

विश्वकपको लिग चरणको खेल ३४ दिनसम्म चल्नेछ । यस अवधिमा भारतले केवल एउटा सहर हैदराबादको रंगशालामा खेल्ने छैन । हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा केवल तीनवटा खेल खेलाइने भएको छ ।  भारतीय टोलीले विश्वकपअघि गुवाहाटी र त्रिवन्द्रममा अभ्यास खेल पनि खेल्नेछ । भारतले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा चेन्नईमा अस्ट्रेलियासँग खेल्नेछ । त्यसपछि ११ तारिखमा दोस्रो खेल खेल्न भारतीय टोली दिल्ली प्रस्थान गर्नेछ । 

भारतले ११ तारिखमा दिल्लीको अरुण जेट्ली रंगशालामा अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ । त्यसका लागि भारतले चेन्नईदेखि दिल्लीसम्म एक हजार सात सय ६१ किलोमिटर हवाई यात्रा गर्नेछ । सबैभन्दा लामो हवाई यात्रा भने पुनेदेखि धर्मशालासम्मको रहेको छ ।  भारतले १९ अक्टोबरमा पुनेमा बंगलादेशको सामना गर्नेछ । त्यसपछि भारतीय टोली २२ तारिखमा न्युजिल्यान्डसँग खेल्न धर्मशाला प्रस्थान गर्नेछ । यो दूरी एक हजार नौ सय ३६ किलोमिटर रहेको छ । भारतले लिग चरणको अन्तिम तीन खेलका लागि तीन हजार एक सय किलोमिटर हवाई यात्रा गर्नु पर्नेछ । लिग चरणको सातौं खेल भारतले मुम्बईमा खेल्नेछ । त्यसपछि आठौं खेलका कोलकाता प्रस्थान गर्नेछ भने नवौं तथा अन्तिम खेल बैंगलोरमा खेल्नेछ ।

यसैगरी पाकिस्तानले लिग चरणमा बैंगलोर, चेन्नई, हैदराबाद र कोलकातामा दुई/दुई खेल खेल्नेछ । यसका बावजुद लिग चरणको नौ खेल खेल्न पाकिस्तानले ६ हजार आठ सय किलोमिटर हवाई यात्रा गर्नेछ । पाकिस्तान र भारतबीचको खेल भने अक्टोबर १५ तारिखमा अहमादाबादमा खेलिने छ । उक्त खेल दिवा—रात्री हुनेछ ।  यसैगरी प्रतियोगिताको उद्घाटन खेल साविक विजेता इङ्ल्यान्ड र आयोजक न्युजिल्यान्डबीच हुनेछ । उक्त खेल अहमादाबादमा खेलिने छ । त्यसपछि लिग चरणको दोस्रो खेल खेल्न इङ्ल्यान्ड धर्मशाला प्रस्थान गर्नेछ । लिग चरणको खेलका क्रममा इङ्ल्यान्डले आठ हजार एक सय किलोमिटर हवाई यात्रा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप