आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

टिकटकदेखि ठुलो पर्दासम्म रेश्माको यात्रा

‘अब पहिले जस्तो रहेन टिकटक’
बिहीबार, १४ असार २०८०, १५ : ०६
बिहीबार, १४ असार २०८०

काठमाडौँ । सन् २०१७ मा नेपालमा सामाजिक सञ्जाल टिकटकको प्रयोग राम्रै ढंगले हुन थालिसकेको थियो । त्यति बेलैदेखि टिकटकमा धेरै समय बिताउँथिन् रेश्मा घिमिरे । नयाँ टिकटक बनाउनेदेखि अरूकोमा लाइक, कमेन्ट र फलो गर्दा बित्थ्यो उनको दिन ।

रेश्माले पनि राम्रो टिकटक बनाउने भएकोले उनले बनाएको टिकटकले राम्रै लाइक, कमेन्टको अलावा धेरै भ्यूज समेत पाउँथ्यो । टिकटक युजर्स माझ निकै चर्चित थिइन् उनी ।

त्यो समय फिल्म निर्देशक अरुण कुमार प्रधान फिल्म ‘यो साइनो मायाको’ निर्माण तयारी गर्दै थिए । प्रधान फिल्मको अभिनेत्रीको लागि नयाँ अनुहारको खोजीमा थिए । उनको नजर टिकटकमार्फत रेश्मा उपर पर्‍यो । 

सुन्दर अनुहार, आकर्षक जिउडालकी रेश्मा टिकटमा हिट थिइन् । उनले बनाएका अधिकांश टिकटकले लाखौँ भ्यूज पाउँथ्यो ।

प्रधानले उनलाई फिल्म ‘यो साइनो मायाको’ लागि अफर गरे । अभिनयको अवसरको खोजीमा रहेकी रेश्माले फिल्म अभिनयमा डुेब्यु गरिन् । 

297573207_615141463306325_1141547318276972449_n

‘फिल्मको अफर भने सन् २०१४ देखि आउन थालेको थियो । त्यो समय मैले ‘पूर्वाञ्चल सुपर मोडल २०१४’ को ताज पनि जितेकी थिएँ’, रेश्माले भनिन्, ‘अभिनयमा डेब्यु गर्ने अवसर भने ‘यो साइनो मायाको’ ले जुरायो ।’

‘यो साइनो मायाको’ फिल्म रिलिज भयो तर व्यवसाय सोचे जस्तो हुन सकेन । न त उनले नै अभिनयबाट चर्चा पाइन् । त्यसैले, उनी नर्सिङ अध्ययनमा व्यस्त भइन् । उक्त समय एक दुई फिल्मको अफर मिले पनि अध्ययनको कारणले नगरेको उनले सुनाइन् ।

रेश्मा अभिनित दोस्रो फिल्म ‘अन्तिम संस्कार’ पनि उनले टिकटककै कारणले हात पारेकी हुन् ।

‘अभिनय नगरेपछि टिकटकमा भने एक्टिभ नै थिएँ । ‘अन्तिम संस्कार’ को निर्देशक प्रदीप शाहीले पनि टिकटक हेरेरै फिल्म अफर गर्नुभयो’, रेश्माले भनिन् ।

प्रदीपले उनलाई ‘अन्तिम संस्कार’ अफर गर्दा देशमा कोरोनाको कहर थियो । उनले अनलाइनबाटै अडिसन दिएर फिल्मका लागि छानिएकी थिइन् ।

केही वर्षको अन्तरालपछि पर्दामा आफू देखिन पाएकोमा उनलाई भने रमाइलो महसुस भइरहेको छ । 

त्यसो त फिल्म ‘अन्तिम संस्कार’ले पनि दर्शकको साथ भने राम्रो पाउन सकिरहेको छैन । पछिल्लो समय नेपाली दर्शकले भारतीय र हलिउड फिल्म धेरै हेर्छन् । त्यही भएर पनि आफ्नो फिल्मले दर्शक नपाएको उनको बुझाइ छ । फिल्मले राम्रो दर्शक नपाए पनि अभिनयबाट भने उनले राम्रो प्रतिक्रिया हात पारेकी छन् । त्यसैले, अब लगातार फिल्म हात पर्ने उनमा विश्वास छ ।

241044246_394737728680034_3059774682354035221_n

‘फिल्म मेरै वरिपरि घुमेको छ । मैले श्रीमान् हराएको एक श्रीमतीको भूमिका निर्वाह गरेकी छु । मेरो भूमिका नोटिसमा पर्छ,’, रेश्माले थपिन् ।

फिल्ममा रेश्माको श्रीमान्को भूमिका अभिनेता तथा पाइटल विजय लामाले निर्वाह गरेका छन् ।

टिकटक मनोरञ्जन मात्र होइन, आफ्नो प्रतिभा निखार्ने माध्यम पनि बनेको छ । धेरैले यसबाट आफ्नो प्रतिभा विश्वका दर्शकसमक्ष प्रस्तुत गरेर विभिन्न अवसर हात पार्दै नाम र दाम कमाएका छन् ।

टिकटक अब पहिले जस्तो रहेन

रेश्मा अहिले भने टिकटकमा धेरै एक्टिभ छैनिन् । कारण खोलिन्, ‘टिकटक अब पहिले जस्तो रहेन । यसमा मानिसहरुले जे पनि हाल्न थाले, नकारात्मक कमेन्ट गर्न थाले । विकृति भित्रियो ।’ टिकटक राम्रो प्लेटफर्म भएकोले सदुपयोग गर्न जान्नेलाई राम्रो भएको उनी सुनाउँछिन् ।

315873792_687673136053157_7012178805263144119_n

उनी अहिले आक्कल झुक्कल खुसीको लागि मात्र टिकटक बनाउँछिन् । भन्छिन्, ‘सधैँ एकनासले टिकट बनाउँदा दिक्क पनि लाग्दो रहेछ । अभिनयबाट राम्रो भएकोले पनि यसमा ध्यान नदिएकी हुँ ।’

रेश्माले अहिलेसम्म करिब २ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । कालीप्रसाद बाँस्कोटाको गीत ‘इस्टाको फोटो’ मा आसिफ शाहको जोडीको रूपमा म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी उनले त्यसपछि स्मिता दाहालको ‘कसलाई थाहा छैन’ बोलको भिडियोमा अभिनय गरिन् । 

यसकुमार लगायत थुप्रै चलेका गायिक गयिकाको राम्रो म्युजिक भिडियो अहिले लगातार हात परिरहेको उनले बताइन् ।

‘नेपाल आइडल सिजन ४’को होस्ट गरेकी उनलाई अहिले फिल्म अभिनयमा महिलालाई प्रेरणा मिल्ने खालको भूमिका गर्न मन छ । अभिनयमा दुःखी, पीडित चरित्र खासै मनपर्दैन रे उनलाई ।

सफल अभिनेत्री र भर्सटायल कलाकार बन्ने लक्ष्य लिएकी उनलाई अर्पण थापा र विपिन कार्कीसँग स्क्रिन शेयर गर्न मन लागेको छ । ‘विपिन र अर्पण चरित्रमा फिट हुने मात्र होइन, अडियन्ससँग समेत राम्रोसँग जोडिन सक्नु हुन्छ । अभिनय नेचुरल हुन्छ ।’ उनी भन्छिन् ।

फिल्म हेर्न सौखिन उनलाई थ्रिलर, गाउँको सांस्कृतिक कथा बढी मनपर्छ । धेरै फिल्म हेर्ने भएकोले आफूलाई अभिनयमा सहज भएको महसुस गरेकी उनी अभिनयबाट बाँच्न सकिने बताउँछिन् । तर, विकल्पको रूपमा अरू पेसा गर्दा झनै राम्रो हुने उनको जिकिर छ ।

उनी पनि अभिनयको अलावा स्क्रिन आर्टमा नर्सिङ र मार्केटिङ एक्जुकेटिभको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।

दुई वर्ष अगाडि ब्याचलर नर्सिङ सकाएकी उनीसँग अहिले फिल्मका दुई प्रोजेक्ट हातमा छन् । ‘फिल्म पेसा र नर्सिङ समाजसेवाको रूपमा एकसाथ अगाडि बढाउँछु’ उनले लक्ष्य सुनाइन् ।

135807810_243406683813140_7962899253148199867_n

चुलबुले रेश्मा

रेश्माको ग्ल्यामर फिल्ड प्रतिको आकर्षण सौन्दर्य प्रतियोगिताको कारणले हो । २०१४ को ‘मिस पूर्वाञ्चल’ विजेता उनी आफूलाई राम्रो देखाउन समेत सिपालु छिन् । उनको अनिवार्य मेकअप भनेको लिपस्टिक हो । अन्य मेकअप गर्न नभ्याएको समय पनि उनी लिपस्टिक भने लगाउन छुटाउँदिनन् । त्यसो त मेकअपमा आफूलाई भन्दा अरूलाई सिँगार्न मन पराउँछिन् उनी ।

‘अहिले प्रतिभा निखार्न मिस नेपाल जानैपर्छ भन्ने छैन । धेरै यस्ता प्लेटफर्म खुलेका छन्’, उनले अगाडि थपिन् ‘अहिले सबै मिस नेपाल हो जस्तो लाग्छ । सबै स्मार्ट भइसके ।’ अहिले प्रतिभा निखार्न र आफूलाई चिनाउन सामाजिक सञ्जाल सहयोगी हुने उनको धारणा छ ।

मोडलिङ र अभिनयमा एकसाथ कदम अगाडि बढाइरहेकी उनी फेसनको मामलामा आफूलाई जिरो ठान्छिन् । उनलाई सारी र कुर्था सुरुवाल मनपर्छ । ‘सारीमा म धेरै राम्री देखिन्छु’ उनी खुसी हुँदै भन्छिन् ।

हल्का र खुल्ला पहिरन मन पराउने उनलाई टाइट, असजिलो पहिरन मनपर्दैन । बब्ली नेचरकी रेश्माको साथीहरूसँग रमाइलो गर्नुपर्ने, बोली रहनुपर्ने स्वभाव छ । भन्छिन्, ‘म अति भावुक छु । ससानो कुरोले मन दुख्छ । ससानो कुरोले खुसी दिन्छ ।’

खानामा खासै सौखिन छैनिन् उनी । घरको भान्सामा उनलाई मनपर्ने दालभात, तरकारी हो भने बाहिर हिँड्दा उनी बर्गर रुचाउँछिन् ।

प्रकृतिप्रेमी उनी बानी ब्यहोरा, पर्सनालिटी राम्रो भएको र नारीको इज्जत गर्ने केटा आफूलाई मनपर्ने बताउँछिन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा रमाउन मनपर्छ उनलाई । अभिनयबाहेक गीत गाउन मनपर्ने उनी गितारसमेत बजाउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप