आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यू-१६ इस्ट जोन कप क्रिकेट : नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य

शुक्रबार, १५ असार २०८०, १० : ४३
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएको छ । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ । 

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले ३३.४ ओभरमै अलआउट हुनुअघि एक सय ८३ रनमात्र बनाउन सक्यो । माथिल्लो क्रममा ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा नेपालले विपक्षीसामु ठुलो लक्ष्य प्रस्तुत गर्न सकेन ।

नेपालका लागि नवौँ नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पाली खेले । टोलीको अवस्था दयनीय रहेको बेला उनले ५२ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका अशोकले केवल ३६ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए ।

ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै नेपालले आफ्नो तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

अर्का ओपनर नीरजकुमार यादव आठ रनमा आउट भए भने तेस्रो नम्बरमा क्रिज समाल्न आएका दीपु कुमार पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान आशिष लुहारले खातासम्म खोल्न सकेनन् ।

प्रतीक भट्टराई चार रनमै आउट भए भने नरेन भट्टले २९ रन बनाए । सन्तोष यादव शून्य रनमै आउट भए भने कप्तान अभिषेख तिवारी चार रनभन्दा अगाडि बढ्न सकेनन् । कीर्तिक कामतले टोलीको खातामा १६ रन थपेका थिए । प्रतीक पोखरेलले अविजित दुई रन बनाए ।

 आठौँ विकेटका लागि आशोक धामी र नरेनबीच ३४ बलमा ४५ रनको साझेदारी भएको थियो । नेपालका लागि यो नै सर्वाधिक रनको साझेदारी थियो । त्यसपछि नवौँ विकेटका लागि अकोश र कीर्तिक कामतबीच ३९ रनको साझेदारी भएको थियो । 

भ्रमणकारी टोली नेपालले अतिरिक्त रूपमा २४ रन पाएको थियो । मलेसियाका बलर हाजिक हैक्वल, मुहम्मद अक्रम, अरिन अकिल र मुहम्मद मुकरीले दुई—दुई विकेट लिए । मोहम्मद फातुल फात्रीले पनि एक विकेट हात पारे । 

नेपाल र मलेसिया यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । समूहगत चरणको यो अन्तिम खेलले समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउने छ । यो खेलमा विजयी टोली समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप