सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
गर्मीमा क्यानोनिङको मज्जा

गर्मीमा क्यानोनिङको मज्जा

शनिबार, १६ असार २०८०

नुवाकोट । आजभोलि मानिसहरू साहसिक खेल खेल्न उत्साहित हुन्छन् । यसमध्ये नेपालमा क्यानोनिङले पनि बिस्तारै स्थान पाउन थालेको छ । 

क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ्ग झुन्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिँदै खेलिने साहसिक खेल हो। यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ। गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ। नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ । 

नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ्गे झरनामा यही असार १० गते आइतबार क्यानोनिङ मेला आयोजना गरिएको छ । सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीय लगायत पर्वतीय पर्यटनमा कार्यरत पथप्रदर्शकरतको २५ जना युवा-युवतिका समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम पनि लिइरहेका छन्। नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सह-आयोजनामा कार्यक्रम भएको थियो ।

काठमाडौँदेखि करिब २८ किमी दुरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकीय गन्तव्य हो। ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यानोनिङ संघका अध्यक्ष राजेन्द्र लामाले बताए। साहसिक खेल मन पराउनेहरूलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी , जलजले, लौके, सनछहरे, ठुल छहरे , महाभिर लगायतका झरनाहरूमा क्यानोनिङको मज्जा लिन सकिने समेत उनले जनाकारी गराए । 

ककनीमा लोकल उत्पादन जस्तै ट्राउट माछा, स्ट्रबेरी, हरियो सागसब्जी प्रशस्त उब्जनी हुन्छ। पर्यटकहरूले स्थानीय परिकारसँगै अन्नपूर्ण, मनासलु, गणेश हिमाल, लाङटाङ, जुगल, दोर्जेलाक्पा लगायत दर्जनौँ हिमालको अवलोकन पनि गर्न सक्छन्।  

मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया