आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

तिमी कायर कि म ?

शनिबार, १६ असार २०८०, ०९ : २०
शनिबार, १६ असार २०८०

मान्छेहरू भन्छन्, उ कस्तो कायर 
जीवन जिउनै सकेन,
जाबो हाकिम साबले जिस्क्याउँदैमा 
आत्महत्या नै गर्‍यो

तिनलाई के थाहा उसको त्यो मजाक, 
मेरो सात पुस्ताले पिउँदै गरेको विष थियो
हेपिँदै आएको त्यो जातरूपी विष थियो
धपाउँदै आएको खसरूपी विष थियो ।

मान्छेहरू भन्छन्, उ कस्तो कायर 
जीवन जिउनै सकेन,
जाबो सत्य देखाउँदा 
आत्महत्या नै गर्‍यो ।

तिनलाई कसैले बताई दिनु
त्यो सत्य हैन, झुठ थियो
मनै कटक्क खाने दमन थियो
हजारौँ पल्ट बोलेर दिइएको
धोखा थियो, वैमनश्यता थियो ।

र, म त बस एक पटक मरे 
तिमी त दिनहुँ मर्दैैछौ र मार्दैछौ
कहिले कथित जातिको नाउँमा
त कहिले धर्मको नाउँमा
कहिले फेसबुके भाइरसको चित्कारमा
त कहिले सोमरसको आडमा 
कहिले अन्याय सहेर मर्‍यो
त कहिले न्याय बेचेर मर्‍यो ।

हो, त्यसैले म अब 
तिम्लाई सोध्न चाहन्छु
म साहस गरेर 
एकै पल्ट मर्ने कायर
कि
तिमी हर दिन हर क्षण 
पटक पटक मर्ने कायर ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम रतन सिंह ‘देवकीनन्दन’
राम रतन सिंह ‘देवकीनन्दन’
लेखकबाट थप