आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेसँग कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना छैन : परराष्ट्रमन्त्री

शनिबार, १६ असार २०८०, १७ : ३५
शनिबार, १६ असार २०८०

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रस्ट पारेका छन् । बाहिर हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन ।’ उनले प्रतिपक्षका मागलाई सरकारले अधिकतम सम्बोधन गर्ने प्रयास गरिरहेको बताए।

 सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन्। ‘अलि कति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ। हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौँ,’ मन्त्री साउदले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौ तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौँ, बोल्न सक्दैनौँ हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’ उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए। ‘कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कूटनीतिक रूपमा प्राप्त गर्नुपर्थ्यो त्यो विगतमा गर्न सकिएको थिएन,’ उनले भने, ‘भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत समाधान गर्नुपर्छ भनेर बोल्नु भएको छ। त्यसैले सीमासम्बन्धी समस्याले निकास पाउँछ।’

उनले डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप