आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा

हरेक वर्ष किन चर्किन्छ चक्रवर्ती कलेजमा कोटा विवाद ?

विश्वविद्यालय भन्छ– कोटा १०० जना, कलेज भन्छ– ३०० जना
आइतबार, १७ असार २०८०, ०६ : २६
आइतबार, १७ असार २०८०

काठमाडौँ। ‘चक्रवर्ती हबी एजुकेशन एकेडेमी, कलेज अफ ल’ मा विद्यार्थी भर्नामा प्रत्येक वर्ष विवादमा आउने गरेको छ । पाँच वर्षे बीए एलएलबीको भर्ना प्रक्रिया अघि बढ्ने बेला कोटाको विषयलाई लिएर विवादमा आउने गरेको हो । 

२०७९-०८० (शैक्षिक समूह २०२२) मा भर्ना भएका विद्यार्थीहरूको विषय समेत विवादमा तानिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर चक्रवर्तीले बीए एलएलबी र एलएलएमको पठनपाठन गराउँदै आएको छ । 

विश्वविद्यालयबाट १०० जना विद्यार्थी पढाउन पाउने गरी अनुमति पाएको छ । तर, शैक्षिक समूह २०२२ मा २८८ जनाको रजिष्ट्रेशनका लागि विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयमा आवेदन परेका छन् । 

पूर्वाञ्चल विश्वविद्यालय कला-कानून-शिक्षा शास्त्र संकायले आफ्नो मातहतका कलेजमा बीए एलएलबीमा १०० जना विद्यार्थी पढाउन अनुमति दिएको हो । त्यस्तै, एलएलएमको लागि समेत १०० जनाको मात्रै कोटा तोकेको छ । तर, कलेजले भने आफूलाई ३०० जनाको कोटा विश्वविद्यालयले दिएको दाबी गर्दै आएको छ । 

Pu letter

हो, यही विषयलाई लिएर विश्वविद्यालय र कलेजबीच लडाई देखिएको छ । विश्वविद्यालयले कडाई गर्न खोज्दा कलेज अदालत जाने गरेको छ । र, अदालतबाट आदेश ल्याएर भर्ना भएका विद्यार्थीलाई परीक्षा दिलाउँदै आएको देखिन्छ । 

१५ कात्तिक २०७९ मा उच्च अदालत विराटनगरले योग्यता पुगेका सम्पूर्ण विद्यार्थीहरूको भर्ना, रजिष्ट्रेशन गर्न र परीक्षामा सामेल गराउन नरोक्नु, रोक्न नलगाउन भनी अन्तरिम आदेश जारी गरेको थियो । सोही अन्तरिम आदेशअनुसार नै भर्ना प्रक्रिया, रजिष्ट्रेशन, परीक्षा र नतिजा प्रकाशन लगायतका काम हुँदै आएको कलेजले जनाएको छ ।

कलेज प्रमुख प्रा देवेन्द्रबहादुर भण्डारीले २०७३ कार्तिक १ मा विद्यार्थीको कोटा थप गरी पाउँ भनी विश्वविद्यालयमा निवेदन दिएको र सोही आधारमा थप गरिएको बताए । 
विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले डीन कार्यालयलाई सम्बोधन गरी २०७३ कार्तिक १५ मा लेखेको पत्रअनुसार आफूहरुले अनुमति पाएको भण्डारीले दावी गरे । उक्त पत्रमा निवेदन बमोजिम ३०० कोटा शैक्षिक सत्र २०७३-०७४ मा भर्ना गर्ने गरी प्रक्रिया अगाडि बढाउन भनेको थियो । 

तर, उक्त पत्रको जवाफ २०७५-०८-०३ मा पठाएको देखिन्छ । उक्त पत्रमा रजिष्ट्रार कार्यकारीको सदस्य सचिव रहने कोटा थपको प्रस्ताव समेत रजिष्ट्रारबाटै कार्यकारीमा जाने हुनाले ३०० कोटा कायम गरी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन चक्रवर्ती हबि एजुकेशन एकेडेमी (कलेज अफ ल) लाई जानकारी गराएको देखिन्छ ।

355866677_952769506138627_5857131335561250501_n

कानून संकायका डीन अनिल पोखरेलले चक्रवर्तीको १०० कोटाबाट बढाएर ३०० कोटा पुर्याउने निर्णय हालसम्म नभएको प्रष्ट पारे । ‘मेरो संकायअन्तर्गत रहेको कुनै पनि कलेजलाई हालसम्म ३०० कोटा दिइएको छैन । चक्रवर्तीलाई १०० कोटाको अनुमति हो । विगतमा कोटाभन्दा बढी विद्यार्थी पढाएको देखियो । त्यही भएर यो वर्ष हामीले रोकेका छौं । अब विश्वविद्यालयले यो विषयमा आवश्यक निर्णय गर्छ ।’ डीन पोखरेलले रातोपाटीसँग भने ।   

क्याम्पस प्रमुख भण्डारीले भने २०७३-०७४ शैक्षिक सत्रमा ३०० कोटामा भर्ना गर्न दिएको पत्रपछि २०७३-०७४ बाटै भर्ना गर्न आरम्भ गरिएकोमा कुनै सत्र १०० जना मात्रै विद्यार्थी भर्ना आएको र कुनै सत्रमा १२५ जना, कुनै सत्रमा २५० जना विद्यार्थी आएको बताए । चक्रवर्तीले पूर्वाञ्चल विश्वविद्यालय र सोअन्तर्गतका निकायले तोकेबाहेकका र नियम कानूनसम्मत कार्य मात्रै गर्दै आएको उनले बताए । 

यो कलेजमा विगतदेखि नै १०० जनाको कोटाभन्दा निकै बढी विद्यार्थी पढ्दै आएका छन् । गत वर्ष कोटा विवाद आएपछि कलेज अदालत गएको थियो । अदालतले भर्ना भएका विद्यार्थीको भविष्यमाथि कुनै असर नपर्ने गरी परीक्षा दिने व्यवस्था मिलाउन भनेको थियो । 

शैक्षिक संस्थालाई बदमान गराउने उद्देश्यले शैक्षिक माफियाहरू लागिरहेको उनको आरोप छ । २८८ जना विद्यार्थीको नाम विश्वविद्यालयमा पेश गरेपछि पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले क्याम्पसलाई परिपत्र गरेको हो । परिपत्र गर्दै १०० भन्दा बढी विद्यार्थीको रजिष्ट्रेशन कायम गराउन नसकिने जनाएको छ । कलेजबाट पेश गरिएका रजिस्ट्रेशन फर्ममध्ये विश्वविद्यालयले तोकेको विद्यार्थी भर्ना संख्या अनुसार १०० जनाको नामावली उपलब्ध गराउन भनेको हो । 

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमालले कोटाभन्दा धेरै विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको बताए । कोटाभन्दा विद्यार्थी भर्ना गरेको पाइएपछि १०० जनाको मात्र नाम पठाउन भनिएको उनले बताए । 

यो कलेजमा विगतदेखि नै १०० जनाको कोटाभन्दा निकै बढी विद्यार्थी पढ्दै आएका छन् । गत वर्ष कोटा विवाद आएपछि कलेज अदालत गएको थियो । अदालतले भर्ना भएका विद्यार्थीको भविष्यमाथि कुनै असर नपर्ने गरी परीक्षा दिने व्यवस्था मिलाउन भनेको थियो । 

अनेरास्ववियुको तालाबन्दी  
कोटाको विवाद देखिएपछि क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । कोटाभन्दा बढी विद्यार्थी पढाउँदै आएको भन्दै क्याम्पसको लेखा र प्रशासनमा ताला लगाईएको अनेरास्ववियुले जनाएको छ । 

यो विषयमा आफूहरूले कलेज प्रशासनविरुद्ध ठगीको मुद्धा हाल्ने अनेरास्ववियुले चेतावनी दिएको छ । कलेजले चर्को शुल्कसमेत लिने गरेको अनेरास्ववियुको आरोप छ । 
तालाबन्दी गरेपछि कलेजले अनेरास्ववियु चक्रवर्तीका अध्यक्ष नरेश धामी लगायतका १० जनालाई निष्काशन गरेको छ । कलेजलाई तिर्नुपर्ने शुल्क नतिरेको, कक्षा कोठामा ८० प्रतिशत हाजिरी नभएको, परीक्षासमेत भाँड्न खोजेको लगायतका आरोप लगाउँदै कलेजले उनीहरूलाई निष्कासन गरेको हो । 

कलेजले बीए एलएलबीका लागि १० लाख ७० हजार रूपैयाँ शुल्क तोकेको छ । यो वर्ष शुल्क थप नहुने कलेज प्रमुख भण्डारीले बताए । 

कोटा विवाद हरेक वर्ष  
अघिल्लो वर्ष नेविसंघले चक्रवर्तीको कोटाको विषयलाई लिएर विवाद सिर्जना गरेको थियो भने यो वर्ष अनेरास्ववियुले विवाद सिर्जना गरेको छ । विद्यार्थी संगठनहरू, कलेज र विश्वविद्यालयबीचको लडाईका कारण विद्यार्थीहरू मर्कामा पर्ने गरेका छन् । 

शैक्षिक माफियाहरूको माग पुरा नगर्दा यस्तो खालको ‘लफडा’ झिक्ने गरेको कलेज सञ्चालकसमेत रहेको प्रमुख भण्डारीले आरोप लगाए । ‘गत वर्ष नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भनेका २५ जनालाई भर्ना नगरिदिएपछि विवाद झिके र तालाबन्दी गरे । यो वर्ष अनेरास्ववियुका मान्छे भर्ना नगरेको, उनीहरूको मान्छेहरूको शुल्क मिनाहा नगरिदिएको, नेता नजिकका विद्यार्थीलाई भर्ना नगरेपछि कोटाको लफडा झिकिरहेका छन्’ प्रमुख भण्डारीले भने । 

अनेरास्ववियुका उपाध्यक्ष घर्तीले आफ्नो गल्ती भएपछि जोगिनको लागि अरूमाथि आरोप लगाउँदै आएको बताए । कलेजको नाममा नियम कानूनको ध्ज्जी उडाउने काम गर्दै आएको भन्दै उक्त कलेजको सम्बन्धन नै खारेज गरिनुपर्ने घर्तीले बताए । 

कलेजको कोटा विवादमा पूर्वाञ्चल विश्वविद्यालयले छलफल अगाडि बढाएको छ । ‘कोटा बढाउने कुरा चानचुने कुरा होइन । कसैले पनि आफूखुशी कोटा बढाउन पाउँदैन । यसका लागि विश्वविद्यालयको आफ्नै प्रक्रिया हुन्छ । जथाभावी कोटा बढाउन मिल्दैन,’ डीन पोखरेलले भने । 

355865541_952769512805293_445361199238084007_n355701967_952769589471952_5605179046236315653_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप