आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कडा कारबाही गर्नुपर्छ : प्रदीप पौडेल

आइतबार, १७ असार २०८०, १४ : ४३
आइतबार, १७ असार २०८०

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काग्रेसका सांसद प्रदीप पौडेलले वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।  

सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आइरहेको उल्लेख गर्दै उनले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरालाई कुनै पनि हालतमा क्षमा दिन नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।  

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद पौडेलले वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कारबाही गर्ने खालको कानुन बनाउने कामलाई पनि सरकार र संसद्ले ख्याल नगरेको भन्दै आपत्ति समेत व्यक्त गरे ।  

उनले भने, ‘यो त हामीलाई धेरै अगाडि आवश्यक परेको कानुन हो । नेपालमा लोकतन्त्र आयो, गणतन्त्र आयो । तर त्यो मिटरब्याज पीडितहरुलाई त लोकतन्त्र, गणतन्त्र केही पनि आएको रहेनछ त ? उनीहरु ठगिए । अनि, साहूहरूले के गरेँ भने अदालत नै प्रयोग गरेर उनीहरुलाई थप दुःख दिए । बाउन्च चेकमा हस्ताक्षर गर्न लगाएर उनीहरुलाई थुनाए । अनि मुद्दा दर्ता गराएर अदालतले साहूहरुकै पक्षमा फैसला गराइदियो । त्यसैले त्यस्तो अवस्था अहिलेसम्म हामीले विद्यमान राखेका रहेछौँ । यो संसद् आजमात्रै थिएन । आजभन्दा अगाडि पनि थियो । यत्रो समयसम्म हामीले यो हेरेर बसिरहनुको कारण के हो ? वास्तवमा राज्यले किन यसलाई देखेन ? हामीले राज्यको त्यहाँ किन उपस्थिति गराउन सकेनौं ? त्यत्रो गम्भीर अन्यायमा पर्दा, त्यत्रो ठूलो समस्यामा पर्दा पनि हाम्रो राज्य त्यहाँ उपस्थिति हुन किन सकेन ? संसद्ले त्यसलाई किन ख्याल गरेन ? यो विषय गम्भीर विषय हो भन्ने मलाई लाग्दछ । आज धेरै सहकारी संचालकहरुले ठगेको समाचारहरु बाहिर आएको छ । कुनै पनि देश, जसले वित्तीय अनुशासन कायम गर्न सक्दैन । त्यो देश उँभो लाग्न सक्दैन । समाजको कुनै पनि व्यक्ति, जसले वित्तीय अनुशासन उलंघन गर्छ, त्यो शख्त कारबाहीमा पर्नु पर्छ । ती विषयहरु कतैबाट पनि क्षम्य हुनु हुँदैन । त्यसैले वित्तीय कानुन जति आवश्यक छ, त्यो कानुन हामीले निर्माण गर्न सकिरहेका रहेनछौं । त्यसलाई अनुशासनको दायरा भित्र, कानुनी दायरा भित्र हामीले ल्याउन सकिरहेका रहेनछौं । त्यसैले यो कुरालाई संसद्ले अनि सरकारले दुवैले गम्भीर ढंगले ख्याल गर्न जरुरी छ । एउटा अधिवेशनमा सरकारले कतिवटा विधेयक अनिवार्य रुपमा पेश गर्नुपर्ने हो, त्यो एउटा अनिवार्य संख्या तोकौँ । एउटै विधेयक पेश नगरी संसदको अधिवेशन सकिने कुरा स्वाभाविक हुन सक्दैन । त्यसैले संसद्ले आम नागरिकका बारेमा विधेयक बनाउने, कानुन बनाउने बारेमा जुन ढंगबाट सक्रियता देखाउनुपर्ने हो, त्यो सक्रियता देखाउन सकेको छैन । ’

सांसद पौडेलले सरकार र संसद्ले नागरिकका अतिआवश्यकीय चासोको विषयमा कानुन बनाउने कुरामा ध्यान दिन नसकेको गुनासो समेत गरे । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप