आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा हुने ठगीमा कारबाही गर्ने अधिकार सीडीओलाई दिइने

आइतबार, १७ असार २०८०, १९ : ०८
आइतबार, १७ असार २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) लाई दिने तयारी गरिएको छ । सरकारले हाल वैदेशिक रोजगार विभागमा रहेको उक्त अधिकारी अब देशभरका ७७ वटै जिल्लाका सीडीओलाई दिने तयारी गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ठगीका घटनामा उजुरी दिन विभागमा आउनुपर्ने बाध्यता अन्त्य गर्न लागिएको बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले सीडीओमार्फत कारबाही गर्ने प्रावधान ल्याउन लागिएको बताएका हुन् । 

वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारीको क्रममा हुने ठगीका घटनामा वैदेशिक रोजगार विभागमा मात्र  उजुरी गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा पीडितहरु काठमाडौँ आउनुपर्ने बाध्यता छ । सरकारले ठगीका घटना न्यूनिकरण गर्न तथा पीडितले छिटो, छरितो तथा सहज तरिकाले न्याय पाउनुपर्छ भन्ने मान्यताका साथ सीडीओलाई नै मुद्दाको अनुसन्धान गर्ने अधिकार दिन लागिएको हो । 

त्यसका लागि ऐन संशोधनको प्रक्रियामा रहेको मन्त्री भण्डारीले बताए । 'हामी सेवा प्रवाहलाई आधुनिक सूचना प्रविधियुक्त बनाउँदै लगिरहेका छौं । ठगीका मुद्दामा भने उजुरी दिन काठमाडौँ नै आउनुपर्छ । ७७ वटै जिल्लामा प्रहरीका छन् । सीडीओ कार्यालय छन्,' मन्त्री भण्डारीले भने, 'उनीहरुले नै कारबाही गर्न पाउने भयो नि काठमाडौँ आउनुपर्ने बाध्यता हुन्थ्यो । अहिले विभागमा २० हजार भन्दा बढी उजुरी थन्किएर बसेका छन् । अब सीडीओलाई नै कारबाही गर्ने अधिकार दिने हो ।'  

पछिल्लो समय वैदेशिक रोजगारीमा हुने ठगीका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन् । विशेषगरी एजेन्ट मार्फत यस्ता खालका घटना बढिरहेको पाइएको हो । 

ठगी नियन्त्रण गर्नका लागि विभागले प्रहरीसँगको समन्वयमा छापा मार्ने, ठगी गर्नेहरुलाई पक्राउ गरेर मुद्दा चलाउने जस्ता कार्य गर्दै आएको छ । तरपनि यस्ता घटना दिनप्रतिदिन बढिरहेका छन् । यसलाई रोक्न मन्त्रालयले ऐन संशोधन गरेर कारबाही गर्ने अधिकारी सीडीओलाई समेत दिन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप