आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्टोक्सको शतकका बाबजुद दोस्रो टेस्टमा इंग्ल्याण्ड पराजित

आइतबार, १७ असार २०८०, २१ : ३२
आइतबार, १७ असार २०८०

लर्ड्स । दोस्रो टेस्टमा इंग्ल्याण्डलाई ४३ रनले हराउँदै अस्ट्रेलिया एसेज शृङ्खलामा २–० को अग्रता लिएको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ७१ रनको लक्ष्य पछ्याउने क्रममा आइतबार अन्तिम दिनको खेलमा इंग्ल्याण्ड ३ सय २७ रनमा अलआउट बन्न पुगेको हो ।

सन् २०१९ मा हेडिङ्ग्ले टेस्टको याद दिलाउँदै कप्तान बेन स्टोक्सले शतकीय पारी खेले पनि यसपटक भने टोलीलाई जीत दिलाउन सकेनन् । त्यतिबेला स्टोक्सले नटआउट रहँदै १ सय ३५ रन बनाएर इंग्ल्याण्डलाई १ विकेटको रोचक जीत दिलाएका थिए । यसपटक उनले १ सय ५५ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । 

उनलाई बेन डकेटले ८३ रन बनाउँदै राम्रो साथ दिएका थिए । तर अन्य ब्याट्सम्यानले खासै ठूलो योगदान दिन नसकेपछि टोली हार बेहोर्न बाध्य बन्यो । अस्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र जोस हेजलवुडले ३–३ विकेट लिए भने क्यामरुन ग्रिनले १ विकेट लिए ।

अस्ट्रेलियाले पहिलो पालीमा ४ सय १६ रन बनाएको थियो भने जवाफमा इंग्ल्याण्ड ३ सय २५ रनमा सीमित बनेको थियो । अस्ट्रेलियाले दोस्रो पालीमा २ सय ७९ रन बनाएर अलआउट भएको थियो । पहिलो पालीमा १ सय १० रन बनाएका स्टीभ स्मिथ प्लेयर अफ द म्याच चुनिए ।

एसेजमा २–० ले पछि परेको अवस्थामा मात्र एक टोलीले शृङ्खलामा पुनरागमन गरेको छ । सन् १९३६–३७ मा डन ब्राडम्यानको अस्ट्रेलियाले यो दुर्लभ जीत हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप