आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पूर्वाधार

उजीरसिंह खेलकुद रङ्गशाला निर्माण प्रक्रिया कहाँ पुग्यो ?

सोमबार, १८ असार २०८०, ११ : ०६
सोमबार, १८ असार २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवल उपमहानगर–१३ मा उजीरसिंह खेलकुद रङ्गशाला निर्माणलाई प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । बुटवल उपमहानगरले नै निर्माणका लागि तयारी गरेको अवस्थामा प्रदेश सरकारले उक्त योजनालाई आफ्नै अग्रसरतामा अघि बढाउने चासो देखाएको हो ।

यद्यपि, रङ्गशाला निर्माणका सन्दर्भमा अहिलेसम्म प्रदेश सरकारले संघ र संघ सरकारले प्रदेशको वन मन्त्रालयमा अध्ययनका लागि पत्राचार गर्नुबाहेक अरु काम अघि बढ्न सकेको छैन ।

त्यसो त, प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७९/०८० मा साढे ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । आर्थिक वर्ष २०८०/०८१ का लागि पनि प्रदेश सरकारले साढे ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

2

तर, अहिलेसम्म जग्गा प्राप्तिसमेत हुन नसकेको प्रदेश सरकारको भनाइ छ । जग्गा प्राप्तिका लागि वन मन्त्रालयमा फाइल रोकिएपछि कुनै काम अगाडि बढाउन नपाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गैरेले रातोपाटीलाई बताए ।

उनले रङ्गशालाको जग्गा प्राप्ति र रुख कटानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेर गत वर्ष चैतमा संघीय मन्त्रिपरिषदमा पठाएको जानकारी दिए । उक्त आयोजनालाई संघीय योजना आयोगले पनि उच्च  प्राथमिकतामा राखेको छ ।

4

अहिले वन मन्त्रालयमा रुख कटानसम्बन्धी फाइल अध्ययन हुँदै गरेको अवस्था छ । संघीय वन मन्त्रालय अन्तर्गत वन तथा जलाधार महाशाखा प्रमुख दीपेन्द्र प्रधानले प्रदेश वन मन्त्रालयलाई राष्ट्रिय वनको भोगाधिकार उपलब्ध र सोको सीमामा रहेको रुख तथा कटानको सम्बन्धमा अध्ययन गरेर राय पेस गर्न पत्राचार गरेको रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेश वन मन्त्रालयले संघबाट आएको पत्रको अध्ययन प्रक्रिया सुरु गरेको जनाएको छ । प्रदेशले डिभिजनलाई पत्राचार गर्ने त्यसपछि आएको रिपोर्ट संघको वन मन्त्रालयमा पठाएपछि मन्त्रिपरिषदमा पेस हुन्छ । यी प्रक्रियाका लागि अझै केही समय लाग्ने वन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

1 - Copy

सुरुमा बुटवल नगरपालिकाले उक्त स्थानमा स्थानीय खेलकुद गतिविधि सञ्चालन गर्ने गरी रङ्गशाला बनाउन प्रक्रिया थालेको थियो । तर प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने घोषणासँगै बजेटसमेत छुट्याउने गरेको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले बताए ।

उक्त रङ्गाशालाको डीपीआरमा ३७ करोड लगानीमा व्यवस्थित रङ्गशाला बन्ने उल्लेख छ । तर जग्गा प्राप्तिको काम ढिला भएकाले ठेक्का तथा अन्य निर्माणका काम सुरु गर्न नसकिएको भट्टराई बताउँछन् ।

कस्तो बन्नेछ मैदान ?

पूर्वपश्चिम राजमार्गबाट झन्डै २ किलोमिटरको दुरीमा पर्ने बुटवल–१३ स्थित साढे चार बिगाहा क्षेत्रफलको खेल मैदानलाई उजीरसिंह रङ्गशाला बनाउने लक्ष्य राखिएको छ ।

3

स्थानीय भूपू सैनिक क्लब बुटवलले खेलकुद गतिविधि गर्दै आएको सो मैदानलाई बुटवल नगरपालिकाले उजीरसिंह रङ्गशालाको नामबाट स्तरोन्नति गर्ने योजना बनाएको थियो । त्यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन चारैतर्फ प्याराफिट राख्ने र २० हजार दर्शक अट्ने क्षमताको बनाउने गरी डिजाइन गरिएको छ ।

रङ्गशाला प्रवेशका लागि चार वटा प्रवेशद्वार हुनेछन् । रङ्गशालामा फुटबल मैदानसँगै एथलेटिक्स ट्रयाक हुनेछ । जसमा भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्विमिङ पुललगायतका संरचना पनि बन्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप