आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बाढी पहिरोले सडक मार्ग अवरुद्ध, कति छ खाद्यान्नको भण्डार ?

सोमबार, १८ असार २०८०, १७ : ०६
सोमबार, १८ असार २०८०

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने बताएको छ । देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा ३६ हजार ३ सय ५६ क्विन्टल खाद्यान्न मौजाद छ । त्यस्तै अति दुर्गम तथा दुर्गम जिल्लाहरूमा २५ हजार ५ सय ५ क्विन्टल खाद्यान्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्याङ्क छ ।

प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । हाल २६ हजार ३ सय ७५ क्विन्टल धान मौजाद छ । भारतबाट आयात कोटा अन्तर्गत साल्ट ट्रेडिङमार्फत तत्काल ३४ हजार ३ सय २० क्विन्टल गहुँ तत्काल प्राप्त हुने छ । यसो गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कुल २ लाख ६६ हजार ३ सय क्विन्टल खाद्यान्न मौजाद रहनेछ ।

हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार १०० क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको  जनाइएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लाहरूमा १७ हजार ८ सय ३० मेट्रिक टन खाद्यान्न ढुवानी भएको छ । बढी खाद्यान्न समस्या देखिएको हुम्लामा ४ हजार क्विन्टल कोटा थप गरी हवाई मार्गबाट दैनिक ढुवानी भई वितरण भइरहेको छ ।

बझाङमा पनि १ हजार क्विन्टल कोटा थप गरिएको छ। पूर्वी जिल्लाहरूमा पनि पर्याप्त खाद्यान्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्पष्ट पारेको छ । पालिका स्तरमा भने खाद्यान्न सञ्चिति गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा बिक्री केन्द्रहरूमा खाद्यान्न ढुवानी गरेर वितरण भइरहेको कम्पनीले जनाएको छ ।

चालू आर्थिक वर्षमा हालसम्म पालिका स्तरबाट माग भएका स्थानहरूमा ४७ हजार ३ सय ३४ क्विन्टल चामल वितरण भइसकेको छ । कतिपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ ।

udhog

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप