आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बोर्डको अनुगमन

गार्मेन्टसम्बन्धी तालिम दिने सञ्चालकको धम्की : ‘तालिम क्यान्सिल गराइदिनुहोस्, पछि हेरौँला’

जोर्डनमा भइरहेको आवासीय तालिममा गम्भीर लापरबाही
मङ्गलबार, १९ असार २०८०, १९ : २३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । वैदेशिक रोजगार बोर्डमार्फत अहिले ५०० जना महिलाका लागि गार्मेन्ट मेसिन अपरेटरको तालिम सञ्चालन भइरहेको छ । विभिन्न ९ वटा संस्थामार्फत एक महिने आवासीय तालिम सञ्चालन भइरहेको छ । तर, तालिममा भने गम्भीर लापरबाही देखिएको छ । 

वैदेशिक रोजगारीमा जोर्डनमा जान पाउने गरी प्रदान गर्न लागिएको उक्त तालिमबारे बोर्डले गरेको छड्के अनुगमनको क्रममा तालिम प्रदायक संस्थाले झारो टार्ने काम गरेको देखिन्छ । 

मंगलबार चार वटा टोली बनाएर विभिन्न ८ वटा तालिम प्रदायक संस्थाको अनुगमनमा गएको थियो । अनुगमनको क्रममा बोर्डसँग गरिएको सम्झौताअनुसार तालिम प्रदान नगरेको पाइएको हो । 

निर्देशक रमा भट्टराईको नेतृत्वको टोली टोखा नगरपालिका तारकेश्वरमा रहेको २ वटा तालिम प्रदायक संस्था नवरत्न टेक्निकल ट्रेनिङ सेन्टर र वर्ल्ड लिङ्क टेक्निकल प्रालिमा अनुगमनका लागि पुगेको थियो । 

उनीहरूले ४०÷४० जना गरी ८० जनालाई छुट्टा छुट्टै सिफ्टमा २१ दिने तालिम दिनुपर्ने सम्झौता थियो । तर अनुगमनको क्रममा एउटै भवनमा राखेर तालिम दिइरहेको पाइयो ।

आवासीय तालिम भएकाले तालिममा सहभागी सबैलाई अनिवार्य रूपमा होस्टेल वा होटलमा राख्नुपर्ने भन्ने थियो । तर, केही होटलमा राखिएको थियो भने केही घर वा डेराबाट आउने गरेको पाइयो । 

त्यस्तै बस्नको लागि उपलब्ध गराइएको होटलको अवस्था हेर्दा झनै दयनीय देखियो । तालिम सेन्टरभन्दा झण्डै २० मिनेट टाढा रहेको होटलमा एउटै कोठामा १० जनासम्म राखेको पाइयो । ७ वटा कोठामा ४० जनासम्म राखिएका थिए । जुन मापदण्ड विपरीत भएको निर्देशक भट्टराईले बताइन् । 

यतिसम्म कि तालिममा आउनेहरूले खानासमेत राम्रो नदिने, कपडा धुन टाढा जानुपर्ने, एउटै कोठामा ६÷६ जना सुत्दा अप्ठ्यारो हुने बताएका थिए । 

नवरत्न टेक्निकल ट्रेनिङ सेन्टरमार्फत् प्रदान भइरहेको तालिममा झनै बिजोग देखियो । ४० जनाको ठाउँमा जम्मा २८ जना उपस्थित देखिए । तालिम प्रदायक संस्थाले विविध कारणले आज आउन नसकेको प्रतिक्रिया दियो । तर, हाजिरीमा भने सबै ४० जनाकै हाजिरी गरेको देखियो । 

त्यस्तै, उनीहरूको सैद्धान्तिक कक्षामा समेत न्यून उपस्थिति रहेको पाइयो । मापदण्डअनुसार दैनिक ८ घण्टाका दरले १६८ घण्टा आवासीय तालिम दिनैपर्छ । त्यसमा दैनिक २ घण्टा सैद्धान्तिक कक्षा र ६ घण्टा प्रयोगात्मक कक्षा रहेको छ । तर, उनीहरूले दैनिक ४ घण्टा पनि सिकेको देखिएन । 

तालिमकै लागि रोल्पाबाट काठमाडौँ अस्मिता बुढा पुनले अबको २१ दिन भित्रमा आफूले राम्रैसँग सिकिसक्ने बताइन् । १३ दिनदेखि सिक्दै आएकी आएको उनले भनिन्, ‘२१ दिनभित्रमा तालिम सकिन्छ । त्यो बेलासम्म सबै सिक्छौ भन्नुभएको छ । हेरौं के हुन्छ ।’

कैलालीबाट तालिम लिनकै लागि आएकी पार्वती पौडेलले तालिम लिएपछि वैदेशिक रोजगारीका लागि जोर्डन जाने बताइन् । 

तालिममा सिकेपछि सम्भव भएसम्म विदेशै जाने र कुनै कारणले जान नपाएको खण्डमा नेपालकै काम गर्न उनीहरूको धारणा थियो । 

बोर्डले उनीहरूलाई २१ दिनको तालिमका लागि ३० हजार रुपैयाँ दिनेछ । त्यही आधारमा तालिम प्रदायक संस्थाको प्रतिव्यक्ति प्रतिदिन १ हजार ४२८ रुपैयाँ खर्च हुन्छ । तर, त्यो आधारमा खर्च नगरेको देखिएको बोर्डका अधिकारीहरूले जनाएका छन् । 

Garment training  (4)

सञ्चालकको दादागिरी  

विविध समस्या देखिएपछि बोर्डको टोलीले वर्ल्ड लिङ्क टेक्निकलका सञ्चालक ठाकुर सुवेदीलाई सम्पर्क गरेको थियो । उनीहरूले किन सम्झौताअनुसार तालिम प्रदान नगरेको, मापदण्ड विपरीत किन काम गरेको ? बस्नयोग्य नरहेको होटलमा तालिम लिनेहरूलाई किन राखेको लगायतका प्रश्न गरेका थियो । 

तर, त्यही बेला उनी निकै आक्रोशित देखिए । उनले आफूले हाल बोर्डले उपलब्ध गराएको पैसामा यत्ति मात्रै गर्न सकिने बताए । 

‘छोटो समयमा तालिमको व्यवस्थापन गर्दा धेरै सकिएन । यति थोरै बजेटमा राम्रो होटलमा तालिम दिन सकिँदैन । गार्मेन्टसम्बन्धी तालिम पहिलो पटक दिन लागेकाले व्यवस्थापन गर्न सकिएन,’ सुवेदीले भने ।

त्यही क्रममा निर्देशक अधिकारीले तोकिएको मापदण्डअनुसार गर्न नसकिने भए किन सम्झौता गरेको ? सम्झौतामा उल्लेख भएका कुरा हेरेर नै हस्ताक्षर गरेर अहिले आएर यस्तो कुरा गर्ने भनेर प्रश्न गरिन् । 

त्यही क्रममा उनी आक्रोशित भए । र भने, ‘म यो भन्दा बढी सक्दिन । तालिम क्यान्सिल गराइदिए हुन्छ । पछि जे जे पर्छ, फेस गर्छु ।’ 

त्यसपछि निर्देशक भट्टराईले भनिन्, ‘तपाईँलाई कारबाही गरियो भने भोलि कहीँ कतैबाट फोन नआओस् नि ।’   

जवाफमा सुवेदीले भने, ‘त्यो त हेराैँला ।’

एकछिन आक्रोशित बनेका सुवेदी केही समयपछि भने नम्र भए । र, माफी माग्दै शुक्रबारभित्रमा सबै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । 

‘अघि अन्य कुराको टेन्सनले अलि आक्रोशित भएँ । त्यसका म लागि माफी चाहन्छु । यी समस्याबारे मलाई थाहा थिएन । यसको सम्पूर्ण जिम्मेवारी अन्य साथीहरूलाई दिएको थिएँ ।समस्याबारे मलाई केही जानकारी थिएन । हामी शुक्रबारभित्रमा सबै कुरा सुधार गर्छौ,’ सुवेदीले भने । 

स्रोतका अनुसार सुवेदीको च्यानलमा २०० जना भन्दा बढीलाई गार्मेन्टको तालिम प्रदान भइरहेको छ । यो तालिमका कारण कारबाही गर्ने बित्तिकै अन्यमा समेत निहुँ खोज्ने सक्ने कारणले उनले धम्की दिएको स्रोतको भनाई थियो । 

Garment training  (3)

दलालको सक्रियता  

तालिम चलिरहँदा उनीहरू पनि दलालको फन्दामा परेको देखिन्छ । ‘अस्ति एकदिन एकजना आउनुभएको थियो । उहाँले जसले ५० हजार दिन्छ, उसले पहिलो लटमा जोर्डन जान पाउँछ भन्नु भएको थियो । के यो साँचो हो ?’ उनीहरूको प्रश्न छ ।  

त्यस्तै, वर्ल्ड लिङ्क टेक्निकल सञ्चालक ठाकुर सुवेदीले धेरै व्यक्तिहरूले अग्रिम रूपमा नै पैसा लिइरहेको जानकारी आफूले पाएको बताए । यसले भोलिका दिनमा अर्को विकृति भित्रिन सक्ने उनको भनाई छ । 

Garment training  (5)

बोर्डलाई सिकाई  

तालिम प्रदान गर्दै आएका कुनै पनि संस्थाको आफ्नो ल्याब र होस्टेल छैन । उनीहरूले अन्यसँग सम्झौता गरेर तालिम प्रदान गर्दै आएका छन् । पहिलो पटक सञ्चालन गरिएको तालिममा देखिएका विविध समस्यालाई अर्को पटकका लागि सिकाई भएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । 

अधिकांश तालिम प्रदायक संस्थामा विभिन्नखाले समस्या देखिएको भन्दै अर्को पटक सुुधार गरेर मात्रै तालिम प्रदान गर्ने बताए । 

बोर्डले ५०० महिलालाई गार्मेन्ट क्षेत्रमा दक्ष बनाएर जोर्डन जान सहज बनाउन खोजेको हो । त्यसका लागि देशभरबाट काठमाडौंकेन्द्रीत भएर तालिम सञ्चालन भइरहेका छन् । उक्त तालिमका लागि १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप