आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनमा उम्मेदवार बन्नेहरूले आफू र परिवारका सदस्यको सम्पत्ति विवरण पेस गर्नुपर्ने

मङ्गलबार, १९ असार २०८०, २० : २२
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । निर्वाचनमा उम्मेदवार बन्नेहरूले मनोनयन पत्र पेस गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेस गर्नुपर्ने भएको छ । निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा यस्तो प्रावधान राखिएको हो । 

मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवार बन्नेहरूले मनोनयन पत्र पेस गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेस गर्नुपर्ने र उनीहरूको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था मस्यौदामा गरेको बताए । उनले उम्मेदवारले मनोनयन पत्र पेस गर्दा निर्वाचन प्रयोजनको लागि प्रयोग गर्ने बैंक खाताको विवरण, निर्वाचन प्रयोजनको लागि खर्च गर्ने अनुमानित रकम तथा त्यसको श्रोत उल्लेख गरी निर्वाचन प्रयोजनको लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोग बापत रकम त्यस्तो खातामा जम्मा गर्ने र निर्वाचन प्रयोजनको लागि सोही खाताबाट मात्र खर्च गर्ने कुराको प्रतिबद्धता गर्नुपर्ने व्यवस्था गरिएको जिकिर गरे । 

भण्डारीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । आवधिक निर्वाचन सस्तो र मितव्ययी हुनुपर्छ भन्नेमा कसैको पनि दुई मत छैन । मितव्ययी निर्वाचन भए मात्रै तमाम मतदाताले सोचेको र वास्तवमा नै जनसेवा गर्ने प्रतिनिधि निर्वाचित हुनुहुन्छ भन्ने परिकल्पना हो । हामीले आर्थिक विषयवस्तुलाई पनि दाँजेर हेरेका छौँ । हामीले अहिले निर्वाचनमा उठ्ने उम्मेदवारले आफू र आफ्नो परिवारको सम्पत्ति विवरण पहिला नै पेस गर्नुपर्छ । त्यसको श्रोत पनि पुष्टि गर्नुपर्छ । उहाँले निर्वाचनमा गरेको खर्चको हद नाघ्यो भने उहाँ कारबाहीको भागिदार बन्ने र पद नै खारेज हुनसक्ने अवस्था छ । नयाँ निर्वाचन सम्बन्धी मस्यौदाले कानुनको रूप धारण गरेपछि निर्वाचन खर्चमा अहिले जति पीडादायी आवाजहरू उठेका छन्, यो धेरै हदसम्म नियन्त्रण हुन्छन् । पहिलाको भन्दा नयाँ मस्यौदा आर्थिक रूपमा बढी मितव्ययी हुन्छ भन्ने कुरा हो । पुराना भन्दा धेरै मितव्ययी निर्वाचन ऐन यो बन्नेछ ।’

उनले आयोगले प्रस्तुत गरेको मस्यौदामा मौन अवधि किटान गरिएको र मौन अवधिको समय २४ घण्टाको रहने व्यवस्था गरिएको पनि बताए । अहिले मौन अवधिको समय ४८ घण्टाको रहेको छ । निर्वाचन आयुक्त भण्डारीले नयाँ निर्वाचन मस्यौदामा पहिलो हुने निर्वाचनतर्फ नै ३३ प्रतिशत महिला प्रतिस्पर्धामा जानुपर्ने प्रावधान राखिएको बताए । यस्तै उनले विदेशमा रहेका नेपालीहरूको नाम मतदाता नामावलीमा सङ्कलन गर्ने र नो भोटको व्यवस्था पनि मस्यौदामा राखिएको बताए । 

उनले भने, ‘अहिले हामीसँग प्रचलनमा रहेको निर्वाचनसम्बन्धी ऐन, नियममा ३३ प्रतिशत महिला भनेर सुनिश्चितता ग¥यो । तर प्रतिनिधि सभामा अथवा सबै ठाउँमा कसरी व्याख्या भयो भने महिलाहरू प्रत्यक्ष रूपमा निर्वाचनमा प्रतिस्पर्धामा जान अलिकति कमजोर हो की ? त्यसो भएको हुनाले समानुपातिकतर्फ उहाँहरूलाई राखेर कोटा पुर्‍याऔँ भन्ने किसिमको राजनीतिक दलहरूको सोच रह्यो । सबै ठाउँबाट त्यही किसिमको व्यवहारमा प्रयोग भयो । अहिले हामीले नयाँ मस्यौदामा के गरेका छौँ भने ३३ प्रतिशत महिला प्रतिस्पर्धामा नै जानुपर्छ, उहाँहरू प्रतिस्पर्धा गरेर निर्वाचन विजयी र पराजय भएरै आउनुपर्छ । त्यो भए मात्रै उहाँहरूको हक अधिकार सुनिश्चित हुन्छ, नत्र भने यो समानुपातिक तर्फबाट लिस्टमा हालेपछि विभिन्न किसिमका आरोप, प्रत्यारोप लाग्ने भए । सही ठाउँको महिलाहरूको प्रतिनिधित्व नहुने भयो । त्यसो भएकाले महिलाहरू पनि ३३ प्रतिशत चाहिँ प्रतिस्पर्धामा नै जानुपर्छ भन्ने व्यवस्था मस्यौदामा किटान गरेका छौँ । त्यो नयाँ विषय हो । अर्को विषय भनेको विदेशमा रहेका मतदाताहरूको नाम सङ्कलन भएको अवस्था थिएन । तर उहाँहरूको पनि जति खेरसम्म नेपाली नागरिकता कायम राखेर बस्नुहुन्छ, त्यो बेलासम्म नेपालको निर्वाचनको प्रतिस्पर्धामा मतदान गर्ने अधिकार र आफ्नो प्रतिनिधि चुन्ने अधिकार उहाँहरू पनि हो नि । त्यो अधिकारबाट उहाँहरू वञ्चित भएकाले क्रमशः उहाँहरूलाई कुन कुन मुलुकमा कसरी बस्नुभएको छ । ती मतदाताहरूले विदेशको नागरिकता नलईकन नेपाली नागरिकता लिएर नै म नेपाली हुँ भनेर राष्ट्रिय परिचय नेपालमै कायम राखेर बस्न चाहनुभएको मतदाताहरूको पनि क्रमशः नाम सङ्कलन गर्दै जाने, त्यसको अतिरिक्त सर्वोच्च अदालतबाट कुनै पनि नेपाली नागरिकले प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई म मत दिन्न यिनीहरू कोही पनि मेरो लागि उपयुक्त छैनन्, भनेर नो भोट अर्थात् म मत दिन्न भन्ने अधिकार राख्छ भने उसले मत नदिन पनि पाउँछ, त्यस कारण यो पनि कानुनमा व्यवस्था गर, भनेर गरेको परमादेशलाई समेत आधार मानेर हामीले यो विषयवस्तुसमेत नयाँ ऐनमा, यो मस्यौदामा समेटेका छौँ । यो समेट्नुको अर्थ अहिलेको समाजको माग र विज्ञहरूले देखेको यसको आवश्यकता, विदेशमा रहेका मतदाताहरूको माग यी सबै विषयवस्तु समेटेर हामीले एकीकृत ऐनको मस्यौदा तयार गरेका हौँ । यो मस्यौदा कानुनको रूप धारण गरेपछि प्रचलनमा रहेका ऐनहरू खारेज हुन्छन्, निर्वाचन आयोग ऐन, संशोधन मात्रै हुन्छ, राजनीतिक दल सम्बन्धी ऐन छुट्टै भएको हुनाले यो छुट्टै कायमै रहन्छ । मौन अवधि भनेर अहिले हामीले किटान नै गरेका छौँ, त्यसको समय २४ घण्टा बनायौँ । यो राजनीतिक दल, मतदाताहरूबाट माग भएको हो ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचनसम्बन्धी नयाँ मस्यौदाले आवधिक निर्वाचन सस्तो र मितव्ययी बनाउने दाबी गरे । आयोगको नयाँ निर्वाचन मस्यौदामा प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि निर्वाचन पर्यवेक्षण गर्न जाने निर्वाचन पर्यवेक्षक, विदेश भ्रमण जाने मतदाता, व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारण आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित भई मतदान गर्न असमर्थ हुने मतदाताहरू र निर्वाचनमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीले अग्रिम मतदान गर्न पाउनेछन् । राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था पनि नयाँ निर्वाचन मस्यौदामा समावेश गरेको छ ।

आयोगले मस्यौदामा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन निजको पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि, प्रतिनिधि सभाका सदस्य वा प्रदेश सभा सदस्यको निर्वाचन त्यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार, राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिना अघिको पहिलो आइतबार र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरूको निर्वाचन निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिना पछिको पहिलो आइतबार हुने व्यवस्था गरेको छ । 

त्यस्तै निर्वाचन हुने मितिले ९० दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनिने व्यवस्था गरिएको छ । त्यस्तै मस्यौदा विधेयकमा संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप