आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

‘समाजवादी मोर्चा निर्माणपछि विप्लवका बारेमा अझ स्पष्ट भएका छौं’

‘संसदीय राजनीतिबाट समाजवादमा पुगिन्छ भन्नु ‘कुतिको बाटो समाएर काशी’ पुगिन्छ भनेजस्तै होः’धर्मेन्द्र बास्तोला
बुधबार, २० असार २०८०, ०७ : २४
बुधबार, २० असार २०८०

तत्कालीन मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेका छन् । पार्टी एकता गरेको झण्डै दुई महिनासम्म पार्टी एकता प्रक्रिया टुंगिएको छैन । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन बलियो कम्युनिस्ट पार्टी बनाउन खोजिएपनि खासै प्रभाव जमाउन सकेको छैन । यसै प्रसंगमा समाजवादी मोर्चा, पार्टी एकता, भावी योजना र कार्यक्रमका विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलासंग रातोपाटीकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसंग एकता गर्नुभयो । अब के प्रक्रिया मिलाउन बाँकी छ ?
हामी अहिले पार्टी एकताकै प्रक्रियामा छौं । प्रदेश स्तरको एकताको प्रक्रियामा पुगिएको छ । प्रदेश स्तरको यो अधिवेशन सकिएपछि संगठन विस्तारको प्रक्रियामा लागिने छ । पार्टीको एकता महाधिवेशन एक वर्षभित्रै गर्ने समझदारी भएको हो । यो वर्षको अन्तिमसम्म एकता महाधिवेशन हुन सक्छ ।

पार्टी एकता भएपछि गतिविधि झन् बढ्नुपर्नेमा उल्टै पार्टी शून्य जस्तै  हुन पुगेको छ नि?
हो, पार्टी एकताको प्रक्रिया तलसम्म पुर्याउन सकिएको छैन । अझै केही समय लाग्न सक्छ । त्यसपछि केही संघर्षका कार्यक्रम बनाइएको छ । राष्ट्रियता, जनजीविका, जनतन्त्रसंग सम्बन्धित कार्यक्रमहरु छन् । त्यसपछि पार्टीको सक्रियता देखिएला । 

अहिले विप्लव नेतृत्वको नेकपाबाट अलग भएर गल्ती गरिएछ, त्यहीँ पार्टीमा बसेको भए हुन्थ्यो भन्ने लागेको छैन ?
त्यस्तो केही छैन । विप्लवजीहरु संसदीय राजनीतिमा लाग्ने भएपछि उहाँबाट अलग भएका हौं । त्यो बेलामा मान्छेहरुले बुझ्दै बुझेनन् । अहिले धेरैले प्रष्टसंग बुझ्ने मौका पाए । बरु विप्लवको वारेमा अझ स्पष्ट भएको छाैँ । 

विप्लवहरुले तपाईंहरुले आकलन गरे बमोजिम ठिक गर्दैछन् भन्ने हो ?
समाजवादी मोर्चा एउटा घटनाक्रम भयो । हामीले मुख्य कुरा उहाँले संसदीय राजनीतिमा क्रान्ति सम्भव छैन, त्यसको अन्तिम गन्तव्य संवाद हो भन्ने हाम्रो निष्कर्ष हो, यो प्रमाणित हुँदैछ । 

क्रान्ति गर्न सम्भव छैन भन्ने भएपछि अन्ततः जाने संसदमै हो । यदि तपाईंमा कार्यनीति छैन भने भएको कार्यनीतिको दास बन्ने अनिवार्य हुन्छ भन्ने वैज्ञानिक मान्यता हो । क्रान्तिकारीहरुको क्रान्ति गर्न कार्यदिशा हुनुपर्छ । क्रान्ति सम्भव छैन भन्ने भएपछि संसदबाटै जाने हो । त्यो बाहेक अर्को कुरै हुँदैन । 

राजतन्त्रात्मक व्यवस्था भएको भए राजा मान्ने भन्ने हुन्थ्यो । अहिले राजतन्त्रात्मक व्यवस्था छैन । अहिले दलाल पुँजीवाद संसदीय व्यवस्था भएपछि अन्ततः दलाल संसदीय पुँजीवादी व्यवस्थामा जाने कुरा भयो । अर्थात्उहाँहरु संसदवादी हुनु थाल्नुभयो । 

विप्लवसँग केही समय अघि तपाईंको भेट भएछ, के-के कुरा भयो ?
भेटघाट सबैसँग हुन्छन् । प्रचण्डजीसँग भेटघाट भइराखेको छ । अरु साथीहरुसंग भेटघाट भइरहन्छ । भेटघाटमा समसामायिक विषयमा कुरा हुने भइहाल्यो । अरु यस्तै राजनीतिक विषयमै कुरा हुन्छ । विप्लवजीसंग सौहार्दपूर्ण रुपमा भेटघाट भयो । उहाँसंग राजनीतिक विषयमा मतभेद हुने नै भयो ।  

तपाईंहरु ‘हामीलाई फर्काउन वातावरण बनाई दिनु पर्यो’ भन्न थाल्नु भयो भनेर विप्लवहरु भन्न थालेका छन् । के त्यस्तो भन्नु भएको हो र ?
यो हास्यास्पद कुरा हो । त्यस्तो कुरा भएको छैन, त्यस्तो कुरा हुँदैन । त्यो बेकार कुरा हो । 

डा. बाबुराम भट्टराई, विप्लवलगायत नेतृत्वका माओवादी धारहरु एकता गर्नुपर्छ भन्न थाल्नु भएको छ । तपाईंहरुलाई माओवादी धार एकता हुँदै ध्रुवीकरणमा जानुपर्छ भन्ने लाग्दैन ?
माओवादी धार एक ठाउँमा आउनुपर्छ भन्ने त हो । सबैभन्दा पहिला माओवादी धार एकता हुन माओवाद हुनुपर्यो । माओवाद छोडेकाहरुले माओवादी धारको एकता गर्नुको अर्थ छैन । बाबुराम जस्ता जसले माओवाद छाडेको छ, उनी जस्ताले माओवादी धार एक ठाउँमा आउनुपर्छ भन्नुको अर्थ छैन ।

माओवाद मान्नेहरु एक ठाउँमा आउनुपर्छ भन्नु बेग्लै कुरा भयो । नभए माओवादीहरु एकता वा ध्रुवीकरण गर्नुको खासै अर्थ छैन । 

माओवादी,एकीकृत समाजवादी,जसपा, नेकपालगायत दलहरुले समाजवादी मोर्चा बनाएर समाजवादमा पुग्ने उद्देश्य बनाएकोलाई कसरी लिनु भएको छ ?
यसरी मोर्चा बनाएर समाजवामा पुग्नु भएछ भने राम्रै हुने भयो । तर, यो तरिकाले समाजवादमा पुगिँदैन । संसदीय राजनीतिबाट समाजवादमा पुगिन्छ भन्नु ‘कुतिको बाटो समाएर काशी’ पुगिन्छ भनेजस्तै कुरा हो । 

त्यसो भए यो मोर्चा किन बनाइयो होला भन्ने लाग्छ ?
यो मोर्चा बनाउनुको ध्येय संसदीय चुनावमा बढी भन्दा बढी भोट ल्याउन सकिन्छ कि भन्ने हो । अरु खासै अर्थ हुँदैन भन्ने लाग्छ । संसदीय विचार मान्नेहरुको, एउटै विचार मान्नेहरुको धु्रवीकरण हो भन्न सकिन्छ । हामीसंग सहकार्य गर्न धेरै यता आउनुपर्छ । हामीसंग मोर्चाबन्दीमा आउन राजनीतिक, वैचारिक, सांस्कृतिक धेरै ठूलो छलाङ बदल्न सक्नुपर्छ । यति सजिलै हुने कुरा होइन ।

अहिलेको राजनीतिक, आर्थिक, सामाजिक संकटमा निकास दिन दीर्घकालीन महत्वको मोर्चा हो भनेका छन् । यस्तोमा तपाईंहरु पनि किन सामेल नहुने?
मोर्चा निर्माण गरेकोलाई राम्रो काम भन्न सक्नुहोला । तर, यसले मात्रै राम्रो हुँदैन । समाजवाद स्थापना गर्नुपर्यो । त्यसका लागि आर्थिक आधार तयार गर्नुपर्यो । त्यो ल्याउन राजनीतिक रुपमा बदलाव ल्याउनु पर्ने हुन्छ । संसदीय व्यवस्थामै भएकाहरुको इच्छा चाहना भएपनि समाजवादमा पुग्न सम्भव छैन । 

माओवादीहरु विभाजित हुँदा फाइदा अरु पार्टीहरुले उठाए । माओवादी शान्ति प्रक्रियामा आएको १६ वर्ष पुग्दासमेत संक्रमणकालीन न्याय टुंगो लागेको छैन । देश यस्तो लथालिङग हुनुमा तपाईंहरुको फुट पनि कारक हो भन्न मिल्छ कि मिल्दैन ?
यस्तो जे जे भइराखेको छ, यो हामी विभाजित भएको कारणले होइन । जतिबेला १२ बुँदे समझदारी हुँदै ८ बुँदे सहमति भयो । यो सहमतिमै संसदवादको पुनस्र्थापनामा गयो । विघटित संसदको पुनस्र्थापना भनेको दलाल पुँजीवाद पुनस्र्थापना थियो । जनयुद्धले ध्वस्त पारेर समाजवाद स्थापना हुनु पथ्र्यो । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग सहमति हुँदा प्रचण्डहरुले संसदीय व्यवस्थाको पुनस्र्थापना गर्ने भनेपछि यो सबै विग्रेको त्यहीँबाट हो । त्यसैले, यी सबै परिणामहरु त्यो खालको सहमतिले ल्याएको हो । हामी विभाजित हुँदा अरुले फाइदा लिएको होइन कि यस्तो हुन पुगेपछि अरुले फाइदा लिएका हुन् ।

संक्रमणकालीन न्याय टुंगो लाग्न नसक्दा जनयुद्धकालीन धेरै मुद्दाहरु नियमित अदालतमा जान थालेपछि तपाईंहरु के गर्नुहुन्छ ?
हामीले संघर्ष गर्नुको विकल्प छैन । देशमा जबसम्म परिवर्तन आउँदैन, तबसम्म संघर्ष गर्ने हो । अरु विकल्प के छ र ?

देशमा एकपछि अर्को गर्दै संकटै संकट आइराखेका छन् । यस्तो अवस्थामा कस्तो नीति अख्तियार गरेर जाने तयारीमा हुनुहुन्छ ?
नेपालमा जबसम्म वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुँदैन, जबसम्म यस्ता संकटहरु आइराख्छन् । त्यो बेलासम्म जनताले चाहेर नचाहेर संघर्षमा जानुपर्ने अनिवार्य बन्छ । यसलाई संगठित रुपमा अगाडि बढाए वैचारिक, राजनीतिक परिवर्तन ल्याउँछ । संघर्ष जति छिटो गरिन्छ, त्यति छिटो परिवर्तन आउँछ । हामी र हाम्रो पार्टी जाने भनेको त्यहीँ नै हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप