आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘हामी सुध्रिएनौँ भने ०८४ मा टिकट लिने मान्छे पाउँदैनौँ’

पार्टीमा सबैको रोइलो छ, सभापतिको आफ्नै रोइलो छ : श्यामकुमार घिमिरे
बुधबार, २० असार २०८०, १४ : ०५
बुधबार, २० असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले सभापति शेरबहादुर देउवाको विकल्प खोज्न पार्टीमा सहज नरहेको बताएका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेदवार दिने कुरामा पनि घिमिरेलाई विश्वास छैन ।

देउवाले पहिलो कार्यकालको कमजोरी नसुधारेको भन्दै कांग्रेसको क्षयीकरण भइरहेको घिमिरेको भनाइ छ । प्रतिनिधिसभा सदस्य समेत रहेका घिमिरेले कांग्रेसबाट मन्त्री बनेकाहरुको पर्फमेन्स पनि राम्रो नभएको बताए । नेतृत्व सुध्रिन तयार नभए २०८४ को निर्वाचनमा कांग्रेसले उम्मेदवार पनि नपाउने अवस्था आउने उनको टिप्पणी छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद घिमिरेसँग सरकारको काम, कांग्रेसभित्रको अन्तरविरोध लगायतका विषयमा रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

मन्त्रिपरिषद्मा कांग्रेसको सबैभन्दा बढी सहभागिता छ । तर कांग्रेसका मन्त्रीहरुको काम कारबाही देखिने र सुनिने खालको छैन । यस्तो किन भइरहेको छ ?

कांग्रेसका मन्त्रीहरुको पर्फमेन्स एकदम राम्रो भन्ने अवस्था छैन । बजेट निर्माणमा देखिएको असन्तुष्टिले पनि कांग्रेसलाई राम्रो गरेन । अरु मन्त्रालयको कार्य प्रदर्शन पनि प्रभावकारी देखिएको छैन । तर, सरकारमा सहभागी भएको तीन महिनामै समग्र मूल्याङ्कन गरिहाल्ने अवस्था भएको छैन । अहिलेसम्मको काम कारबाही सन्तोषजनक भने छैन ।

सरकारको नेतृत्व धिमा हुँदा यो अवस्था आयो कि कांग्रेसले लायक मान्छेलाई मन्त्री बनाएन ?

सरकारको नेतृत्वका आफ्नो समस्या र कमजोरी होलान् । तर, नेपाली कांग्रेस प्रमुख सत्ता साझेदार दल भएकाले हामीले हाम्रो ढंगको पर्फमेन्स शो गर्न सक्नुपर्थ्यो । तर, अहिले नै निराश हुनुभन्दा पनि यो गतिलाई सुधार गर्न आवश्यक छ ।

अस्ति (पुस १० मा) हामीले यही भोकले गर्दा एकपटक बुमर्‍याङ खाइसक्यौं । केही नेताको बुद्धिमानी प्रयासले हामीलाई ट्रयाकमा ल्याएको छ । फेरि अर्को जोखिम लिएर जाँदा उत्पन्न हुन सक्ने खतरालाई कसले मोलिदिने ?

सरकारको आयुमाथि पनि शंका उब्जिरहेको देखिन्छ । यसले मन्त्रीहरुलाई काम गर्न कठिन भएको मान्नु हुन्छ ?

अहिले सरकार परिवर्तनको हल्लाले मन्त्रीहरुलाई काम गर्न बाधा पुगेको म मान्दिनँ । सरकार परिवर्तनको हल्ला यो देशकमा दैनिक चलिरहन्छ । तत्काल सरकार परिवर्तनको कुनै सम्भावना छैन । बारम्बार सत्ता र राजनीतिक समीकरण परिवर्तन गर्ने हामीलाई छुट पनि छैन । त्यसमा पनि कांग्रेसलाई त झनै छैन ।

जे सहमति भएको छ, त्यही अनुसार अगाडि बढ्नुको कांग्रेससँग विकल्प छैन । तर, कांग्रेसका मन्त्रीलाई कार्य दक्षतामा तीब्रता ल्याउन नसकेकोमा सरकार परिवर्तनको हल्लालाई कारण देखाएर उम्किने छुट छैन ।

सरकार परिवर्तनको सम्भावना छैन भन्नुभयो । सरकार परिवर्तन त तपाईंका पार्टी सभापति शेरबहादुर देउवामा प्रधानमन्त्री बन्ने भोक कति चाँडो जाग्छ भन्नेमा निर्भर देखिन्छ । अहिले उहाँमा छैटौं पटक प्रधानमन्त्री बन्ने भोक जागेको छैन भन्ने हो ?

त्यो भोक जागेको छ या छैन, त्यो मलाई थाहा छैन । राजनीति भनेको इच्छाले मात्र हुँदैन परिस्थितिले निर्धारण गर्छ । अस्ति (पुस १० मा) हामीले यही भोकले गर्दा एकपटक बुमर्‍याङ खाइसक्यौं । केही नेताको बुद्धिमानी प्रयासले हामीलाई ट्रयाकमा ल्याएको छ । फेरि अर्को जोखिम लिएर जाँदा उत्पन्न हुन सक्ने खतरालाई कसले मोलिदिने ? हिजोकै खतरा भोलि दोहोरिँदैन भन्ने के ग्यारेन्टी छ ? त्यसैले मलाई लाग्छ यसमा सभापति गम्भीर पनि हुनुहुन्छ । उहाँले यो कुरा बुझ्नु भएको छ ।

कांग्रेसमा देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको छ । पार्टीभित्र यसले बहसका रुपमा स्थान पाएको हो ?

पार्टीमा बहस पक्कै पनि आरम्भ भएको छ । तर, हामीले एउटा कुरा बुझ्न जरुरी छ । सम्भावना के छ ? हाम्रो पार्टीको विधान अनुसार ४ वर्षमा अधिवेशन गर्ने भनिएको छ । कांग्रेस केन्द्रीय समितिको निर्णयबाट विशेष परिस्थितिमा एक वर्ष म्याद थप्न पाइन्छ । संविधानले थप ६ महिना थप्ने सुविधा दिएको छ । हामीले यसअघिको अधिवेशन पनि साढे पाँच वर्षमै गरेका हौं । सभापतिको चाहना बिना नेतृत्व बदल्ने सम्भावना नै देखेको छैन । सभापतिले कसैलाई कार्यवाहक दिन तयार हुनुपर्‍यो वा त राजीनामा दिन तयार हुनुपर्‍यो ।

पर्दा बाहिरको दृश्य एउटा हुनसक्छ भने पर्दाभित्रको दृश्य अर्को हुन सक्छ । उपसभापति पूर्णबहादुर खड्का सभापतिको ‘राइट ह्यान्ड’ हुनुहुन्छ भन्ने लाग्दैन ।

संस्थापन पक्षका केही नेता पनि देउवाको विकल्प खोज्ने आन्तरिक रणनीतिमा हुनुहुन्छ भन्ने सुनिन्छ । तपाईंहरु पनि नेतृत्व बदल्ने दिशामा जाँदा त असम्भव छ र ?

केन्द्रीय समितिमा अहिले उहाँको प्रचण्ड बहुमत छ । तर, केन्द्रीय समितिमा बहुमत गुमाउनु भए पनि उहाँ आफैँमा निर्वाचित सभापति हो । उहाँ केन्द्रीय सदस्यले छानेको सभापति होइन । केन्द्रीय समितिमा अल्पमतमा पर्नु भए पनि आफ्ना निर्णय पास गराउन नसक्नु होला । तर, सभापतिबाट उहाँलाई हटाउन सकिँदैन । यद्यपि महामन्त्रीले प्रश्न जबरजस्त उठाउनु भएको छ । पार्टीका प्रभावशाली नेताहरुले कुरा उठाइराख्नु भएको छ । यसलाई हल्का रुपमा लिनु हुन्न भन्ने मेरो मान्यता छ । तर मैले बाटो सहज देखेको छैन ।

कांग्रेसभित्र उपसभापति पूर्णबहादुर खड्कालाई सभापति देउवाको ‘राइट ह्यान्ड’का रुपमा हेरिन्छ । देउवाले खड्कालाई कार्यवाहक दिने सम्भावना कति देख्नुहुन्छ ?

देखिने र यथार्थ फरक हुनसक्छ । पर्दा बाहिरको दृश्य एउटा हुनसक्छ भने पर्दाभित्रको दृश्य अर्को हुन सक्छ । उपसभापति पूर्णबहादुर खड्कालाई सभापतिको ‘राइट ह्यान्ड’ हुनुहुन्छ भन्ने लाग्दैन । सभापतिजीले उहाँलाई कार्यवाहक सभापति दिनुहुन्छ भन्नेमा मलाई फिटिक्कै विश्वास छैन ।

पछिल्लो समय सभापति देउवा र उपसभापति खड्काबीच दुरी बढेको हो ? त्यसको संकेत गर्न खोज्नु भएको हो ?

दुरी बढेको त म भन्दिनँ । उहाँहरुबीचको अन्तर सम्बन्ध पनि मलाई धेरै थाहा छैन । तर, उपसभापति पूर्णबहादुर खड्का पार्टीमा सबैले आशा गरेको नेता हो । उहाँले भने अनुसार पार्टी चलेको भए पार्टीको अवस्था यही रही रहँदैन थियो भन्ने मलाई लाग्छ ।

महाधिवेशन आउन अझै तीन–चार वर्ष बाँकी छ । कांग्रेसभित्र यो समयमा खोलामा कति पानी बग्ने हो र कति खिचडी पाक्ने हो, अहिले भन्न गाह्रो छ ।

आज डेढ वर्ष भयो । पार्टीका कुनै पनि निकायले पूर्णता पाएको छैन । पार्टीको केन्द्रीय समिति बैठक ११ महिनादेखि बसेको छैन । यी सबै कुरामा पूर्णबहादुर खड्का यति गैरजिम्मेवार बन्नुहुन्छ भन्ने म विश्वास गर्दिनँ । पार्टीमा उहाँको पनि चलिरहेको छैन होला ।

महामन्त्रीजीहरु त बोलिरहनु भएको छ । उपसभापतिजी बोल्नु हुन्नँ । फरक यति मात्रै होला । पार्टी सञ्चालनको तौर तरिकाप्रति उहाँ सन्तुष्ट हुनुहुन्छ भन्ने मलाई लाग्दैन ।

देउवाको उत्ताधिकारी हुने लोभले पूर्णबहादुर खड्का मौन रहनु भएको हो कि ?

उहाँको स्वभाव पनि अलि भिन्न खालको हो । मैले बुझे अनुसार कसैका विरुद्धमा बोल्ने उहाँको स्वभाव पनि होइन । धेरै बोल्ने उहाँको बानी छैन । सभापतिजीले उत्तराधिकारी बनाउने विषयमा उहाँ कति आशावादी हुनुहुन्छ, उहाँलाई नै थाहा होला ।

मलाई थाहा छैन । महाधिवेशन आउन अझै तीन–चार वर्ष बाँकी छ । कांग्रेसभित्र यो समयमा खोलामा कति पानी बग्ने हो र कति खिचडी पाक्ने हो, अहिले भन्न गाह्रो छ । त्यसैले पूर्णबहादुर खड्काजी पनि यसमा धेरै आशावादी हुनुहुन्छ जस्तो लाग्दैन ।

पछिल्लो समय शेरबहादुर देउवा र शेखर कोइराला नजिक हुँदै गएपछि पूर्णबहादुर खड्का बिस्तारै टाढिँदै गएको चर्चा छ । कांग्रेसभित्रको समीकरण फेरिने संकेत देखिएको हो ?

यो कुरा व्यापक रुपमा आएको छ । यसो हेर्दा व्यवहारमै हो कि भन्ने हामीलाई पनि लागिरहेको छ । जबसम्म त्यो कुरालाई उहाँहरुको एक्सनमा देखिँदैन, तबसम्म बोलिहाल्न मिल्दैन । पोलिटिक्समा एक्सनले जस्टिफाइ गर्ने हो । बजारको हल्ला र केही घटनाक्रमले नयाँ समीकरणको संकेत गर्दछ ।

पार्टीको मर्यादा क्रममा पेलिएका शेखर कोइरालालाई सार्वजनिक मञ्चमा दोस्रो वरीयताको आसन दिइने गरिएको छ । कोइरालालाई पदाधिकारीभन्दा अगाडि राखिएको कार्यक्रममा देउवाले पनि सहजै मञ्च शेयर गर्नु भएको छ । यो एक्सन होइन र ?

शेखर कोइरालालाई २६ औं वरीयतामा राख्नु गलत थियो । त्यो वरीयताक्रम पनि मिलेको थिएन । उहाँ सभापतिमा दोस्रो भोट ल्याएको उम्मेदवार हो । उहाँलाई त्यति तल राख्न आवश्यक थिएन । किन राखियो, थाहा छैन । अब उहाँलाई कुन वरीयताक्रममा राख्ने भन्ने कुरा पार्टीले निर्णय गर्नुपर्छ । यसै राख्नु पनि राम्रो कुरा होइन । कम्तीमा केन्द्रीय कमिटीले स्वीकार गर्नु परेन ? निर्णय गराएर मर्यादापूर्ण ढंगले लान सकियो भने डा. शेखर कोइराला, सभापतिजी र पार्टीका लागि पनि उत्तम हुन्छ ।

उपसभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई साथमा लिएर मोर्चा बनाउन खोजेपछि देउवाले कोइरालालाई साथमा लिएको जस्तो लाग्दैन ?

त्यो पनि हुन सक्छ । राजनीतिमा चल्ने कुरा हुन् । बजारको हल्ला, पार्टीका केही गतिविधि र भ्रातृ संस्था निर्माण कुरामा आशंका गर्ने ठाउँ पर्याप्त छ । संकेत पनि त्यस्तै देखिन्छ । तर, धेरै कुरा अहिले भन्न राम्रो नहोला ।

सभापतिले मुख्य पदाधिकारीलाई नै बाइपास गरेर हिँड्न खोज्दा पार्टी सही ढंगले अगाडि बढ्ला ?

हाम्रो पार्टीलाई पद्धतिमार्फत चलाउने कुराको विकास गर्नै पर्छ । यहाँ बिपी कोइराला, किसुनजी, गिरिजाबाबु जस्तो स्वीकारोक्ति भएको नेता हुनुहुन्न । पार्टीलाई पद्धति अनुसार चलाइएन भने कसैलाई स्वीकार्य हुँदैन । पार्टी दैनिक रुपमा क्षयीकरण हुँदै गएको कुरा सत्य हो । यो क्षयीकरणलाई बचाउनका लागि कांग्रेसले कुनै उपाय निकाल्नै पर्छ ।

पार्टी क्षयीकरणको कारण के के देख्नुभएको छ ?

पहिलो कारण हामीले पार्टीलाई पद्धति अनुसार चलाएनौं । दोस्रो कुरा, बिपी कोइराला, किसुनजी लगायतले हाँकेको पार्टी आज भ्रष्ट संस्थाका रुपमा चिनिन थाल्यो ।

मलाई यस्तो भन्न कुनै अप्ठ्यारो लाग्दैन । किन भयो यस्तो ? कांग्रेसमाथि लागेको सबैभन्दा ठूलो आरोप भनेको कुशासनको आरोप हो । कांग्रेस, एमाले, माओवादी कुशासनका जड हुन् भन्ने सन्देश जनतामा जाँदा रास्वपाले यो अभिमत पाइराखेको छ । त्यसकारण नयाँ पार्टी बलिया भएर आएका हुन् । आज केन्द्र, प्रदेशमा हामी सहभागी सरकार छ । आधाभन्दा बढी स्थानीय तह हामीले जितेका छौं । हामी आज पनि सुधार र सुशासनको बाटोमा गयौं भने समय पर्याप्त छ । हामी सुध्रिनुपर्छ ।

पार्टीमा सबैको रोइलो छ । सभापतिको आफ्नै रोइलो छ, उपसभापतिजीहरुको आफ्नै रोइलो छ, महामन्त्रीजीहरुको त्यस्तै रोइलो छ ।

सुधारको संकेत देखिएको छ र ?

यही त समस्या छ । सुध्रिने संकेत देखिएको छैन ।

महाधिवेशनबाट सभापतिमा देउवा दोहोरिए पनि पदाधिकारी तथा कार्यसमिति समावेशी, सन्तुलनपूर्ण र युवामुखी देखिँदा कांग्रेसमा उत्साह थियो । तर २० महिनामै सबै हरायो । १४ औं महाधिवेशनबाट आएको कार्यसमिति नै पंगु बन्दै गयो, हैन ?

पार्टीमा सबैको रोइलो छ । सभापतिको आफ्नै रोइलो छ, उपसभापतिजीहरुको आफ्नै रोइलो छ, महामन्त्रीजीहरुको त्यस्तै रोइलो छ । हामी केन्द्रीय सदस्यको त कुरै नगरौँ । केन्द्रीय समितिमा बोलाए जाने हो । कुनै काम दिए गर्ने हो । हाम्रो मिटिङ नै नबसेको ११ महिना भयो । पदाधिकारीहरु त बेला बेला पदाधिकारी बैठक भनेर बस्नुहुन्छ । कार्यसम्पादन समिति भनेर बस्नुहुन्छ । तर सभापतिको भूमिका मुख्य हुँदो रहेछ । कांग्रेस जस्तो पार्टीमा फस्र्ट म्यान नभएर काम गर्न सम्भव छैन ।

देउवाको दोस्रो कार्यकाल पनि असफल रहने निष्कर्षमा पुग्नु भएको हो ?

पहिलो कार्यकालमा जे जस्तो भएको थियो । त्यसमा कुनै पनि सुधार आएन । दोस्रो कार्यकालमा परिवर्तन र सुधारको अपेक्षा गरिएको थियो । त्यो देखिन ।

तपाईं देउवालाई दोस्रो पटक पनि सभापति जिताउन लाग्नुभयो । जुन अपेक्षाका साथ मत दिनु भएको थियो, त्यो गलत ठाउँमा परेछ भन्ने लागेको हो ?

अहिले नै त्यो निष्कर्षमा पुगिसकेको छैन । तर, यही तरिकाले अगाडि बढ्दा त्यो निष्कर्षमा पुग्नुपर्ने बाध्यता हुन्छ ।

सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टहरुले विशेष महाधिवेशनको माहोल सिर्जना गर्ने सम्भावना कति छ ? पार्टी सुधारका लागि सुधार चाहने पदाधिकारी र तपाईंहरुले पनि त्याग गर्नुपर्ने होला नि ?

अहिले त्यतातिर गइसकेको अवस्था छैन । विस्तारै के के हुन्छ, हेर्दै जाऔं । तर आजकै दिनमा त्यो अवस्था आइसकेको छैन । राजनीतिमा धेरै कुरा विस्तारै हुँदै जान्छ । हामी सच्चिएनौं भने २०८४ मा कांग्रेसको टिकट लिने मान्छे पाइँदैन । २०८४ को चुनावमा टिकट लिएर कसले लडिदिन्छ ? मैले त नेताहरुलाई यही भनेको छु । हिजोसम्म हामी तपाईंहरुकहाँ टिकट माग्न गयौं । भोलि तपाईंहरुले हामीलाई टिकट लैजाओ भनेर बोलाउनुपर्ने स्थिति हुन्छ । यही ताल हो भने २०८४ को चुनाव लड्न को तयार हुन्छ ? अहिलेको जमानामा चुनाव लड्न महँगै छ । सजिलो छैन ।

सभापतिले ११ महिनासम्म केन्द्रीय समितिलाई बेवस्ता गर्नुभयो । तपाईंको कुरा सुन्दा अब केन्द्रीय सदस्यले पार्टी सभापतिलाई बेवास्ता गर्ने परिस्थिति बन्दै गएको हो ?

त्यो त भइहाल्छ नि । सम्बन्ध दोहोरै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप