प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री चौधरी
बुधबार, २० असार २०८०, १७ : ३७
तुल्सीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उनीहरुका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए ।
त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार राखे । “प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ”, उनले भने, “यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।” साथै उनले सभामा मर्यादित भाषामा बोल्न सुझाव दिए । मुख्यमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पनि छलफलमा भाग लिएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।