आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्री भर्सेस डीजी

दोधारमा प्रधानमन्त्री प्रचण्ड

मन्त्री किराती बोक्ने कि महानिर्देशक अधिकारी ?
बुधबार, २० असार २०८०, १७ : ४९
बुधबार, २० असार २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटार पुगे । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको एजेन्डा बोकेर भेट्न पुगेका किरातीले प्रधानमन्त्रीको सकारात्मक जवाफ पाएनन् ।

अधिकारीको बर्खास्तीको विषयमा ‘के रहेछ, म अध्ययन गर्छु, अनि स्टेप चालौंला’ भन्ने प्रधानमन्त्रीको जवाफ सुनेपछि मन्त्री किराती मन अमिलो पारेर फर्किए । उनी निराश मुद्रामा निर्धारित राष्ट्रिय सभाको बैठकमा पुगे । 

प्रधानमन्त्री प्रचण्डको जवाफपछि मन्त्री किरातीले थाहा पाए कि महानिर्देशक अधिकारीलाई सामान्य ढंगले बर्खास्त गर्न सकिँदैन । प्रधानमन्त्रीलाई एक/दुई दिन पर्खिने र चित्त बुझ्दो एक्सन नपाए कारणसहित अधिकारी बर्खास्तीको प्रक्रियालाई मन्त्रिपरिषद्मा लैजाने तयारी किरातीले गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई किरातीले ‘मेरो गल्ती कमजोरी भए मलाई कारबाही गर्नुपर्‍यो, होइन भने विभागीय मन्त्रालयको मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ दिन्न भन्ने अधिकारीलाई कारबाही गर्नुपर्‍यो’ भनेर सुझाव दिएका थिए ।

तर प्रधानमन्त्रीले ‘अध्ययन गर्छु’ भन्ने जवाफ दिएपछि मन्त्री किराती सशंकित बन्न पुगे । प्रधानमन्त्री प्रचण्डमात्रै होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासँग पनि अधिकारीको सम्बन्धका बारेमा किराती जानकार छन् ।

स्रोतले भन्यो, ‘सहसचिवस्तरको कर्मचारीले विभागीय मन्त्रीलाई च्यालेन्ज गर्नु भनेको सानो कुरा होइन, ठूलै राजनीतिक शक्तिकेन्द्रको आड नभई कसैले यो साहस गर्न सक्दैन ।’

यसरी सुरु भयो किराती र अधिकारीबीच द्वन्द्व

मन्त्री किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिएको केही दिनमा अधिकारी मन्त्रालय पुगेका थिए । किरातीले नागरिक उड्डयन क्षेत्र सुधारका लागि आफूलाई राम्रो रिजल्ट चाहिने निर्देशन दिए । आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने सन्देश दिएका किरातीले नेपालको विमानस्थललाई कालोसूचीबाट हटाउन सक्दो प्रयास थाल्न निर्देशन दिएका थिए । भेटमा किरातीले प्राधिकरणलाई जसरी पनि टुक्र्याउने सन्देश अधिकारीलाई दिएका थिए । तर, अधिकारी प्राधिकरण टुक्र्याउने पक्षमा थिएनन् ।

महालेखा परीक्षकको कार्यालयले पोखरा क्षेत्रीय विमानस्थलको कार्यालयको रन–वे बनाउँदा भएका बदमासीलाई उल्लेख गरेर प्रारम्भिक प्रतिवेदन तयार गरेको थियो । तर, उक्त प्रतिवेदन अधिकारीकै जोडबलमा सच्याएको पाइएको छ ।

यसअघिका मन्त्री प्रेम आलेले नियुक्त गरेका महानिर्देशक अधिकारीले किरातीको धम्कीपूर्ण निर्देशनलाई वास्ता गरेनन् । बरु शक्तिकेन्द्र धाउन थाले । किराती प्राधिकरणमै पुगेर उड्डयन क्षेत्रको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) ले प्रतिवेदनमा उल्लेख गरेको विषय सम्झाए । आईकाओले प्राधिकरणलाई टुक्य्राउनुपर्छ भनेर प्रतिवेदनमै उल्लेख गरेको थियो । तर, अधिकारीले मानेनन् । किरातीले ‘आईकाओको प्रतिवेदन विपरीत गएर आकाश सफा गर्न सकिन्छ भने लाग तर, सरकारले गरेको कामको विरुद्धमा नजाउ, अड्काउने काम नगर’ भन्ने निर्देशन दिएका थिए ।

आईकाओले अडिट रिपोर्टमा लेखेको पत्रका बारेमा समेत अधिकारीले मन्त्रीलाई रिपोर्टिङ गरेनन् । तर, मन्त्री किरातीले पत्र पाइसकेका थिए । जेठको अन्तिम सातातिर अधिकारी मन्त्रालयमै पुगे । मन्त्री किरातीले मन्त्रालयमै पुगेका अधिकारीलाई ‘प्रधानमन्त्री हिँडेको बाटो म हिँड्नुपर्छ, म हिँडेको बाटोमा तिमी हिँड्नुपर्छ र म हिँडेको बाटोमा तिमी हिँड्दैनौ भने तिम्रो र मेरो यात्रा सँगै नहुन सक्छ’ भनेर पठाएका थिए । जवाफमा अधिकारीले मन्त्रीलाई प्रभावमा पार्न खोजेको स्रोत बताउँछ । यसका लागि पूर्व मन्त्री प्रेम आलेको समेत सहयोग महानिर्देशक अधिकारीले लिएको बताइन्छ ।

यही बीचमा मन्त्री किरातीले अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधे । शक्तिकेन्द्रमार्फत अधिकारीले किरातीको स्पष्टीकरणको जवाफ नदिने निर्णय गरे । बरु अधिकारीले सूचना पाए, आवश्यक परे प्रधानमन्त्री प्रचण्डले किरातीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाउँछन् । यस्तो सूचना पाएपछि अधिकारी टसमस भएनन् ।

मंगलबार प्रधानमन्त्री भेट्न पुगेका किरातीले सकारात्मक जवाफ नपाएपछि उनले अधिकारीको ‘रवाफ’ बारे चाल पाए । अब सजिलो ढंगले अधिकारीलाई कारबाही गर्न सकिँदैन भन्ने सुइँको पाएपछि किराती ‘पर्ख र हेर’ को नीतिमा छन् ।

स्वायत्त हो भन्दैमा मन्त्रीको निर्देशन नमान्ने हुन्छ र ?

सुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

खासमा मेरो र महानिर्देशक अधिकारबीच कुनै व्यक्तिगत दुश्मनी छैन । मैले उहाँलाई मेरो स्प्रिट अनुसार काम गर्नुस् र मन्त्रालयको कामलाई हस्तक्षेप नगर्नुस् भनेर पहिल्यैदेखि भन्दै आएको थिएँ । उहाँ भौतिक निर्माणको काममा धेरै लाग्नुभयो । मैले उत्पादनमूलक काममा जोड दिनुस् । अर्बौं रुपैयाँ खर्च गरेर बनाएका संरचनाले दिने उत्पादन के हो भनेर मैले उहाँलाई सोध्न नपाउने हो ? लुम्बिनी विकास कोषलाई स्पष्टीकरण सोधेँ, नेपाल वायु सेवा निगमका हाकिमलाई सोधेँ । उहाँहरुले जवाफ दिनुभयो । अधिकारीले जवाफ दिनै नहुने कारण के हो ? जबकि प्राधिकरणको बोर्ड अध्यक्ष मै हो, विभागीय मन्त्री मै हो । उहाँले त मलाई सहयोग गर्ने हो । अब सार्वजनिक रुपमै जवाफ दिन्नँ भनेर हिँड्दै गर्दा मैले उहाँसँग काम गर्ने वातावरण रहँदैन ।

प्रधानमन्त्रीज्यूलाई स्पष्ट कुरा राखिसकेको छु । अब के गर्ने/नगर्ने म परामर्शमै छु ।

मन्त्रीज्यू र म बाझेर देशलाई घाटा पुर्‍याउनु भएन

प्रदीप अधिकारी, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

म र मन्त्रीज्यू बाझेर देशलाई घाटा पुर्‍याउने काम नगरौं । म शुक्रबार पत्रकार सम्मेलन गरेर सबै कुरा क्लियर पार्छु । जे भए पनि मन्त्रीज्यू बोर्डको अध्यक्ष पनि हुनुहुन्छ । उहाँको निर्णयलाई मैले सम्मान गर्नुपर्छ । उहाँलाई मैले जवाफ दिनुपर्छ । हुँदै नभएको कुरामा मलाई र मन्त्रीज्यूलाई जोड्ने काम भयो । हामी बीचमा फाटो ल्याएर राम्रो हुँदैन । घर डढाएर खरानी बनाउने काम भयो । मलाई धेरै तनाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप