सामन्ती चिन्तनविरुद्ध एकजुट हुनुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजमा रहेका विद्यमान सामन्तवादी चिन्तनको विरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन् ।
जसपाद्वारा आयोजित जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा बाल्दै उनले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए ।
जातीय विभेदलाई संवैधानिक रुपले दण्डनीय मानिएको भन्दै अध्यक्ष यादवले अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधको रुपमा लिएको बताए । विभेदहरु कानुनमा मात्र लेखेर नहुने बताउँदै उनले जातीय विभेद जहाँ जुन रुपमा छ त्यसलाई जरैदेखि उखालेर फ्याल्नुपर्ने बताए ।
अध्यक्ष यादवले अब कुन जातमा जन्म्यो, कुन कुलमा जन्म्यो भनेर हेर्ने युगको समाप्त भइसकेको टिप्पणी गरे ।
समाजका विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदभावका विरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए ।