आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्य प्रदेश पिसाब काण्ड : पीडित आदिवासीलाई मुख्यमन्त्रीले खुट्टा धोए, टिका लगाए, सल ओढाएर सम्मान गरे

बिहीबार, २१ असार २०८०, १४ : ४८
बिहीबार, २१ असार २०८०

भारतको मध्य प्रदेशको सिधिमा घटित एक पिसाब काण्डका आदिवासी युवक र उनको परिवारलाई  मुख्यमन्त्री शिवराजले बिहीबार सीएम हाउसमा भेटेका छन् । मुख्यमन्त्रीले पीडित आदिवासीलाई हात समातेर भित्र लगे । कुर्सीमा बसाले । खुट्टा धोए, आरती गरे र टिका लगाइदिए । 

उनले सल ओढाएर पनि सम्मान गरे । उनले पीडितसँग माफी माग्दै भनेका छन्, ‘म यो घटनाले दुःखी छु । तपाईंसँग माफी माग्छु । तपाईंहरु जस्तो मान्छे मेरा लागि भगवान् जस्तै हुनुहुन्छ ।’

यो घटना सार्वजनिक भएपछि शिवराजले भनेका थिए, ‘आरोपीले यस्तो सजाय पाउन्, जुन उदाहरण बनोस् । कारबाहीपछि ट्विट गरियो, ‘राष्ट्रिय सुरक्षा कानुन लगाइयो, डोजर पनि चलाइयो । आवश्यक परे अपराधीलाई जमिनमा गाडिदिने छौँ ।’

आरोपी प्रवेश शुक्लालाई मंगलबार अबेर राती पक्राउ गरिएको थियो । उनी हाल जेलमा छन् ।

पीडितलाई मुख्यमन्त्रीले भने, ‘सुदामा, अब तिमी मेरो साथी’

पीडित आदिवासीलाई मुख्यमन्त्री शिवराज सिंह चौहानले सुदामा भनेर सम्बोधन गरे । उनले भने, ‘तिमी अब मेरो साथी हौ । ’ शिवराजले उनीसँग थुप्रै विषयमा चर्चासमेत गरे । उनले सोधे, ‘के गर्छौ ? घर चलाउने माध्यम के हो ? कस्ता योजनाको लाभ पाइरहनुभएको छ ? छोरीले लक्ष्मी र श्रीमतीले लाडली बहना योजनाको लाभ पाइरहेका छन् कि छैनन् ? ’ 

उनले छोरीलाई पढाउन पनि आग्रह गरे । 

मुख्यमन्त्रीसँग पीडितकी श्रीमतीले भनिन्, ‘हामीलाई पैसाको लोभ छैन’

मुख्यमन्त्रीले पीडितकी श्रीमतीसँग पनि कुराकानी गरेका छन् । उनले भने, ‘यी मेरा भाइ हुन् । तिमी मेरी बहिनी हौ, कुनै चिन्ता नगर । तिमीलाई घर दिलाउनु छ, काम धन्धा गर । यसका लागि पैसाको बन्दोबस्त पनि मिलाइरहेको छु । पीडितकी श्रीमतीले मुख्यमन्त्रीलाई भनिन्, ‘हामीलाई पैसाको कुनै लोभ छैन ।’

आरोपी प्रवेशको घरमा चल्यो डोजर: कांग्रेसले भन्यो, ‘पूरा घर भत्काऊ’

आदिवासीमाथि नशाले मात्तिएका बेला पिसाब फेरिदिने भाजपा नेता प्रवेश शुक्लाको घर बुधवार प्रशासनले तोडिदिएको छ । कांग्रेसका नेता राती पीडितको घरमा धर्नामा बसे । उनीहरुले आरोपीको घर पूर्ण रूपमा भत्काउन माग गरिरहेका थिए । भाजपा सांसद केदार शुक्ला पनि पीडितको घर पुगेका थिए । 

बुधवार आरोपी प्रवेशको घर भत्काउन पुगेको डोजर देखेर आरोपीकी आमा र काकी बेहोस भए । घरको करिब एक तिहाइ हिस्सा अवैध भएको र त्यसलाई भत्काइएको बताइएको छ । 

प्रहरीका अनुसार आदिवासी माथि पिसाब फेरेर घटना एक वर्ष पुरानो हो जुन अहिले भाइरल भइरहेको छ । 

प्रहरीले भिडियो नयाँ वा पुरानो जे भए पनि भाजपा कार्यकर्ताले निकै घिनलाग्दो काम गरेको बताउँदै आरोपीलाई पक्राउ गरिएको जानकारी दिएको छ । 

कतिले भिडियो एक वर्ष पुरानो भएकोले यसलाई अहिले भाइरल बनाउनुको मनसाय के हो भनेर प्रश्नसमेत गरिरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप