आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवा पलायन, रोजगारी सिर्जना र राज्यको दायित्व

शुक्रबार, २२ असार २०८०, ११ : ३७
शुक्रबार, २२ असार २०८०

युवा देशका संवाहक हुन् । विश्वको गाइडलाइन अनुसार १८ देखि ४० वर्ष उमेर समूहका व्यक्ति युवाभित्र पर्दछन् । युवा वर्तमानका साझेदार, भविष्यका आधार र भरोसा हुन् । आँट, धैर्यता र साहसी युवा शक्ति नै देश विकासका बलिया स्तम्भ हुन् । युवा जुरमुराएर उद्यममा लागे मात्र समृद्ध राष्ट्र निर्माण हुन सक्छ । तसर्थ युवा राष्ट्रका अमूल्य सम्पत्ति हुन् ।

नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा बिदेसिएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवा बिदेसिने थिएनन् । अहिले हाम्रा गाउँबस्ती युवाविहीन बन्दै गएका छन् । काम गर्ने जनशक्तिको अभाव छ । कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् । तर युवा जति युवा कतार, दुबई र मलेसिया पुगेका छन् । ती देशलाई समृद्ध बनाइरहेका छन् । 

संसारका विकसित देशको इतिहास हेर्ने हो भने युवाको श्रम र पसिनाबाट नै समृद्धि हासिल गरेका छन् । हामी भने युवालाई मुलुकबाहिर पठाएर समृद्धिको कुरा गरिरहेका छौँ । एसियामा विकासको मोेडेलको चर्चा गर्दा जापान, चीन, सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया अग्रपङ्क्तिमा आउँछ । ती सबै मुलुकले दुई दशकको अवधिमै आफूलाई विकसित देशको सूचीमा पुर्याए । त्यसका लागि उनीहरूले युवा जनशक्तिलाई स्वदेशमै विकास निर्माणका काममा परिचालन गरे । नेपाल सरकारले भने वैदेशिक रोजगारीलाई समृद्धिको माग ठान्दै प्रवद्र्धन गरिरहेको छ । 

बेरोजगारी समस्याको विकल्प वैदेशिक रोजगारी नभएर स्वदेशमै रोजगारीको अवसर सिर्जना र उद्यमशीलता हो भन्ने बुझ्न जरुरी छ । सीपयुक्त उद्यमशीलता, रोजगारी र जिम्मेवार नागरिकका रूपमा विकसित हुने अवसर दिने दायित्व राज्यको हो । देशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ राज्य जिम्मेवार बन्न जरुरी छ । 

संवैधानिक तथा कानुनी व्यवस्था

राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण तयार गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गरिने भन्ने संवैधानिक व्यवस्था  छ । 

यस्तै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नं. २२५०, दिगो विकास लक्ष्यहरू र युथ भिजन–२०२५ ले युवाको विकास र सहभागितामा जोड दिँदै आएको छ । यो सन्दर्भमा युवा विकास र सहभागिताका लागि एकीकृत कार्यढाँचा निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ । बौद्धिक सम्पत्तिको सम्मान गरेर समृद्ध बनेका देशहरु जस्तै– भियतनाम, चीन, कोरियालगायतको मोडल अपनाएर युवाशक्तिको उपयोग गर्न सकिन्छ । राष्ट्रिय स्वाभिमानमा अडेको विकास मात्र दिगो हुन्छ भन्नेतर्फ नीति निर्माताहरुले सोच्नै पर्छ । 

राज्यले युवालाई मध्यनजर नगरी बनाएका नीति नियमले देश समृद्ध हुन सक्दैन । युवा पङ्क्तिको सोच र मागलाई सम्बोधन गर्छु भनेर नेतृत्वमा गरेका वर्गले समयमै यसबारे विचार विमर्श गर्न ढिलो गर्नुहुँदैन । 

नेपाली युवा र राज्यका अवसरका बीचमा राष्ट्रिय युवा परिषद्ले कार्य गरिरहेको छ । जनसाङ्ख्यिक लाभको सदुपयोग गरी सकारात्मक सोचका साथ स्वःस्फूर्त युवाको परिचालन अपरिहार्य छ । आगामी दिनमा राष्ट्रिय युवा परिषद्लाई युवा र अवसरको बाटो देखाउने केन्द्र, युवा स्वयं सेवा परिचालन केन्द्र, युवा मार्गदर्शन र परामर्श केन्द्र, युवा नवप्रवर्तन केन्द्र, युवा सूचना केन्द्र, युवा नेतृत्व क्षमता विकास तथा सहजीकरण केन्द्र, उद्यमशीलता विकास, असल अभ्यास तथा सिकाइ र युवा सहायता केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ । युवा उद्यमशीलतासहितको नीति आत्मसात् गर्दै राज्यले युवा उद्यमशीलताको प्रभावमा बढवा दिनुपर्छ । 

युवा अवस्था मानिसको सबैभन्दा बहुमूल्य गुण भएको अवस्था भएकाले नै उसले आफूलाई मात्र होइन, समुदाय र विश्वलाई नै आफ्नो रचनात्मक क्षमताबाट खुसी बनाउन सक्छ । सुन्दर बनाउन सक्छ । त्यसका लागि अब युवालाई रोजगारीको खोजीमा नभई रोजगारी सिर्जनाकर्ता बनाउनु पर्छ । हामीले हाम्रो व्यावसायिक र सीप सञ्जाललाई महत्त्वाकाङ्क्षी बनाउन आवश्यक छ । धेरै युवा कर्मचारी बन्न चाहन्छन् भने त्यसले देशमा रचनात्मक रूपमा फरक पार्दैन । यसबाट त उपभोग्य अर्थतन्त्र बन्छ । रोजगारदाता अर्थतन्त्र बनाउनु, उद्यमशील अर्थतन्त्र बनाउनु नेपालको आजको आवश्यकता हो । समृद्ध नेपाल निर्माणका लागि युवालाई नेतृत्व गर्न सक्षम, उद्यमी बनाउनै पर्छ । 

राज्यले चाल्नुपर्ने कदम

युवालाई देशभर प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ । युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने, परम्परागत पेसा र व्यवसायको जगेर्ना गर्दै व्यवसायीकरणमा युवालाई सहयोग गरेमा युवा उत्प्रेरित हुनेछन् । त्यसैगरी युवामैत्री उद्यमशीलतासम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पुँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण राज्यले सिर्जना गर्नुपर्छ । राज्यले बैंक तथा वित्तीय संस्थाबाट युवालाई उद्यम तथा व्यवसाय सञ्चालनका लागि विनाधितो सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने, स्थानीय, प्रदेश र केन्द्रीय स्तरमा इनोभेटिभ प्रस्तावहरूको आह्वान गरी कार्यान्वयन गर्नुपर्छ । 

सरकार एक्लैको प्रयासबाट उद्यम व्यवसाय प्रवद्र्धन हुँदैन । त्यसका लागि सार्वजनिक–निजी साझेदारीको एवं अन्तरनिकाय समन्वय र सहकार्य बढाउँदै लैजाने नीति राज्यले तय गर्नुपर्छ । तीनै तहका सरकार, निजी क्षेत्र सबैको सामूहिक प्रयास र योगदानले मात्र उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न सकिन्छ । 

नेपालले युवालक्षित केही कार्यक्रम सञ्चालन गरेको छ तर ती सफल हुन सकेका देखिँदैनन् । युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, गरिबी निवारण कोषलगायतका कार्यक्रम सञ्चालित हुन्छन् ।  यिनको उद्देश्य युवालाई उद्यमी बनाई रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने देखिन्छ । युवालाई सस्तो ब्याजदरमा ऋण दिई विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने लक्ष्य पनि राखिएको छ । तर विडम्बना त्यो सबै कागजी रूपमा मात्र देखिएको छ ।  वास्तविक लक्षित समूहमा यी कार्यक्रम प्रायः असफल छन् । राजनीतिक पहुँच र सेटिङका आधारमा छनोट हुँदा लक्षित कार्यक्रमहरू असफल भएको देखिन्छ । 

आफूले आर्जन गरेको ज्ञानलाई हामीले व्यवहारमा उतार्न सक्यौँ र आफ्नो जोस जाँगरलाई राष्ट्रनिर्माणमा लगायौँ भने ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराले सार्थकता पाउने छ । विकास र उन्नति सबैको चाहना हो र त्यो चाहना पूरा गर्न सक्ने क्षमता युवाशक्तिमै छ । 

सरकारले युवा रोजगारीको नयाँ अवसरका लागि तत्काल कृषि र पर्यटनमा नै लगानी बढाउन आवश्यक छ । कृषिमा युवाको आकर्षण बढाउन व्यावसायिक कृषिमा जोड दिनु जरुरी छ । त्यसका लागि युवालाई ज्ञान, सीप, पुँजी र प्रविधि हस्तान्तरण गर्नुपर्छ । 

कृषि व्यवसाय सुरु गर्ने युवालाई राजस्व छुट दिने, कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने, कृषि बिमा तथा अनुदानको व्यवस्था गर्ने, विदेशबाट फर्केर आएका युवालाई सीपका आधारमा व्यवसायी कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन तहमै आउनु जरुरी छ । त्यसैगरी कर्जाको ब्याज मिनाहा गर्ने, कृषिमा अनुसन्धान गर्न चाहने युवालाई अध्ययन तथा अनुसन्धान रकम उपलब्ध गराउने गर्दा कृषि व्यवसायमा युवाको आकर्षण बढ्छ । 

पर्यटन व्यवसाय युवाका लागि अर्काे विकल्प हुन सक्छ । पर्यटन गाइडका लागि तालिम, होमस्टेका लागि अनुदान सहयोग, साहसिक खेलहरूको प्रवद्र्धन, नयाँ पर्यटकीय गन्तव्यको खोजी, इको टुरिजममा जोड, पर्यटकका लागि सुरक्षित वातावरण निर्माणबाट ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । यसबाट वार्षिक लाखौँ युवालाई स्वदेशमै रोजगारी दिने वातावरण निर्माण हुन्छ । समयमै वैदेशिक रोजगारीको परनिर्भरता कम गर्न सकिएन भने भविष्यमा यसले भयावह स्थिति सिर्जना गर्ने छ । 

हामीसँग केही कुराको कमी छैन । खाँचो छ भने केवल उद्यमशील सोचको । युवामा काम गर्ने जोससँगै नवीन सोच र क्षमतासमेत हुन्छ । मरुभूमिलाई हराभरा पार्न अनि समुन्दमा बस्ती बसाल्न सक्छन् । 

यस किसिमले हरेक दृष्टिकोणले हेर्दा देश विकासमा युवा उद्यमशीलताको अतुलनीय भूमिका रहन्छ । युवालाई बाहिर राखेर समृद्धिको कुरा गर्नु दिवा स्वप्न मात्र हो । जबसम्म विकासको मूल प्रवाहमा युवालाई प्रत्यक्ष सहभागी गराउन सकिँदैन तबसम्म मुलुक समृद्धिको दिशामा अघि बढ्न सक्दैन । तसर्थ पुँजी र प्रविधिका साथसाथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न सकेमा विकासले गति लिन सक्छ । यसका लागि सरकारले युवामैत्री उद्यमशीलताको वातावरण र्सिजना गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसूदन उपाध्याय
मधुसूदन उपाध्याय
लेखकबाट थप