आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’

शुक्रबार, २२ असार २०८०, १६ : १३
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रबार बिहान नेपाली टोली स्वदेश फर्किएको हो । 

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए । प्रशिक्षक देसाईले लक्ष्य प्राप्ति नभएपनि केही खेलाडीहरूको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे ।  

भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बाबे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा नै स्थान बनाउन असफल रह्यो । सातौं स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तर पराजित हुन पुग्यो । छनोटमा आशाअनुरूपको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रविरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको भनाइ छ । 

खेल अगाडि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहेपनि उनीहरू र आफूहरूबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ । नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको बताए ।  

नेपालका युवा अलराउण्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गरे । यद्यपि, उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ । उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको गुलसनको विश्वास छ ।

विश्वकप छनोटका लागि जिम्बाब्वे पुगेको नेपाली टोलीले कुल ६ खेल खेल्दा दुई नतिजा मात्र आफ्नो पक्षमा पारेको थियो । तीन वटा टेस्ट राष्ट्र जिम्बाबे, वेस्ट इण्डिज र आयरल्याण्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एक मात्र एशोसिएट राष्ट्र नेदरल्याण्डसँग पनि हार व्यहोरेको थियो । बाँकी दुई वटा एसोसिएट राष्ट्र संयुक्त अरब इमिरेट् (युएई) र अमेरिकासँग भने नेपालले जित निकाल्यो । 

नेपालले केही दिन आराम गरेपछि एसिसी इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका जानेछ । एशिया कपमा नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालको समूह ‘बी’ मा युएई पनि छ । जुलाई १४ मा पाकिस्तानबिरुद्धको खेलसँगै नेपालले एशिया कपको यात्रा थाल्नेछ । यद्यपि, उक्त खेलमा नेपाली टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी अनुपस्थित रहने कप्तान रोहित पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप