आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : स्वप्निल प्रेमका तरंगहरू

शनिबार, २३ असार २०८०, १३ : ११
शनिबार, २३ असार २०८०

म तिमी हिँड्ने गोरेटो छुनलाई मात्र
मीठो निदलाई त्यागेर
मीठो सपनाको बलिदान दिएर
सूर्यको आगमनभन्दा पहिले पुग्न सक्छु
तिमी हिँडेको गोरेटोलाई छुन ।

म तिमीले पाइला टेकेको धरातल छुनकै लागि
सयौँ कठिन यात्रा पूरा गर्ने साहस राख्न सक्छु,
म तिमीलाई एक निमेष देख्नका लागि
लाखौँ पाइला चाल्ने हिम्मत राख्छु ।

म तिम्रो एक मुस्कान देख्नका लागि
हजारौँपटक रुन अनि रेटिन सक्छु
म तिम्रो एउटा सानो खुसीका लागि
हजारौँपटक छुटिन अनि मेटिन सक्छु ।

साँच्चै, त्यो धरातल जहाँ मेरो सम्पूर्ण जीवन थियो,
म तिम्रो खुसीका लागि एक निमेषमा त्याग्न सक्छु ।

मलाई अझै पनि याद छ तिमी मुस्कुराएको
जुन मुस्कानको सामीप्यता पाउन
म पुनर्जीवन जन्मिन चाहन्छु
म तिम्रो खुसी साट्न चाहन्छु 
आफ्ना सबै मुस्कानसँग 
तिम्रो एक स्पर्शको निमित्त
लाखौँपटक टुट्न तयार छु ।

अफसोस 
तिमीलाई मेरो निश्चल प्रेमको अनुमान छैन
तिमीलाई मेरो प्रतीक्षा पनि छैन
किनकि म वारि किनारको माझीसरि छु,
तिमी पारि किनारको बटुवा ।

यो माझीले अझै आफ्नो जीवनको डुंगामा
धेरै यात्रा तय गर्नुछ
धेरै छालहरू तरेर आफ्नो गन्तव्यमा पुग्नुछ 
तिमीलाई प्रश्न नगरी पनि म नतमस्तक छु
तिम्रो प्रेमको समीपमै नपुगी
म प्रेमरूपी सागरमा डुबिरहेछु ।

ओहो, यो निराकार प्रेमको
किन यति ठूलो परिधि ?
जहाँ छन् जीवन पूरै रंगाइदिन सक्ने सपनाका लहरहरू
जहाँ छन् जीवन्त अनगिन्ती मिठा सपनाहरू
जहाँ छन् निस्वार्थ जिजीविषाहरू
जहाँ छन् अदृश्य रोमाञ्चक कल्पनाका तरंगहरू ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशिला शर्मा
सुशिला शर्मा
लेखकबाट थप