आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करार नवीकरण नगरे पीएसजीले एम्बाप्पेलाई बिक्री गर्ने

शनिबार, २३ असार २०८०, १४ : ०१
शनिबार, २३ असार २०८०

पेरिस । किलियान एम्बाप्पेले अर्को सिजन फ्रि–ट्रान्सफरमा रियल मड्रिडसँग आबद्ध हुने निर्णय गरिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आशङ्का गरेको छ । एम्बाप्पेलाई पीएसजीले सोमबार पत्र पठाउँदै यो महिनाको अन्त्यमा करार थप नगरे यही ट्रान्सफर विन्डोमा सबैभन्दा ठुलो रकम अफर गर्ने जुनकुनै क्लबलाई बेच्ने चेतावनी दिएको हो । करार थप नगरेको खण्डमा पीएजसीले एम्बाप्पेलाई जतिसक्दो चाँडो, जुनसुकै क्लबमा बेच्ने छ ।

स्काई स्पोर्टका अनुसार यो सम्भावित ट्रान्सफरमा भावनाभन्दा पनि रकमले भूमिका खेल्नेछ । यसअघि पीएसजीले रियल मड्रिडसँग कुनै पनि ‘व्यवसाय’ नगर्ने बुझिएको थियो । तर, एम्बाप्पेले करार नवीकरण नगर्ने भए, क्लबले उनलाई जुनसुकै क्लबलाई पनि बेच्ने निर्णयमा पुगेको हो । क्बलले फ्रेन्च स्ट्राइकरका लागि १५ करोड पाउन्ड आसपासको रकम माग गर्ने बुझिएको छ ।  सोमबारको पत्रमा पीएसजीले एम्बाप्पेलाई उनको करार नवीकरण नगर्ने निर्णयले ठुलो क्षति पुगेको बताएको थियो । क्लबले करार नवीकरण गर्न आग्रह गर्दै ‘उनी र उनको परिवारलाई सहयो गर्ने’ क्लबलाई सहयोग गर्न अपिल गरेको थियो ।

बुधबार लुइस एनरिकेलाई क्लबको नयाँ म्यानेजरको रूपमा प्रस्तुत गर्दै पीएसजीका अध्यक्ष नासेर अल–खेलाफीले भने, ‘मेरो अडान स्पष्ट छ । म यो कुरा बारम्बार दोहोर्‍याउन चाहन्नँ । यदि किलियान बस्न चाहन्छन् भने उनले नयाँ करार गर्नुपर्छ ।’ ‘हामी विश्वकै उत्कृष्ट खेलाडीलाई सित्तैमा गुमाउन चाहँदैनौँ । हामी यो गर्न सक्दैनौँ,’ उनले भने, ‘उनले पनि म सित्तैमा जाँदिन भनेका थिए । यदि उनले आफ्नो मन परिवर्तन गरे भने यो मेरो गल्ती होइन ।’

एम्बाप्पेको करार अर्को वर्ष सकिँदैछ जसमा थप एक वर्ष करार थप्ने विकल्प छ । तर, एम्बाप्पेले करार नवीकरण गर्न अस्वीकार गरेका छन् । यसको अर्थ उनी अर्को सिजन फ्रि–ट्रान्सफरमा रियल जाने तयारी गरेका छन् ।  २४ वर्षीय खेलाडी सन् २०१७–१८ सिजनमा मोनाकोबाट ऋणमा पीएसजी आइपुगेका हुन् । उनले पहिलो सिजन नै २७ खेलमा १३ गोल गरेका थिए । सन् २०१८ मा क्लबले उनलाई अनुबन्ध गरेको थियो । उनले त्यसयता १४९ खेलबाट १३५ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप