आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे

शनिबार, २३ असार २०८०, १९ : ३०
शनिबार, २३ असार २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उनले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताए । ‘सभामुखलाई आफ्नो पक्षमा आफ्नो सोचमा ल्याउनका लागि सबैले भन्छन्, यो त के हो भने खेलाडीहरुले मेरो पक्षमा एम्पायरले निर्णय दिनुपर्यो भनेर आग्रह गरेजस्तो मात्रै हो । त्यस्तो हुँदैन, इस्युमा विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भूमिका हुन्छ,’ उनले भने, ‘त्यो भूमिकाका लागि मैले आफ्नो सक्दो कोशिसहरु गरिरहेको छु ।’

उनले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद सुचारु गर्न आग्रह गरेको बताए । साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने कारण के हो ? भनेर प्रश्न गरेको बताए ।

जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले सो विषयलाई गम्भीरताका साथ लिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताउनुभएको पनि उनले जानकारी दिए । प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री दाहाललाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसदको गतिरोध हट्ने विश्वासमा आफू रहेको घिमिरेले बताए ।

उनले सभामुखको भूमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने स्थान संसद बन्न नदिने बताए । सभामुख घिमिरेले इस्यु उठिसकेपछि त्यसको समाधान गरेर नै संसदका काम अघि बढाउन आफूले चाहेको र सोही अनुसार पहल गरिरहेको उल्लेख गरे ।

‘यो इस्युलाई समाधान गर्ने वा इस्युलाई थाँती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाउँ भन्ने ठाउँमा ल्याउन उहाँहरुको बीचमा समझदारी हुनुपर्छ ।  पहिलो कुरा त राजनीतिक पार्टीले नै यो जिम्मेवारी निर्वाह गर्नेगरी सोच्नुपर्छ’ सभामुखले भने, ‘दोस्रो कुरा २० गतेपछि सदन चल्न नसकेपछि मैले सहजीकरण, मध्यस्थताको रुपबाट उहाँहरुलाई बसौँ, बस्नुस्, छलफल गरौँ, गर्नुस्, भनेर निरन्तर कोशिसमा छु । मैले दलका नेताहरुलाई सम्पर्क गरिरहेको छु ।’ उनले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासँग पनि कुराकानी भैरहेको बताए । 

केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरुसँग धाउनुभएको थियो भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बिरोध जनाउँदै आएका छन् ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्नै नसक्ने बताउँदै संसद अवरोध गर्दा संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध हुँदै आइरहेको छ । यता, सत्ता गठबन्धन भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेर बसेको छ भने प्रतिपक्ष दलहरु प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभएको भन्दै बिरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप