आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीन–इयू व्यापार असहमति बढ्दो, युरोपेली संघका विदेश मामिला प्रमुखको भ्रमण रद्द

आइतबार, २४ असार २०८०, १५ : २७
आइतबार, २४ असार २०८०

बेइजिङ । चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो । 

चीनका लागि युरोपेली संघका राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न भोलि असार २५ गते बेइजिङमा अवतरण गर्ने कार्यक्रम रहेकामा त्यो रद्द भएको बताएका छन् । चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानवअधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’ मा काम गरिरहेका थिए । 

चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली संघले औपचारिकरूपमा जनाएको छ । तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन । चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ । नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको संघका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् । 

यसैबीच, चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले पनि इयुसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउँदै दुवै पक्षलाई सहज हुने मितिमा उच्च प्रतिनिधि बोरेललाई चीनमा स्वागत गरिने स्पष्ट गरेका छन् । इयूसँग विभिन्न क्षेत्रमा र सबै तहमा भ्रमण आदानप्रदान गर्न चीन इच्छुक रहेको बताउँदै उनले ब्रसेल्ससँग बेइजिङ सम्पर्कमा रहिरहने स्पष्ट गरे । 

युरोपेली सङ्घका सदस्य राष्ट्रको शिखर सम्मेलनले चीन बाहेक अन्य स्रोतबाट महत्त्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिप्रति समर्थन जनाएपछि बेइजिङ बिच्किएको अनुमान गरिएको छ । चिनियाँ व्यापार र आपूर्ति शृङ्खलामा निर्भरता कम गर्ने युरोपेली सङ्घको निर्णयप्रति पनि उसको विमति छ । जोसेप बोरेल युक्रेन द्वन्द्वमा चीनको अडानको विशेष आलोचक हुन् । इयुले ताइवान मामिलाप्रति बेइजिङको रवैयालाई लिएर असहमति जनाउँदै आएको छ । बेजिङले बल प्रयोग गरेर भएपनि ताइपेइलाई तह लगाउने धम्की दिँदै आएको छ । 

इयूले युक्रेनबाट तत्काल र बिनाशर्त आफ्ना सेना फिर्ता गर्न रुसलाई दबाब दिन चीनलाई आग्रह गर्दै आएको छ । चीन भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले त्यस्तै अनुरोध गरेका थिए ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप