आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्पिडमा हुइँकनेहरू होसियार ! स्मार्ट बन्दैछ ट्राफिक प्रहरी
फोटोफिचर

स्पिडमा हुइँकनेहरू होसियार ! स्मार्ट बन्दैछ ट्राफिक प्रहरी

अब क्यामेराले नै पक्रनेछ तीव्र गतिका सवारीलाई
आइतबार, २४ असार २०८०

काठमाडौँ । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता चालकलाई कारबाहीको दायरामा ल्याउन विभिन्न १० स्थानमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ स्पिड डिटेक्सन उपकरण जडान गरेको छ । अहिले राजधानीका विभिन्न स्थानमा जडान गरिएका यस्ता उपकरण हेर्दा सामान्य सीसी क्यामेरा जस्ता लाग्छन् । तर यसको काम तीव्र गतिमा हुइँकिरहेका सवारीसाधनको नम्बर प्लेटको फोटो खिच्ने र त्यसको रेकर्ड उपत्यका ट्राफिक प्रहरी कन्ट्रोल रुममा पठाउने रहेको छ ।

“काठमाडौँ हुने सडक दुर्घटनाको करिब ३३ प्रतिशत दुर्घटनाको कारण तीव्र गति नै हो । हामीले अहिले जडान गर्दै गरेको यो उपकरण पहिलो चरणमा ३ स्थानमा राखिएको छ । यसले राजधानीमा हुने दुर्घटनालाई कम गर्ने अपेक्षा गरेका छौँ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई भने ।

यो उपकरणले खिचेका तस्बिर र दिएका तथ्याङ्कका आधारमा ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी हाँक्ने सवारी धनीलाई कारबाही गर्नेछ । यस्तो प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरिन लागेको हो ।

अहिलेसम्म ट्राफिक प्रहरीले ‘राडार गन’ को सहायतामा गति मापन गरेर तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्दै आएको छ । राडार गन प्रयोग गर्दा मानव स्रोतको उपयोग पनि धेरै हुने र निश्चित समयमा मात्रै यसको प्रयोग हुने भएकाले नयाँ प्रविधि प्रयोग गर्न लागिएको हो । 

ट्राफिक प्रहरी प्रवक्ताका अनुसार यही असार मसान्तसम्ममा यी यन्त्रहरु जडान भइसक्नेछन् । यसको क्यामेराले चालकको तस्बिर समेत स्पष्टसँग लिन सक्ने क्षमताको छ । 

सडक विभागका अनुसार हाल कोटेश्वर–कलङ्की र कोटेश्वर–भक्तपुर सडकमा प्रतिघण्टा ५० किमी गतिमा सवारीसाधन चलाउन पाइन्छ । भित्री सडकहरूमा प्रतिघण्टा ३० किमी गति हुनुपर्छ । 

यसबाहेक स्कुल, कलेज र मानिसको मुभमेन्ट बढी भएको ठाउँमा पनि तीव्र गतिमा सवारी हाँक्न पाइँदैन । यसरी सवारीसाधनको गति छुट्याउने कार्य सडक विभाग तथा सडकसँग सम्बन्धित निकायकै हो । सडक बनाउने निकायले कुन सडकको गति कति भनेर तोकिदिएको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया