आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यू-१६ इस्ट जोन कप विजेता टोलीका तीन खेलाडी सम्मानित

आइतबार, २४ असार २०८०, १७ : ००
आइतबार, २४ असार २०८०

काठमाडौँ । अघिल्लो साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका तीनजना खेलाडीलाई आइतबार एसपीए कलेजले कैलालीको धनगढीमा सम्मान गरेको छ । 

नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीनजना खेलाडी विकेटकिपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याट्सम्यान नरेन भट्ट र अशोक धामीलाई कलेजले सम्मान गरेको हो । 

फाइनलमा घरेलु टोली मलेसियामाथि दुई सय २१ रनको सानदार जित हात पार्दै नेपालले लगातार तेस्रो पटक यू-१६ इस्ट जोन कपको उपाधि चुमेको थियो ।

कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको पनि कप्तान हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । फाइनलमा शतक प्रहार गरेका ओपनर ब्याट्सम्यान नरेन बैतडी जिल्लाका हुन् । अशोक भने बझाङ जिल्लाका खेलाडी हुन् । 

तीनैजनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनैजनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइने बताएको छ । क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उच्च पारेका खेलाडीलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताए । 

उनले एसपीए कलेजमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने आठजना खेलाडी अध्ययन गरिरहेको बताउँदै खेलाडी र एसपीए एकअर्काको पर्याय बनेको धारणा व्यक्त गरे । खेलाडीका तर्फबाट आशिषले सम्मानका लागि एसपीए कलेजलाई धन्यवाद दिए । उनले गृहनगरमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप