आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विवेकशीलको ओरालो यात्रा

रास्वपाको उदयले विवेकशील साझाको अस्तित्व संकटमा

सोमबार, २५ असार २०८०, १६ : ००
सोमबार, २५ असार २०८०

काठमाडौं । नेपालमा पाँच वर्षअघि वैकल्पिक राजनीतिक शक्तिको छनक देखाएको विवेकशील साझा पार्टीको अस्तित्व यतिबेला संकटमा परेको छ । राजनीतिक चर्चा र जनताको आकर्षण विवेकशील साझाले गुमाउँदै गएको हो ।

बखुण्डोलको मुल सडकबाट पार्टी कार्यालय भित्री कुनामा सारिएकोमात्र होइन, विवेकशील साझा पनि राजीनितिको कुनामा पुगेको छ । विवेकशील साझाले खर्च घटाउन कार्यालय सारेको छ ।

बखुण्डोलस्थित पुरानो कार्यालयको पछाडिको घरमा विवेकशील साझाले नयाँ कार्यालय लिएको हो । पुरानो कार्यालयको २ लाख १० हजार भाडा महँगो भएपछि १ लाख १० हजार मासिक भाडामा नयाँ कार्यालय लिएको छ ।

उपाध्यक्ष प्रकाशचन्द्र परियारले भने, ‘घरधनीसँगको सम्झौता सकिएको थियो । पुनः सम्झौता गर्दा पनि हुन्थ्यो । तर, खर्च कटौती गर्ने नीति लिएर नयाँ अफिस लियौं ।’

विवेकशील साझाप्रतिको क्रेज घटेसँगै पार्टी कार्यालयको स्पेस पनि साघुरिँदै गएको छ । तर, परियार भने कार्यक्रमलाई अगाडि बढाउने र आर्थिक भारलाई कम गर्ने नीति अनुसार यसो गरिएको भन्छन् ।

उनी भन्छन्, ‘पार्टीको आर्थिक कार्यक्रमलाई अगाडि बढाउन सकेका छैनौँ । पार्टीमा मतान्तर बढेदेखि आर्थिक पाटो ठप्प थियो । खर्च घटाएर पार्टीलाई चुस्तदुरुस्त बनाउन खोजिएको हो ।’

नयाँ पार्टीको उदयपछि वैकल्पिक राजनीतिको नारा बोकेको विवेकशील साझा सबै हिसाबमा दुब्लाएको छ । विवेकशील साझाको लिगेसी लामो भए पनि भविष्य अन्योलपूर्ण बन्दै गएको छ । २०६५ सालतिरै ‘नेपाल खुला छ’, ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ जस्ता नारा र सामाजिक विकृति विरुद्धको अभियानमा संलग्न युवाहरूको विवेकशील नेपाली दल बनेको थियो ।

यस्तै बीबीसीबाट जागिर छाडेपछि २०७३ फागुनमा रवीन्द्र मिश्र पनि राजनीतिमा आए । त्यसबेला पत्रकारिता पृष्ठभूमिका कारण मिश्र आकर्षक पनि बने । फरक पृष्ठभूमिबाट आएका डा. सूर्यराज आचार्य, डा. सरोज धिताल, डा. दिनेश प्रसाई, मुमाराम खनाल, रेशु अर्याल, किशोर थापा, केशव दाहाल लगायतको साथ पाएका मिश्रले साझा पार्टी बनाए ।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा दुवै दलले राम्रो मत पाए । विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाउँदा साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत पाए ।

पहिलो र दोस्रो क्रमशः एमाले र कांग्रेस हुँदा तेस्रो र चौथो मत विवेकशील र साझाले पाए । उक्त मतको उत्साहले थापा र मिश्रले पार्टी एकता गरे । ०७४ साउनमा साझा र विवेकशीलबीच एकता भएर विवेकशील साझा जन्मियो । एकतापछि रवीन्द्र र उज्वल दुवै जना संयोजक बने ।

सोही वर्षको मंसिरमा भएको आम निर्वाचन विवेकशील साझाले सामना गर्‍यो । प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेपछि समानुपातिकमा छैटौं दल बनेको थियो । उसले २ लाख १२ हजार ३६४ मत पाएको थियो । थोरै मत बढाउन नसक्दा विवेकशील साझाले राष्ट्रिय पार्टीको मान्यता नपाए पनि राम्रै प्रभाव जमाउन सफल भयो ।

तर, सहरी क्षेत्रमा प्रभाव जमाएको विवेकशील साझाको एकता टिक्न सकेन । मिश्र पक्ष एकलौटी हिँडेको भन्दै थापाले २०७५ पुस २७ मा निर्वाचन आयोग पुगेर विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दिएका थिए ।

विवेकशील नेपाली दल बिउँताएर १० महिना नेतृत्व गरेका थापाले २०७६ असोज २९ मा महाधिवेशनमार्फत मिलन पाण्डेलाई नेतृत्व सुम्पिए । त्यसपछि फेरि विवेकशील र साझाबीच एकताको प्रयास सुरु भयो ।

मिश्र र पाण्डेबीच पार्टी एकताको गृहकार्य थालेपछि ०७७ असारमा साझाका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छाडे । उनीहरुलाई बिदा गरेर मिश्रले ०७७ मंसिर २४ मा विवेकशील नेपाली दलसँग एकता रोजे । मिश्र र पाण्डेबीच एक वर्षमै वैचारिक मतभेद तहमा आयो ।  

अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि  विवेकशील छिन्नभिन्न हुने अवस्था आयो । मिश्रको रुझान राजवादी बन्दै गयो । विवाद चलिरहेका बेला मिश्र पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक गर्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने गरी विधान संशोधन गर्‍यो । साथै संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव पास गर्‍यो ।

विवाद चर्किरहेका बेला उनले ०७८ मंसिरमा सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीलाई विवेकशील साझामा भित्र्याए । पाण्डेमाथि कारबाहीको डण्डा चलाए ।

विस्तारै मिश्रले पाण्डे निकट २६ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासित गरिदिएका थिए । बाँकी रहेकाहरुसँग पनि मिश्रको लफडा चलिरह्यो ।

मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल पक्षबीचको विवाद सतहमा आयो । त्यसपछ विवेकशील साझा छाड्नेको लर्को लाग्यो । दोस्रो पटक भएको एकतापछिको विवादको साक्षी उज्वल थापा बन्न पाएनन् । ०७८ जेठ १८ मा कोरोना संक्रमणका कारण उनको निधन भयो ।

वैकल्पिक राजनीतिका अगुवा थापाको अवसानपछि विवेशील साझाको यात्रा पनि समाप्ति उन्मुख बन्यो । ०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा विवेकशील साझाकी उम्मेदवार समीक्षा बाँस्कोटाले ६४७ मतमात्र पाइन् ।

स्थानीय निर्वाचनमा निराशाजनक मत परिणाम आएपछि अध्यक्ष मिश्र विवेकशील साझाबाट पार नलाग्ने निष्कर्षमा पुगे । उनी असोजमा १२ मा विवेकशील साझाबाट आफ्नो समूह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे । मिश्र राप्रपातिर लागेपछि विवेकशील साझाको थप बिजोग भयो ।

गत मंसिरमा भएको संघीय चुनावमा विवेकशील साझाले समानुपातिकमा ४ हजार ४९ मतमात्र पायो । समानुपातिकको विवेकशील साझाभन्दा बढी मत पाउने ३८ दल छन् ।

गत माघ २८ र २९ मा भएको महाधिवेशनबाट समीक्षा बाँस्कोटा अध्यक्ष निर्वाचित भइन् भने पार्टी परित्याग गरी स्वतन्त्र बसेकी रञ्जु दर्शना महासचिव चुनिएपछि विवेकशील साझा चर्चामा आएको थियो । महाधिवेशनको पाँच महिनाको अवधिमा पार्टीमा आकर्षण भने देखिएन ।

पार्टीको आन्तरिक काममा व्यस्त हुँदा जनआकर्षण बनाउने कार्यक्रम ल्याउन नपाएको विवेकशील साझाका नेताहरुको भनाइ छ । अहिले सांगठनिक रुपमा पार्टीलाई चलायमान बनाउन लागिपरेको उपाध्यक्ष परियार बताउँछन् ।

साउन ११ मा वार्षिक उत्सव बनाउने तयारी गरिरहेको विवेकशील साझाले भदौ ९ बाट प्रदेश अधिवेशन गर्दैछ । परियारका अनुसार करिब ३६ जिल्लामा र सातै प्रदेशमा विवेकशील साझाको कार्यसमिति छ ।

‘भाइरल हुने कि भाइटल हुने भन्ने हो । हामी भाइटल राजनीतिमा विश्वास गर्छौं,’ उनी भन्छन्, ‘शक्ति सञ्चयमा लाग्दा अहिले विवेकशील साझा शिथिल जस्तो देखिएको हो ।’

परियारका अनुसार वैकल्पिक मर्म भएका दलसँग सहकार्य र एकताका लागि विवेकशील साझा खुला छ । ‘विवेकशील साझा सकिँदैन । यसको आफ्नै मर्म छ । आफ्नै लिगेसी छ । आफ्नो गरिमालाई मेन्टेन गरेर अगाडि बढिरहेको छ । तत्काल आक्रामक नदेखिए पनि यसले आफ्नो सुर र लय समात्ने क्रम जारी नै छ,’ उनी भन्छन् ।

महासचिव रञ्जु दर्शनाले पनि महाधिवेशनपछि आन्तरिक काममा बढी व्यस्त हुँदा विवेकशील साझा शिथिल देखिएको बताइन् । ‘अब नयाँ कार्यक्रम ल्याएर जनतामाझ जान्छु । हाम्रो सक्रियता बढ्छ । आजको भोलि नै जादुको छडी चलाउन सक्छौं भन्ने होइन,’ उनी भन्छिन् ।

रास्वपाको उदयले विवेकशील साझा अस्तित्वमाथि संकट थपिएको छ । विवेकशील साझाका नेतामात्र होइन, मतदाता पनि रास्वपातिर सिफ्ट भएको देखिन्छ । सहरी क्षेत्रमा रास्वपाले पकड जमाउँदा विवेकशील साझा सुक्दै गएको छ । ‘विवेकशील साझाले विगतमा एउटा हाइट लिइसकेको अवस्था थियो । आन्तरिक विवादले त्यो हाइटबाट झरेका हौं,’ उनी भन्छिन्, ‘हामी अब विचारमा प्रस्ट भइसकेका छौं । रविन्द्र मिश्रजीले कन्फ्युजन ल्याइदिनु भएको थियो ।’

चर्चा र शक्तिमा देखिएको पार्टीेलाई जनताले पछ्याउन चाहने भन्ने कुरा सामान्य भएको उनको भनाइ छ । दर्शनाले भनिन्, ‘हामी आफ्ना एजेण्डा स्थापित गरेर जान्छौं । पार्टीप्रति आकर्षण घटेको छैन । आक्रामक रुपमा साथीहरु जोडिएको नभए पनि हामीप्रतिको भरोसा कायमै छ ।’

विवेकशील साझाका उपाध्यक्ष मिलन पाण्डे स्टन्ट र एक्सन नदेखिँदा पार्टी हराएको भान हुनु स्वाभाविक ठान्छन् । ‘प्रत्येक दिन स्टन्ट र एक्सन खोज्ने भइसक्यौं हामी पनि । सधैँ स्टन्ट र एक्सनको राजनीति हुँदैन,’ उनी भन्छन्, ‘आन्तरिक गतिविधि, प्रशिक्षण, योजनाका कुराहरु छन् । हामी अहिले त्यसैमा व्यस्त छौं ।’

आन्तरिक रुपमा काम गरिसकेपछि जनआकर्षण बनाउने काम हुने पाण्डेको भनाइ छ । ‘पुरानो घर भत्काएर महाधिवेशनपछि नयाँ जग खन्ने बेला हो । जमिनमुनि काम गरेको देखिँदैन,’ उनले भने, ‘हाम्रा साथीहरु रास्वपा जाने रोक्ने कार्यक्रमका साथ हामी अब अगाडि आउँदैछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप