आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोषाध्यक्ष बन्न लबिङ

कोषाध्यक्ष मनोनयनको तयारीमा देउवा : को को छन् आकांक्षी ?

मङ्गलबार, २६ असार २०८०, १० : ३६
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा कोषाध्यक्षका आकांक्षीहरुले लबिङ तीव्र पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कोषाध्यक्ष मनोनयनका लागि आन्तरिक छलफल थालेपछि आकांक्षीहरु लबिङमा लागेका हुन् ।

कांग्रेसमा कोषाध्यक्षका लागि पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, आरजु देउवा, विनोद चौधरी, उमेश श्रेष्ठ, पुष्पा भुसाल लगायतले दौडधुप थालेको देखिन्छ ।

करिब एक वर्षपछि असार २७ गते केन्द्रीय कार्यसमिति बैठक बस्न लाग्दा देउवाले कोषाध्यक्षमा चासो देखाएका छन् । महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका निकायलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था भएपनि देउवाबाट त्यसको पालना भएको छैन ।

कोषाध्यक्ष मनोनित, केन्द्रीय समितिको पूर्णता, विभाग गठन लगायतमा देउवाले उदासीनता देखाएको भन्दै पार्टीभित्र आलोचना भइरहेको छ । महाधिवेशन भएको १७ महिनापछि सभापति देउवाले बल्ल कोषाध्यक्ष चयनका लागि आन्तरिक छलफल थालेको देखिन्छ ।

यसअघि कांग्रेसमा कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था थियो । तर, १४औँ महाधिवेशनमा भने कोषाध्यक्षको निर्वाचन भएन । २०७५ सालमा नवौं पटक संशोधित विधानले कोषाध्यक्ष केन्द्रीय समितिमा निर्वाचित केन्द्रीय सदस्यहरूबाट सभापतिले नाम प्रस्ताव गर्ने र केन्द्रीय समितिबाट निर्वाचित हुने व्यवस्था गरेको छ ।

कांग्रेस विधानको दफा २१ को ४ मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष’ रहने व्यवस्था छ । १३ औँ महाधिवेशनमा १ सभापति, १ महामन्त्री र १ कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो । 

संशोधित विधानअनुसार सभापतिसहित २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचनबाटै चयन भइसकेका छन् । विधानले दिएको अधिकार प्रयोग गरेर सभापति देउवाले अब निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई कोषाध्यक्षको जिम्मेवारी दिनुपर्नेछ । तर, कोषाध्यक्षका लागि आधा दर्जन बढी नेता आकांक्षी देखिएपछि देउवा सकसमा परेको नेताहरू बताउँछन् ।

महाधिवेशनमा पदाधिकारीका आकांक्षीलाई देउवाले कोषाध्यक्षको पद देखाएर मनाउने प्रयास गरेका थिए । त्यसमा नेताहरू महामन्त्रीका आकांक्षी बालकृष्ण खाण, ज्ञानेन्द्र कार्की, सहमहामन्त्रीका आकांक्षी सुनिल थापा, चित्रलेखा यादव, पुष्पा भुसाल लगायतलाई देउवाले कोषाध्यक्ष मनोनीत गर्ने बचन दिएको कांग्रेसवृत्तमा चर्चा थियो ।

नेता खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन् भने थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार बनिसकेका छन् । कार्की, यादव र भुसाल कोषाध्यक्षमा आउन लबिङ गरिरहेको धुम्बाराही स्रोत बताउँछ ।

महाधिवेशनमा देउवाले आर्थिक समितिको संयोजक बनाएर कार्कीलाई कोषाध्यक्ष दिने संकेत गरेको कतिपयको बुझाइ थियो । यसका अलावा देउवा पत्नी आरजु राणाको पनि कोषाध्यक्ष बन्ने आकांक्षा छ ।

उनी निकटस्थ नेताहरूले राणालाई कोषाध्यक्ष बनाउन देउवामाथि दबाब दिएको बुझिएको छ । व्यवसायी पृष्ठभूमिका नेताहरू विनोद चौधरी र उमेश श्रेष्ठमा पनि कोषाध्यक्ष बन्ने उत्कट आकांक्षा देखिन्छ ।

चौधरीले निकटस्थसँग देउवाले कोषाध्यक्ष मनोनीत गर्ने वचन दिएको बताउने गरेका छन् । देउवाले आफ्नो अघिल्लो कार्यकालमा चौधरीलाई लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समितिको संयोजक पनि बनाएका थिए । 

चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिँदा पार्टी सञ्चालन, लेखा प्रणाली व्यवस्थापन र स्रोत जुटाउनसमेत सहज हुने देउवाको बुझाइ छ । निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ समेत चौधरीलाई रहेको छ । तर, परराष्ट्रमन्त्री पनि नदिएको भन्दै आरजुले दबाब बढाएपछि देउवा अलमलमा परेको एक नेताले रातोपाटीलाई बताए ।

देउवा निकट ती नेताले भने, ‘सम्भव भएसम्म भाउजु (आरजु) कोषाध्यक्ष बन्ने योजनामा हुनुहुन्छ । आफू बन्ने परिस्थिति बनेन भने उमेश श्रेष्ठलाई बनाउने उहाँको योजना देखिन्छ ।’ 

यता पदाधिकारीमा एक जना मात्र महिला रहेको भन्दै कोषाध्यक्ष महिलालाई नै बनाउनुपर्ने देउवामाथि दबाब छ । कांग्रेसको १३ पदाधिकारीमध्ये महिला एक जनामात्रै छन् । सहमहामन्त्रीमा क्लष्टर अन्तर्गत महालक्ष्मी उपाध्याय निर्वाचित भएकी हुन् । महिलाबाट कोषाध्यक्ष भएको अवस्थामा चित्रलेखा, आरजु र पुष्पाको मध्ये एक जना हुने सम्भावना बलियो छ । 

कांग्रेसको १२ औँ महाधिवेशनबाट कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भएकी थिइन् भने १३ औं मा सीतादेवी यादव निर्वाचित भइन् । १३ औंमा सीतादेवीले चित्रलेखालाई पराजित गरेकी थिइन् । यादव प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । यादवले पार्टीले दिएको जिम्मेवारी लिने आफू तयार रहेको बताएकी छन् । 

‘कोषाध्यक्षमा महिला नै हुनुपर्ने उनको भनाइ छ । कोषाध्यक्ष महिलालाई बनाउने हाम्रो पार्टीभित्र एउटा परम्परा पनि छ,’ उनले भनिन्, ‘पदाधिकारीमा सहमहामन्त्रीमा मात्र एक जना महिला हुनुहुन्छ । अहिले पनि महिला नै कोषाध्यक्ष हुनुपर्छ । सभापतिले जिम्मेवारी दिनुभयो भने म तयार छु ।’

मधेसी महिलालाई पदाधिकारीमा अवसर दिँदा सकारात्मक सन्देश जाने उनको बुझाइ छ । संगठन सञ्चालनमा कोषाध्यक्ष कार्यकारी नभएपनि पार्टीको आयव्यय सञ्चालन गर्नुपर्ने भएकाले महत्त्वपूर्ण मानिन्छ । 

पार्टीको आर्थिक स्रोत साधनको व्यवस्था गर्ने, पार्टी निर्णयअनुसार रकम भुक्तानी गर्ने भएकाले सभापतिले आफ्नो विश्वासपात्रलाई नै कोषाध्यक्षमा नियुक्त गर्ने गरेको पाइन्छ ।

कोषाध्यक्षलाई के छ अधिकार ? 

कांग्रेसको विधानअनुसार कोषाध्यक्षलाई पार्टीलाई आवश्यक स्रोत–साधनको व्यवस्था गर्ने, पार्टीलाई प्राप्त हुने शुल्क र अन्य सहयोग संकलन गर्ने अधिकार छ । यस्तै केन्द्रीय कार्यसमितिले निर्णय गरेको बैंकमा पार्टीका नाममा खाता खोल्ने र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सञ्चालन गर्ने, सदस्यता शुल्क र अन्य सहयोग रकम संकलन गर्ने तथा अभिलेख राख्ने जिम्मेवारी कोषाध्यक्षकै हुन्छ । 

संकलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चका लागि निर्णयअनुसार भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने, पार्टीको वार्षिक आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसमितिमार्फत केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रस्तुत गर्ने, केन्द्रीय कार्यसमितिले पारित गरेको लेखा परीक्षणसम्बन्धी प्रतिवेदन केन्द्रीय महाधिवेशन र केन्द्रीय महासमितिमा प्रस्तुत गर्ने अधिकार विधानले कोषाध्यक्षलाई दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप