आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस केन्द्रीय समितिको सम्मुखमा विजयदेखि तेजुलालसम्म विकल्पको खोजीमा

मङ्गलबार, २६ असार २०८०, १६ : ३७
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा थारु समुदायका नेताहरुले विकल्पको खोजीबारे छलफल थालेका छन् । पार्टीभित्र थारु नेताहरुलाई बेवास्ता गरिएको भन्दै विजयकुमार गच्छदारसहितका नेताहरु कांग्रेसबाट बाहिरिने सोचमा पुगेका हुन् । असारको पहिलाे साता पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य रामजनम चौधरी, गोपाल दहित, प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी लगायतका नेताहरुबीच विकल्पको खोजीमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीका अनुसार नेतृत्वले थारुप्रतिको दृष्टिकोण नबदले पार्टीमा बस्नेको औचित्य नभएको छलफलको निष्कर्ष थियो । कांग्रेस सांसद तेजुलाल चौधरीले पनि थारु नेताहरुले विकल्पको खोजी गरिरहेको बताए । ‘कांग्रेस नेतृत्वको रवैया देखियो । यस्तो अवस्थामा कांग्रेसमा बस्नुको अर्थ छैन भनेर छलफल गरिरहेका छौं,’ तेजुलालले भने । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि थप रणनीति बनाउने थारु नेताहरुको तयारी छ ।

रामजनमले भने, ‘एक वर्षपछि भोलि केन्द्रीय समिति बैठक बस्दैछ । त्यहाँ हाम्रो कुरा राख्छौं ।’ थारु संघको विधान, नेपाल तरुण दल विस्तार, मन्त्री छनोट लगायतका विषयमा सामुहिक कुरा उठाउने रामजनमको भनाइ छ । ‘थारु संघको विधान नै संशोधन भएको छैन । नेपाल तरुण दलको ४ सय जनाको केन्द्रीय कार्यसमिति आउँदा पनि हामीले भनेको एक जनालाई पनि राखिएन । मन्त्री छनोटमा पुरा बेवास्ता गरियो ,’ उनले भने ।

कांग्रेसबाट ९ जना मन्त्री बन्दा पनि एकजना थारुलाई समावेश नगराइएकोमा उनीहरुको आपत्ति छ । ‘यस्तो ठूलो मन्त्रिपरिषदमा एक जना थारु समुदायबाट मन्त्री बनाएनन् । एमाले र माओवादीले थारु समुदायबाट मन्त्री बनायो । तर, कांग्रेसले एक जनालाई पनि मन्त्री बनाएन । थारुहरुप्रति नेपाली कांग्रेसको दृष्टिकोण के हो ? यसबारे भोलि कुरा उठाउछौं,’ उनको प्रश्न छ । रामजनमका अनुसार केन्द्रीय सदस्य गोपाल दहितले थारुहरुको माग–मुद्दाबारे सूची बनाएका छन् । भोलि केन्द्रीय समिति बैठक बस्नुअघि उनीबीच आन्तरिक छलफलको तयारी छ ।

‘हामीलाई बेवास्तै गरिएको छ । हेरौं हाम्रोबारे भोलिको केन्द्रीय समिति बैठकमा कस्तो किसिमको कुरा आउँछ,’ उनले भने, ‘पार्टीले हाम्रो माग सुनुवाइ गरेन भने अब विकल्प सोच्नुपर्ने अवस्था आउँदैछ । हामी त्यसका लागि पनि तयारी गरिरहेका छौं ।’ गच्छदारले २०७४ कात्तिक २९ मा आफ्नो फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेसमा समाहित गराएका थिए ।

२०६४ मा कांग्रेस छाडेर गएका गच्छदार १० वर्षपछि ०७४ मा पुनः कांग्रेसमै फर्किएका थिए । कांग्रेसमा आएर उपसभापति बनेका उनी १४ औं महाधिवेशनमा भने धनराज गुरुङसँग उपसभापतिमै दुई मतले पराजित भएका थिए ।

ललिता निवास प्रकरणमा मुछिएका गच्छदार अहिले कांग्रेसबाट बाहिरिएर नयाँ पार्टी बनाउने गृहकार्य गरिरहेको नेताहरु बताउँछन् । त्यसमा केन्द्रीय सदस्य, केही संघीय र प्रदेश सांसदले उनलाई साथ दिएको देखिन्छ । रामजनमकाअनुसार असार पहिलो साता भएको छलफलमा २० जना नेताहरु सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप