आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार

शेखरले समूहको बैठक नबोलाउँदा इतर पक्षमा तरंग

मङ्गलबार, २६ असार २०८०, २० : ५४
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा भोलि बुधवार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकको आन्तरिक तयारीमाथि छलफल भइरहेको छ । सोमबार साँझ सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।

महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय कार्यलयका तर्फबाट तय गरेका बैठकका एजेण्डाबारे सभापति देउवालाई जानकारी गराएका थिए । उक्त एजेण्डामाथि छलफलका लागि बुधबार बिहान देउवा निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीसहित बैठक बस्दै छ ।

महामन्त्री थापाद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासनसम्बन्धी विषय, नीति महाधिवेशनको तिथि मिति, समसमामयिक राजनीति लगायतका एजेण्डा बनाएका छन् ।

महामन्त्री थापाले भने, ‘हामीले केही एजेण्डा केन्द्रीय कार्यालयका तर्फबाट तय गरेका छौं । बाँकी विषयमा बुधवार बिहान पदाधिकारी र पूर्वपदाधिकारी बसेर परामर्श हुन्छ । त्यसबाट पनि केही एजेण्डा थपिन्छन् होला ।’

यस पटक कांग्रेस केन्द्रीय समिति बैठकमा गुटगत छलफल भने भएको छैन । कांग्रेसमा संस्थापन इतर पक्षले विगतमा सभापति देउवाविरुद्ध कसरी प्रस्तुत हुने भनेर गुटगत धारणा बनाउने गरेको थियो ।

संस्थापन इतर पक्षको नेतृत्व गरेको शेखर कोइरालाले केन्द्रीय समिति बैठकअघि समूहको बैठक बोलाउँदै आएका थिए । तर यसपटक कोइरालाले समूहको बैठक बोलाएर छलफल नगरेको नेताहरु बताउँछन् ।

पछिल्लो समय सभापति देउवासँग निकट सम्बन्ध बनाएका कोइरालाले समूहको बैठक नबोलाउनुलाई कांग्रेसभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्री छनोट, भ्रातृसंस्था विस्तारमा देउवा र कोइरालाबीच समझदारी भएको देखिन्छ ।

१५ औं महाधिवेशनमा पुनः सभापतिमा लड्ने तयारीमा रहेका कोइरालाले देउवालाई नचिढ्याउने नीति लिएको नेताहरु बताउँछन् । महामन्त्री गगन थापाले देउवाको विकल्प खोज्नुपर्ने बताइरहँदा कोइराला त्यसको विपक्षमा देखिन्छन् ।

देउवासँग कोइराला मिलेको चर्चाबीच केन्द्रीय समिति बैठकअघि समूहको बैठक नबोलाउनुले त्यसलाई थप बल पुगेको छ । कांग्रेस सहमहामन्त्री जीवन परियारले कोइरालाबाट समूहगत छलफलका लागि बोलावट नभएको रातोपाटीलाई बताए ।

यस्तै, नेता अर्जुननरसिंह केसीले समूहको बैठक नबोलाउँदा दुःख लागेको बताए । उनले भने, ‘पार्टीका सभापतिलाई कमजोरी सच्याउन दबाब दिन रणनीतिक छलफल हुन्थ्यो । अहिलेसम्म हाम्रा सभापतिका उम्मेदवारले कुनै चासो देखाउनु भएको छैन । मलाई अत्यन्त दुःख लागेको छ ।’

केसीले अगाडि भने, ‘हामीले आजको दिनसम्म सुधारवादी पक्षको अहिलेको समूहको नेतृत्व प्रतिस्पर्धी सभापतिका उम्मेदवारलाई मानेर बसेका हौं । तर, अहिलेसम्म भेटघाट गरेर कसरी जाने भन्ने सल्लाह भएको छैन ।’

कोइरालाले बैठक नबोलाए पनि विधि, प्रक्रिया, नीति, नेतृत्व र संरचनागत रुपमा देखिएका कमजोरीलाई सुधार गर्दै नयाँ यात्रा प्रारम्भ हुने उनको भनाइ छ ।

‘यो प्रक्रियामा जो जो साथीहरु जोडिएलान्, ती साथीहरुसँग सहकार्य होला अथवा सबै मिलेर नयाँ परिस्थिति निर्माण गर्ने परिस्थिति बन्ला,’ उनले भने । सभापति देउवा निकट सहमहामन्त्री महेन्द्र यादवले कोइराला गुटगत राजनीतिभन्दा बाहिर आउन चाहेको बताए ।

यादवले भने, ‘कांग्रेसमा अब गुटगत राजननीतिको अन्त्य हुने संकेत देखिएको छ । यो राम्रो हो । शेखर कोइरालाजीले सभापतिविरुद्ध मोर्चाबन्दी गर्नुपर्ने कुनै कारण छैन ।’ देउवाले सबैलाई मिलाएर अगाडि बढेकाले कोइरालाले गुटगत दबाब दिन आवश्यक नठानेको यादवको बुझाइ छ ।

बैठकमा समयसीमा नतोकेर केन्द्रीय सदस्यलाई खुलस्त बोल्न दिनुपर्ने केसीको भनाइ छ । उनले भने, ‘अहिलेको वस्तुगत परिस्थिति सबै छर्लङ्गै छ । एक वर्षपछि बैठक बस्दैछ । बैठकमा व्यापक छलफल गर्नुपर्छ । वर्तमान परिस्थितिको विश्लेषण र यथार्थ मूल्याङ्कन गरिनुपर्छ ।’

कसैप्रति आग्रह र पूर्वाग्रह नराखेर कांग्रेसमाथि आइपरेका आन्तरिक र वाह्य चुनौती समाधान गरेर जाने बाटो खोज्नुपर्ने उनको भनाइ छ । ‘हाम्रा कमजोरी र गल्तीलाई आगामी दिनमा दोहो¥याउँदैनौं भन्ने प्रतिज्ञाका साथ छलफलको थालनी हुनुपर्छ । नीतिगत, नेतृत्वगत र संरचनागत कमजोरीमाथि समीक्षा गरौं । यो कांग्रेसका लागि हितमा हुन्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप