पाकिस्तान बाढी : छ जनाको मृत्यु, नौ जना घाइते
इस्लामाबाद । पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाले आएको बाढीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य नौ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको छ ।
बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाएका मध्ये तीन महिला र एक बालक रहेको एनडीएमएले बताएको छ । गत जुन २५ देखि सुरु भएको मनसुनी वर्षा र बाढीबाट पाकिस्तानमा हालसम्म ८६ जनाले ज्यान गुमाएका छन् भने एक सय ५१ जना घाइते भएका एनडीएमएले जनाएको छ ।
बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र छ । त्यहाँ ५२ जनाको मृत्यु भएको छ ।
उत्तरपश्चिमी खैबर पख्तुनख्वामा २० जनाले ज्यान गुमाएका छन् । विभिन्न भागमा ९७ घर ध्वस्त भएका र ४६ वटा चौपाया पनि मरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा एनडीएमएलगायत अन्य सरकारी संघ संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार तथा राहतका काम जारी छन् ।-(रासस/सिन्ह्वा)