आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मिस स्टार युनिभर्स

'विजेता घोषणासँगै स्टेजमै आधा दर्जन फिल्ममा अफर आयो'

बुधबार, २७ असार २०८०

सृष्टि महर्जन केही दिन पहिले दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ की शीर्ष विजेता हुन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी उनले प्रतियोगितामा ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’ सबटाइटलसमेत हात परेकी थिइन् । दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनय गरिसकेकी महर्जन नृत्यमा पनि रुचि राख्छिन् ।

‘मिस स्टार युनिभर्स २०२३’ मा उनले नेपाली मौलिक कुमारी नृत्य प्रस्तुत गरेकी थिइन् । यसले उनलाई अन्तर्राष्ट्रिय ताजको हकदारसमेत बनायो । महर्जनको रुचि फिल्म अभिनयतिर पनि छ । नेपालका केही फिल्मको अफर रिजेक्ट गरेकी उनलाई दुबईको स्टेजमै आधा दजर्न फिल्मका अफर मिलेका छन् । तर उनले अभिनय गर्ने नगर्ने अहिलै निधो गरिसकेकी छैनन् । उनै सृष्टि महर्जनसँग सौन्दर्य प्रतियोगिता र अभिनय सम्बन्धमा रातोपाटीले राखेका केही प्रश्न ।

अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि जित्नुभएको छ, कस्तो लागिरहेको छ ?
एकदमै खुसी छु । यो एउटा अन्तर्राष्ट्रिय उपाधि हो । पहिलो पटक प्रतियोगिता जाँदै गर्दा बिजेता बन्छु होला भन्ने लागेको थिएन । पहिलो पटक प्रतियोगितामा जाँदा नर्भस थिएँ, एक्साइटेट थिएँ । अन्तर्राष्ट्रिय प्लेटफर्ममा देशको प्रतिनिधित्व गर्न पाएँ । त्यसमा पनि शीर्ष उपाधिसमेत हात पर्यो । एकदमै गर्व महसुस भएको छ, धेरै खुसी छु । अन्तर्राष्ट्रिय प्रतियोगितामा ठुलै प्रतिस्पर्धा हुन्छ । शीर्ष विजेताका रूपमा नाम घोषणा हुँदा विश्वास गर्न गाह्रो पर्दाे रहेछ ।

विजेताका रूपमा आफ्नो नाम घोषणा हुँदा पत्याउन सक्नुभयो नि ?
त्यो माहोल अहिले वर्णन गर्न सक्दिनँ । त्यो फेरि नदोहोरिने समय हो । विजेतामा कसको नाम आउला, म बन्छु कि बन्दिनँ भन्ने कुराले त्यो समय मेरो मात्र होइन सबै प्रतियोगीको मुटुको रफ्तार बढेको देखिन्थ्यो । विजेतामा आफ्नो नाम घोषणा हुँदा एकछिन त ‘सक’ भएँ, पत्याउन सकिनँ । धेरै समयको मेहनतको फल मिल्यो भन्ने लाग्यो ।

shristhi maharjan2

प्रतियोगितामा जाँदै गर्दा उपाधि चुम्छु भन्ने थियो त ?
जोसुकै प्रतियोगी पनि प्रतियोगिता उपाधि जित्ने लक्ष्यसहित सहभागी भएको हुन्छ । मैले जिन्नुपर्छ, जित्छु भन्ने हुन्छ । ममा पनि त्यही थियो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा खासै सफलता हासिल सकेको देखिन्न । त्यो हिसाबले पनि मलाई यो प्रतियोगिता जित्नुपर्छ भन्ने थियो ।

१९ देशका एक से एक प्रतियोगीलाई पछि पार्न मेहनत धेरै गर्नुपर्यो होला ?
सबै प्रतियोगी आफ्नो देशमा बेस्ट भएर छानिएर आएका थिए । उनीहरू सबैको लक्ष्य प्रतियोगीताको शीर्ष उपाधि नै थियो । सबैभन्दा उत्कृष्ट हुन मेहनत गर्नुपथ्र्याे । त्यो पहिले बुझेको आफूलाई त्यसरी नै अगाडि बढाए ।

नेपालका लागि तपाईंको जित कस्तो उपलब्धि हो ?
एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सफलता पाउनु भने राम्रो उपलब्धि हो । त्यहाँ देशको चर्चा भएको छ । म प्रतियोगितामा सृष्टि भएर भन्दा पनि नेपाल भएर सहभागी भएको थिए । त्यहाँ सबैलाई उपाधि आफैँले जित्छु भन्ने लाग्थ्यो । त्यस्तो माहोलमा मैले जित्नु भनेको देशको नाम राख्नु हो । देशको नाम रहनु भनेको सबैका लागि राम्रो हो ।

कसरी चिनाउनु भयो नेपाल ?
म डान्सर पनि हो । त्यसैले प्रतियोगिताको ट्यालेन्ट राउन्डका लागि मैले नेपाली कुमारी नृत्यको प्रस्तुति तयार गरेको थिएँ । जसमा नेपालको विषयको न्यारेसन, नेपाली विभिन्न सङ्गीतको मिश्रणसहित कम्पोज गरेको थिएँ । नृत्यको कन्सेप्ट नै समग्र नेपाल चिनाउने खालको थियो । मेरो नृत्यको त्यहाँ सबैले तारिफ गरे । 

अबका दिनका चुनौती केकस्ता देख्नुभएको छ ?
अन्तर्राष्ट्रिय प्रतियोगिताको विजेता बनेपछि धेरैका आँखा मतिर तेर्सिएका छन् । मैले गर्ने क्रियाकलापले ठुलो अर्थ राख्छ । अबको दिनमा योभन्दा पनि ठुलो उपलब्धि मैले हासिल गर्नुपर्छ । त्यसैले अबको मेरो लक्ष्य ‘मिस वल्र्ड’ को छ ।

अन्य देशका सहभागीसँग सम्बन्ध कस्तो रह्यो ?
सबै देशका सहभागीसँग आत्मीय सम्बन्ध बन्यो । धेरै देशमा सहभागीले उनीहरूको देश भ्रमणका लागि निम्तोसमेत दिए । मैले पनि सबैलाई नेपाल भ्रमणको निम्तो पनि दिएँ । मैले नेवारी कल्चरको पर्स लगेको थिएँ । त्यो सबैलाई गिफ्ट गरेँ । मैले पनि नेपालको सुन्दरताको वर्णन गर्दै नेपाल आउने निम्तो दिएँ ।

शीर्ष उपाधिको अलवा आफूमा परिवर्तन के पाउनुभयो ? 
प्रतियोगिताबाट कम्युनिकेसन धेरै महत्त्वपूर्ण भन्ने विषय बुझेँ । जबसम्म हामी कुराकानी एकअर्काेसँग सेयर गर्न सक्दैनौँ तबसम्म अगाडि बढ्न सक्दैनौँ । कम्युनिकेसन भनेको अगाडि बढ्ने एउटा साचो नै रहेछ । हामीले सबैसँग सम्पर्क बढाउनुपर्दाे रहेछ ।

अभिनयतिर पनि रुचि हो ?
अभिनयमा पहिलेदेखि नै रुचि छ । म नृत्यबाटै अगाडि बढेको भएकाले म्युजिक भिडियो अभिनय गरिसकेकी छु । केही फिल्मको अफर पनि आएको थियो । दुबईको प्रतियोगितामा विभिन्न देशका निर्माता, निर्देशक पनि सहभागी थिए । त्यहाँ उपाधि चुमेसँगै करिब आधा दर्जन फिल्मको अफर मिलेको छ । त्यसमा केही छोटा र केही लामा फिल्म छन् । 

मैले त्यहाँ अभिनय गर्ने नगर्ने केही प्रतिक्रिया दिइनँ । अफर गर्नेसँग सम्पर्क साटासाट गरेकी छु । भोलिका दिनमा काम गर्न पनि सक्छु ।

सानैदेखि यही सपना थियो त ? 
सानैदेखि म नृत्यमा राम्रो कोरियोग्राफर भएर सफल महिलाका रूपमा चिनिन चाहन्थेँ ।

प्रेम त पक्कै होला ?
अहिलेसम्म त छैन, जीवन अगाडि बढ्दै जाँदा अब हुन सक्छ । त्यो स्वाभाविक हो ।

कस्तो जीवनसाथीको चाहना छ ?
एकअर्काेलाई बुझ्ने, ख्याल गर्ने र दुःखसुख दुवैमा सहारा बन्न सक्ने ।

मनपर्ने हिरो ?
बलिउड अभिनेता शाहरूख खान ।

खुसी ?
मलाई खुसी हुनका लागि ठुलो कारण केही चाहिँदैन । कतै राम्रो कुरो भइरहेको, आफैँलाई सफलता मिलिरहेको छ भने खुसी हुन सक्छु । 

कस्तो समय रुनुहुन्छ ?
उमेर टिनएज क्रस भएपछि कहिले काही स्ट्रगल फिल हुन्छ । कहिलेकाहीँ आफूलाई अरूले नबुझेको जस्तो लाग्छ । त्यो समय म रुन थाल्छु ।

सौन्दर्य प्रतियोगिताको विजेताको हिसाबले यसमा करियर बनाउन चाहनेलाई के सुझाव दिनुहुन्छ ?
सौन्दर्य मात्र होइन, जुनै पनि क्षेत्रमा आफूलाई अगाडि बढाउन पहिले आफ्नो चाहना, क्षमता चिन्नुपर्छ । आफूमा जे प्रतिभा छ, त्यो चिनेर अगाडि बढ्न सकियो भने  सफलता मिल्छ ।
357322452_981475469843141_6517209942369831213_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया