आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए अभियन्ताहरुलाई चुनाव लाग्यो, अध्यक्षका प्रत्यासी शर्मा यूरोपमा माहोल बनाउन व्यस्त

बुधबार, २७ असार २०८०, १५ : ५३
बुधबार, २७ असार २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन आउन अझै करिब ३ महिना बाँकी छ । यद्यपि नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा माहौल बनाउन तयारी थालिसकेका छन् । 

हाल एनआरएनए अन्तरगतका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को निर्वाचन चलिरहँदा आकांक्षीहरु माहौल बनाउन लागिपरेका हुन् । 
त्यसका लागि एनआरएनएको नेतृत्वको आकांक्षीसहित अन्य पदका आकांक्षी रहेका एनआरएनए अभियन्ताहरूले सक्रियता बढाएका हुन् । जसअनुसार अभियन्ताहरूले एनआरएनएको निर्वाचनका मतदातादेखि प्रभावशाली व्यक्तित्वहरूलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । सोही अनुसार उनीहरुले आफ्नो सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत सक्रियता बढाइरहेका छन् । 

एनआरएनएको नेतृत्व मध्यपूर्वले पाउनुपर्ने भन्दै लबिङ गरिरहेका उपाध्यक्ष आरके शर्मा यतिबेला यूरोपका विभिन्न देशको कार्यक्रममा व्यस्त छन् । अध्यक्षका एक सशक्त दाबेदार उनी गत असार २२ गतेदेखि यूरोपमा सक्रिय रहेका हुन् । 
यूरोपयात्राका क्रममा उनी डेनमार्कमा आयोजित एनआरएनएको कार्यक्रममा सहभागी भए । उनी एनआरएनए डेनमार्कको पदभार हस्तान्तरण कार्यक्रममा सहभागिता जनाएका हुन् । यस्तै उनी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् लक्जेम्बरको  कार्यक्रममा पनि सहभागी भए । एनआरएनए अभियानकै क्रममा यतिबेला शर्मा स्पेन पुगेका छन् । 

गैरआवासीय नेपाली अभियानलाई  निरन्तरता दिने क्रममा आफू युरोप यात्रामा निस्किएको शर्माले बताए ।  शर्माले यूरोपयात्राका क्रममा विभिन्न भेटघाट र आफ्नो पक्षमा माहौल बनाउने बताइएको छ । उनी निरन्तर विश्वका अन्य देशमा पनि पुगेर अभियानमा सक्रिय बन्ने बताइएको छ । 

यस्तै एनआरएनए सचिवका आकांक्षी मनोज गोरर्खाली पनि यतिबेला यूरोप यात्रामा रहेका छन् । अध्यक्षका अन्य आकांक्षीसहित अन्य पदका दाबेदारहरूले पनि आ–आफ्नो तर्फबाट चुनावी माहौल बनाउन व्यस्त रहेका छन् । कतिपयले देश विदेशसम्म पुगेर आफ्नो पक्षमा प्रचार गर्न भ्याइसकेका छन् । 

गत जुनकाे अन्तिममा ओमानमा सम्पन्न मध्यपूर्व क्षेत्रीय सम्मेलनमा समेत आकाक्षीहरुले आफ्नो पक्षमा भरपुर चुनावी प्रचार गरेका थिए । सो क्रममा कतिपयले त आफ्नो उम्मेदवारी नै घोषणा गरेका थिए । 

आगामी अक्टोबरमा एनआरएनएको एकताको महाधिवेशन हुँदै छ । त्यसका लागि हालसम्म शर्मासहित अर्का उपाध्यक्ष महेश श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । यस्तै वर्तमान अध्यक्ष बद्री केसी समेत हालसम्म नखुलेपनि फेरि दोहोरिने रणनीतिमा रहेको एनआरएनए वृत्तमा चर्चा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप