आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आरजु राणाको घर मर्मतमा १० लाख सरकारी बजेट विनियोजन भएकै हो ?

बुधबार, २७ असार २०८०, २१ : ५१
बुधबार, २७ असार २०८०

काठमाडौँ । कांग्रेस नेतृ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवा विवादमा आइरहन्छिन् । पछिल्लो पटक उनको घर मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको विषय बाहिर आयो । 

महेन्द्रनगर पोष्टलगायतका सञ्चार माध्यममा धनगढीमा आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख बजेट विनियोजन गरेको आशयको समाचार आएका थिए ।  तर, सुदूरपश्चिम सरकारले उक्त समाचारको कुनै सत्यता नरहेको बताएको छ । 

प्रदेशको भौतिक पूर्वाधार तथा आवास मन्त्रायले बुधबार जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक २०८०।८१ को बजेटमा मन्त्री प्रकाश बहादुर देउवाको आवास भवन मर्मत तथा रंगरोगन गर्ने कार्यमा चाहिँ सो बजेट विनियोजन गरिएको उल्लेख छ । 

उक्त बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याईएको मन्त्रालयको भनाइ छ  । मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा मन्त्री देउवा हालसम्म पनि आफ्नै निवासमा बस्दै आएको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म पनि माननीय मन्त्रीज्यू आफ्नै निजी निवासमा बसी आउनु भएको र मन्त्रालयबाट निवासका लागि  कुनै पनि किसिमको सेवा सुविधा समेत नलिएको व्यहोरा जानकारी गराउँदछौं ।’

स्मरणरहोस्, आरजुले २०७४ सालको संघीय निर्वाचनमा टुरिस्ट उम्मेदवारको आरोप लागेपछि कैलालीको धनगढीमा घर खरिद गरेकी थिइन् । त्यतिबेला उनी कैलाली क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् ।

sudurpaschim

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप